वीरगन्ज महानगरमा पार्टीले आर्थिक सहयोग लिएर मेयरको टिकट बिक्री गरेको भन्दै एमालेको भातृ संस्था लोकतान्त्रिक मधेसी संगठन पर्साका अध्यक्ष सुन्दर कुर्मीले पार्टी परित्याग गरेका छन्।
नेता कुर्मीले वीरगन्जमा बुधबार पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रीय नेतृत्वले सिफारिसमा नै नपरेकालाई मेयरको टिकट पैसा लिएर दिएको आरोप लगाउँदै अब संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरे।
एमालेले वीरगन्ज मेयरमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीलाई टिकट दिएको छ। अन्सारी दोस्रो संबिधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादीको तर्फबाट पर्सा क्षेत्र नम्बर २ का प्रत्यासी थिए। एमालेले टिकट दिने भएपछि दुई साताअघि मात्र अन्सारी पार्टी माओवादी परित्याग गरी एमाले प्रवेश गरेका थिए।
‘कार्यकर्ताहरु नेकपा एमाले र मधेसप्रति इमान्दार रहेपनि नेतृत्वमा इमान्दारिता देखिएन। पार्टीभित्रको लगानी, योगदान, निष्ठा भएका कार्यकर्तालाई पाखा लगाउँदै पैसाको लागि पार्टी बेचेको घट्ना दुःखद छ,’ नेता कुर्मीले भने, ‘पार्टीमा लामो समयदेखि लगानी र योगदान भएकालाई नजरअन्दाज गर्दै वीरगन्जमा मेयरको टिकट पैसा लिएर दिने काम भएपछि एमालेबाट हाम्रो मोह भंग भएको छ।’
वीरगन्जबाट मेयरको लागि एमाले पर्साबाट प्रस्तावित नाममध्ये प्रदेश समितिले कुर्मीसँगै युवा नेता मनोज चौधरी र निवर्तमान जिल्ला संयोजक पुराना नेता चिरिञ्जिवी आचार्यको नाम सिफारिस गरेको थियो।
तर अन्सारीलाई मेयरको टिकट दिने केन्द्रीय नेतृत्वले सुनिश्चित गरेपछि उनले पार्टी परित्याग गरेका हुन्।
अन्तुष्ट भएर कुर्मीले पार्टी परित्याग गर्ने भएपछि मंगलबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सांसद राजकुमार गुप्ताले सिमराको होटल इच्छामा कुर्मीलाई भेटेर नछोड्न आग्रह समेत गरेका थिए।
पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्धीले निष्ठा र मूल्य मान्यताको राजनीति गर्ने कुर्मीलाई पार्टीमा स्वागत गर्दै पार्टीले उनको उचित मूल्यांकन गर्ने बताए ।
त्यस्तै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले एमाले परित्याग गरेर फोरम नेपालमा प्रवेश गर्ने कुर्मीको निर्णयको स्वागत गर्दै पार्टीका शीर्ष नेतृत्वसँग परामर्श गरेर चाँडै कुर्मीलाई फोरम नेपालमा प्रवेश गराउने बताएका थिए।
नेता कुर्मीले बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरी योगदान र निष्ठा भएका कार्यकर्तालाई पाखा लगाउँदै पैसाको लागि नेतृत्वले पार्टी बेचेको आरोप लगाए।
नेता कुर्मी नेकपा एमालेको तर्फबाट वीरगन्ज महानगरका लागि मेयरका आकांक्षी थिए। एमालेले नेशनल मेडिकल कलेज वीरगन्जका निर्देशक बसरुद्धिन अंसारीलाई पार्टीको टिकट दिएपछि रुष्ट बनेका कुर्मीले नेतृत्व इमान्दार कार्यकर्ता भन्दा पैसावालाप्रति बफादार भएको दाबी समेत गरे।
एमालेकै कारण संविधान संशोधन लगायतका मुद्धामा सहमति जुट्न नसक्दा अन्य प्रदेशहरुमा मतदान भईरहँदा दुई नम्बर प्रदेश मात्र बाँकी रहेको भन्द उनले एमाले नेतृत्व प्रति आक्रोश पोखे।