आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्स च्याम्पियन बनेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा मंगलबार भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा सहजै पराजित गरे। निगमको ५० औं वार्षिकोत्सवदेखि अन्तर एयरलाइयन्स टेबलटेनिस प्रतियोगिताको सुरुआत भएको थियो। त्यसयता सबै संस्करणमा नवीन पुरुष सिंगल्समा च्याम्पियन बन्दै आएका छन्। निगमका सुरेशविक्रम हमाल तेश्रो भए।
निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसंग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे। फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा हराए। निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेश्रो बने।
यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला सिंगल्स स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोश्रो र निमा डोमा शेर्पा तेश्रो भएका थिए। शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन्।
विजेतालाई निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा हुने समारोहमा पुरस्कृत गरिने छ।
पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौं–हङकङ–काठमाडौं, काठमाडौं–क्वालालम्पुर–काठमाडौं र काठमाडौं–बैंकक–काठमाडौंको हवाइ टिकट पुरस्कार स्वरुप प्राप्त गर्नेछन्। चारदिने प्रतियोगितामा ४० पुरुष र ४ महिला प्रतिस्पर्धीले विभिन्न ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।
यसैबीच निगमकै वार्षिकोत्सवका अवसरमा आयोजित आन्तरिक स्नुकर प्रतियोगितामा नवीनबहादुर शाक्य र अमर डंगोल फाइनलमा प्रवेश गरेका छन्। नवीनले क्याप्टेन प्रदीप राजभण्डारीलाई ३–२ तथा अमरले क्याप्टेन अर्विन्द पहाडीलाई ३–१ को फ्रेममा पाखा लगाए। फाइनल बुधबार हुनेछ। आन्तरिक प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन र टेबलटेनिस सम्पन्न भइसकेको छ।