अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनुअघि डोनाल्ड ट्रम्पले आफ्नो फोटो भएको नक्कली 'टाइम म्यागजिन कभर' बनाएर आफ्ना क्लबहरुमा सजाएर राखेको खुलासा भएको छ।
अमेरिकी समाचारमाध्यमहरूअनुसार ट्रम्पले उक्त कभरलाई फ्रेममा सजाएर फ्लोरिडादेखि स्कटल्याण्डसम्मका क्लबहरुमा झुण्ड्याएका थिए।
ट्रम्पक क्लब भ्रमण गर्ने पत्रकारहरुले उक्त कभर देखेर आश्चर्य मानेका थिए।
उनको फोटो भएको कभर २००९ मार्च १ को अंक भएको त्यहाँ उल्लेख छ।
ट्रम्पको ‘टेलिभिजन शो’ लोकप्रिय भएको र सबै क्षेत्रमा उनी अघि बढेको समाचार शीर्षक कभरमा छापिएका छन्।
तर टाइमले सन् २००९ को कुनै पनि अंकमा ट्रम्पलाई कभरमा राखेर म्यागजिन प्रकाशित गरेको थिएन।
उक्त कभर झुटो भएको भन्दै टाइम म्यागजिनले त्यसलाई प्रदर्शन नगर्न ट्रम्पलाई भनेको छ।
नक्कली कभरमा केही गल्ती पनि छन् । टाइमको कभरमा देखिने रातो घेरा ट्रम्पको फोटो भएको कभरमा पातलो छ । टाइम म्यागजिनले कभर बनाउँदा पालना गर्ने केही अभ्यास पनि नक्कली कभरमा पालना गरिएको छैन। त्यसलाई टाइम म्यागजिनका पाठकले सजिलै पत्ता लगाउन सक्छन्।
म्यागजिनका प्रवक्ता केरी चेकाले भनेका छन्, “त्यो वास्तविक टाइम म्यागजिनको कभर होइन। त्यो हाम्रो आधिकारिक धारणा हो।’
ट्रम्प अर्गनाइजेसनले उक्त कभर कसले बनायो र ट्रम्पका क्लबहरुमा किन झुन्ड्याइयो भन्ने बारे प्रतिक्रिया दिएको छैन।