बुधबार हुन लागेको स्थानीय तहको निर्वाचनको सबै तयारी कैलाली जिल्लामा पूरा भएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए। बुधबारको निर्वाचनका लागि जिल्लाका सबै मतदानस्थलमा मंगलबार मतदान केन्द्र (बुथ) निर्माण भएका छन्।
प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँचदेखि बढीमा छजना कर्मचारी खटिएको अर्यालले बताए । जिल्लाका स्थानीय तहमा २३१ वटा मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था छ ।
यी तहका ६८९ पदका लागि जम्मा तीन हजार ४४६ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले कैलाली जिल्लाका स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ४४ वटा चुनाव चिह्न समावेश गरिएको मतपत्रको व्यवस्था छ ।
निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्था सुदृढ पारिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।
बुधबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा गस्ती बढाइएको रिजालले बताए।
मतदाता उत्साहितःलामो प्रतिक्षापछि बुधबार हुन लागेको स्थानीय तहको निर्वाचनमार्फत जनप्रतिनिधि चुनिने निश्चित भएपछि कैलालीका सर्वसाधारण उत्साहित छन् ।
झन्डै १५ वर्षदेखि साबिकको स्थानीय निकाय जनप्रतिनिधिविहीन रहँदा विकास निर्माण लगायतका समस्या समाधानका लागि असहज महसुस गरेका मतदाता मतदान गरेर आफ्ना प्रतिनिधि चयन गर्न आतुर देखिएको स्थानीय धनवीर रानाले बताए । रासस