दुई जल्दाबल्दा कमेडियन कपिल शर्मा र कृष्णा अभिषेकलाई सधैं प्रतिद्वन्द्वीको रुपमा हेरिदैं आइएको छ। पहिलेसँगै काम गरिआएका कपिल र कृष्णाले 'कमेडी नाइट्स वीद कपिल' छाडेर 'कमेडी नाइट्स लाइभ' मा गएपछि उनीहरूको शोको पनि तुलना हुन थालेको हो।
अब आएर फेरि उनीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ। यो प्रतिस्पर्धा यी दुईको शोकै कारण हुँदै छ जो एकै च्यानलमा आउँदैछ। सोनी च्यानलमा 'द कपिल शर्मा शो' अघि कृष्णाको 'द ड्रामा कम्पनी' प्रशारण हुँदैछ।
कृष्णाको 'द ड्रामा कम्पनी' मा कपिल र सुनील ग्रोवरको विवादपछि शो छाडेर गएका अली अस्गर, सुगन्धा मिश्राका साथै सुदेश लहरी पनि हुनेछन्। यसका साथै शोमा सुनीलले पनि गेस्ट अपिरियेन्स दिने र जजको रूपमा बलिउड दिग्गज अभिनेता मिथुन चक्रवर्ती हुने बताइएको छ। चन्दन प्रभाकर भने आफ्ना पुराना साथी कपिलसँगै शोमा फर्किसके।
नयाँ कार्यक्रम 'द ड्रामा कम्पनी' बारे बोल्ने क्रममा कृष्णाले कपिल र आफू टिभीका शाहरूख र सलमान खान भएको बताएका हुन्।
भारतीय समाचारमाध्यमका अनुसार कृष्णाले दर्शकले सधैं उनीहरूलाई तुलना गरेर हेरेको र उनीहरुको करियर पनि यसै गरी जोडिएको बताएका हुन्।
उनले भने, 'कपिल र म टिभीका शाहरूख र सलमान खान हौं। तर, उनीहरू जस्तो हामी साथी भने होइनौं। हामी एकअर्कासँग बोल्दैनौं तर, जब बोल्छौं सम्मानका साथ बोल्छौं।'
उनले उनीहरू एकअर्काको खुबीको सरहना गर्नुपर्ने भन्दै आफूहरू दुबै निकै 'ट्यालेन्टेड' भएको बताए। उनले थपे,'तर, म कपिलसँग फेरि काम गर्ने दिनको प्रतिक्षामा छु। अली र अरू कलाकार मेरो शोमा आएकाले मानिसहरुले तुलना गर्न थालिसकेका छन्। उनीहरु मेरो शोका लागि कपिल शो छाडेर आएका होइनन्, यो संयोग मात्र हो।'
उनले अब आफूहरूको शोको रेटिङको दौड हुने र कपिलको शोलाई कडा प्रतिस्पर्धा दिने बताएका छन्।