तेजाव छर्किएर महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा एकल महिलाको हत्या भएको छ । रामनगरका स्वर्गीय गोनर महतोकी ६५ वर्षिया मन्सरिया देवीको अनुहार र जीउभरि तेजाव छर्किएर हत्या गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले सेतोपाटीलाई बताए।
घरमा एक्लै बस्दै आएकी मंसरिया देवी आइतबार राति ९ बजेसम्म छिमेकीसँग कुराकानी गरेर सुत्न गएकी थिइन्।
देवीको घरमा सोमबार बिहान अबेरसम्म कुनै चालचुल नपाएपछि छिमेकले हेर्न जाँदा अनुहारमा तेजाव छर्किएको अवस्थामा ओछयानमै मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए।
शरीर भरि तेजावका कारण फोका देखिएको र अनुहार जलेकी मन्सरियाको विभत्स हत्या गरिएको अवस्थामा सोमवार बिहान शव फेला परेको पोखरेलले बताए।
मन्ंसरनियाको घर नजिक ५० मिटर वरपर कुनै घर छैन। करिब १५ दिनअघि छोराबुहारीले त्यसभन्दा केहि पर अर्को घर बनाएर बस्न थालेका छन्।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।