राष्ट्रिय जनता पार्टीले आव्हान गरेको तराई मधेस बन्दका कारण बुधबार बिहानैदेखि वीरगन्जसहित बारा र पर्साको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बिहानैदेखि वीरगन्जबाट चल्ने लामा तथा छोटा दूरीका सवारीसाधन ठप्प छन् भने रिक्सा, टांगा, मोटरसाईकल र साइकल फाटफुट चलिरहेका छन्।
राजपाका स्थानीय कार्यकर्ताले वीरगन्जको घण्टाघर, बसपार्क, नगवा, गण्डक, छपकैयाँ लगायतका चौकहरुमा गृहमन्त्रीको पुत्ला दहनसहित टायर बालेर प्रदर्शन गरेका छन्।
बन्दकर्ताहरुले मोटरसाइकल र्यालिसहित पसल खुलेका क्षेत्रमा जबरजस्ती बजार बन्द गराउँदै हिँडेका छन्। बन्दका कारण यातायात, बजार, शिक्षण संस्था, कलकारखाना खुल्न सकेको छैनन्।
सरकारले २ नम्बर प्रदेशको मात्रै सारेर अन्त निर्वाचन गर्न खोज्नु मधेशलाई टुक्र्याउने षड्यन्त्र गरेको भएको भन्दै बन्द गरिएको सद्भावना पार्टी वीरगन्जका नगर अध्यक्ष ओमप्रकाश सर्राफले बताए।
वीरगन्जको गण्डक चोक, पावरहाउ चोक, धोविनी गाउँपालिकाको हरिहरपुर चोक, बहुदरामाई गाउपालिकाको पिप्रा, भौराटार, गर्दौल, पोखरीया, लंगडी, भिखमपुर, अलौ, विन्दवासिनी, बहुअरी लगायतका क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका छन्।
बन्दकर्ताले बाराको कलैया, जितपुर, परवानीपुर, नितनपुरलगायतका स्थान र कलैयाको भरतचोकमा पनि टायर बालेर प्रदर्शन गर्नुका साथै बजार बन्द गराएका छन्। बाराको सिमरा, पथलैया, अमलेखगन्ज क्षेत्रमा भने बन्दको प्रभाव देखिएको छैन। सो क्षेत्रमा निर्वाधरुपमा सवारी चलेका र उद्योग कलकारखाना, शिक्षण संस्था समेत खुलेको बारा प्रहरीले जनाएको छ ।