कैलाली, इलाम, दाङ र संखुवासभा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
कैलालीमा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकामा गरी ४ लाख ३ हजार २ सय ८० मतदाता छन्। ४ सय ९० वटै मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, कैलालीले जनाएको छ।
त्यस्तै ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय भएको इलाम पनि उत्साहपूर्वक मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ। इलाममा १ लाख ८९ हजार २ सय ७४ जना मतदाता छन्। मतपेटिका मतदान केन्द्रमा आउने वित्तिकै मतगणना सुरु हुनेछ। इलाममा २ सय ४९ वटा मतदान केन्द्र छन्।
दाङमा पनि निर्वाचन जारी छ। दुई उपमहानगरपालिकासहित १० वटा स्थानीय तहमा २९ लाख १ हजार १ सय ५० जना मतदाता र ३ सय ५१ वटा मतदान केन्द्र छन्।
दश स्थानीय तह रहेको संखुवासभामा मतदान उत्साहजनक रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय संखुवासभाले जनाएको छ। ९६ हजार ६ सय ५७ मतदाता रहेको संखुवासभामा १ सय ४७ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ। पटपेटिका संकलनको काम सकिन वित्तिकै मतगणना सुरु हुनेछ।