नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा “छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप– २०७४” असार २४ देखि हुने भएको छ।
२०६८ सालमा पहिलो पटक कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्मानमा वरियता प्राप्त पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो।
यसैको निरन्तरता स्वरुप अर्को साता सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिषरमा असार २७ सम्म छैटौं संस्करण आयोजना गर्न लागिएको नेपाल ब्याडमिन्टन संघका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए।
पाँचौं संस्करण सम्म वरियताप्राप्त खेलाडीलाई मात्र समाविष्ट गराएर प्रतियोगिता संचालन गर्दै आईरहेकोमा अन्य खेलाडीको गुनासोलाई मध्यनजर राख्दै यस संस्करण देखि खुला प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए।
प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, महिला जोडी, यु–१५ ब्वाइज र गल्र्स एकल, यु–१७ ब्वाईज र गल्र्स एकल तथा ४५ बर्ष माथिको भेट्रान्स जोडी गरि ९ विधामा प्रतिस्पर्धा हुनेछ।
१५ लाख ६६ हजार ५ सयको अनुमानित लागत रहेको प्रतियोगितमा ३ लाख ४० हजार पुरस्कार राशी रहेको छ। जसमा पुरुष र महिला एकलमा प्रथमलाई ५० हजार र ट्रफी, द्वितीयलाई २५ हजार र ट्रफी तथा तृतीयलाई १० हजार र ट्रफी प्रदान गरिने छ। यस्तै अन्य विधाका प्रथम, द्वितीय र तृतीयले नगद १० हजार, ७ हजार र ४ हजारका साथै ट्रफी प्राप्त गर्नेछन् भने भेट्रान्स जोडीलाई ट्रफीका साथै खेल सामाग्री प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराए।