सुनसरीको मुख्य चासोको रुपमा हेरिएको धरान उपमहानगपालिका र इटहरी उपमहनगरपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
इटहरीमा काग्रेसका मेयरका उम्मेदवार रोहित प्रसाईंले १३८१ मत पाउँदा एमालेका द्ववारीका चौधरीले ११५९ मत पाएका छन्।
कांग्रेसकी उपमेयरकी उम्मेदवार बिमला ढकालले १४१३ मत पाउँदा एमालेकी लक्ष्मी गौतमले १०३४ मत पाएकी छिन्।
राप्रपाका रोहित कार्की ११० मत पाएका छन्। माओवादी केन्द्रकी हरिमाया जीमी ४८ र राप्रपाकी उपमेयर माया रायमाझीले १ सय ३५ मत ल्याएकी छन्।
इटहरीको मतगणना २ ठाँउमा भइरहेकोमा आजबाट ३ ठाँउ थप गरिएको छ। आज बिहानदेखि ५ ठाँउमा मत गणना सुरु भएको हो। वडा नं २, ३ र १९ को पनि आजदेखि मत गणना सुरु भएको छ। १ र २० को बिहीबारदेखि नै गणना भइरहेको छ।
यसैगरी धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका प्रमुखमा उम्मेदवार तिलक राईले नेकपा एमालेका तारा सुब्बालाई पछि पारेका छन्।
राईले ९४१ र सुब्बाले ६३५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिए। उनका अनुसार संयुक्त गठबन्धनका उम्मेदवार बनेका माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अइन्द्रविक्रम वेघाले २९० मत प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी श्यामा रेग्मीले ९१८ मत ल्याउँदा एमालेकी मञ्जु भण्डारीले ५९७ मत प्राप्त गरेका छन्।
संयुक्त गठबन्धनबाट उम्मेदवार भएका संघीय समाजवादी फोरमका उपमेयरका उम्मेदवार पारस राईले ७६ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणाम अनुसार सुनसरीको ४ नगरपालिकामामध्ये ३ वटामा नपाली कांग्रेसको अग्रता देखिएको छ। बराह, रामधुनी र इनरुवा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ भने दुहवीमा नेपाल लोकतान्त्रिक फोरमले अग्रता लिएको छ ।
यसैगरी ६ गाउँपालिकामध्ये कोशी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । बर्जुमा माओवादी केन्द्रलाई पछि पार्दै एमाले अगाडि देखिएको छ। भोक्राहा, हरिनगरा र गढिमा नेपाली कांग्रेसले अग्रता लिएको छ । देवानगञ्जमा फोरम लोकतान्त्रिकले अग्रता लिएका छन् ।