वर्तमान गृह मन्त्री जनार्दन शर्मा कथित जनयुद्व छोडेर माओवादी सत्तामा आएपछि कुनै न कुनै रुपमा शक्तिमा रहँदै आएका छन्। शक्तिमा रहने क्रममा उनी शान्ती तथा पुनर्निर्माण मन्त्री, लेखा समितिको सभापति, ऊर्जा मन्त्री हुँदै शक्तिशाली मानिने गृह मन्त्री बनेका छन्।
यसबीचमा विभिन्न महत्वपूर्ण र शक्तिशाली पद सम्हाले पनि उनले ऊर्जा मन्त्रालयमा मात्रै लोकप्रियता पाएका छन्। आशंका र सवालहरु त ऊर्जा मन्त्री हुँदा पनि नउठेका होइनन्, तर, लोडसेडिङ हटाएर दिएको उज्यालोका सामु त्यस्ता आशंका र सवालको फिक्का सावित भए।
ऊर्जा मन्त्रालयको लोकप्रियता गृह मन्त्रालयमा पनि कायम राख्न जनार्दन शर्मा सफल हुन्छन् वा हुँदैनन् त्यसको अन्तिम टुङ्गो आगामी दिनले गर्नेछ। यद्धपि भविस्यमा सफल हुने कल्पना गर्ने हो भने विगतका सफलता असफलताका मुख्य कारक के थिए भन्ने खोजी हुनैपर्छ।
दुनियाँलाई थाहा छ ऊर्जा मन्त्रीको रुपमा जनार्दन शर्माले कमाएको लोकप्रियताको पछाडि कुलमान घिसिङको ठूलो हात छ। कुलमान क्षमतावान थिए, उनीसँग विज्ञताका साथै केही गर्नुपर्छ भन्ने दृढता थियो तर ऊर्जा मन्त्रालयको राजनीतिक नेतृत्वमा हुँदा प्राधिकरण प्रमुख छनोटको दौरान अक्सर देखिने गरेको आर्थिक लाभ हानीको हिसाब नगरि कुलमान जस्तो पात्रको पहिचान गर्ने र उनलाई अधिकार सहित अवसर दिने काम गर्ने जनार्दन शर्माको भूमिकाको महत्व नजरअन्दाज गर्ने मिल्ने खालको पक्कै हैन।
कुनै समय विभागीय मन्त्रीको कोपभाजनमा परेर आयोजनाको नेतृत्व समेत राम्ररी सम्हाल्न नपाएका कुलमान जस्तो सक्षम व्यक्तिलाई अवसर दिएर जनार्दनले जनतालाई सदैव बत्तिको उज्यालो मात्रै दिएको थिएनन् आफ्नो छवि समेत उज्यालो बनाएका थिए।
अब गृह मन्त्रालय रहँदा उनले आफ्नो उज्यालो छविलाई थप उज्जेल्याउने र विश्वसनीय बनाउने गर्नुपर्छ। त्यसको निम्ति प्रहरी संगठनमा रहेका थुप्रै कुलमानहरुको पहिचान गर्दै उनीहरुलाई आवश्यक भए न्याय नत्र उचित अवसर दिंदै अगाडि बढनुपर्छ। त्यसको निम्ति परम्परागत होइन केही फरक ढङ्गले अगाडि बढनुपर्ने हुन्छ।
जनार्दन शर्माले मन्त्री हुनासाथ भनेको थिए प्रहरीमा अब उप्रान्त जनता र सिपाहीको मुल्यांकनको आधारमा निर्णय हुनेछ। त्यो भनाइले प्रहरी भित्र र बाहिर पनि एक प्रकारले आशाको सञ्चार गरेको थियो। यद्धपि पछिल्लो दिनहरुमा उहाँ परम्परागत गृह मन्त्री भन्दा अगाडि बढेर चेन अफ कमाण्डको रटान लगाउन थाल्नु भएको छ। सवै कुरा थितिमा चलेको अवस्थामा चेन अफ कमाण्डमा चल्ने अत्यन्त उचित अभ्यास हो तर समय-समयमा भए गरेका राजनीतिक हस्तक्षेप अनि समय-समयमा देखिएका नालायक र भ्रष्ट संगठनिक नेतृत्वको जकडमा परेर प्रहरी संगठन एकपटक उथलपुथल नगरि ठीक ठाउँमा नआउने अवस्थामा पुगीसकेको छ।
एकपटक उथल पुथल नगर्ने हो भने प्रहरी आइजीपी र गृह मन्त्री मिलेर गर्दा पनि प्रहरी हुनुपर्ने जस्तो हुनेछैन। स्मरणीय कुरो त प्रहरीको वृति विकासको क्रममा हुने गरेका चलखेलले यस्तो समेत अवस्था ल्यायो कि प्रहरीकै आइजीपीले भ्रष्ट र नालायक भनेका बढुवामा अगाडि अनि सरुवाम सवै भन्दा रोजेको स्थानमा पर्ने, प्रहरी संगठनमा सबैभन्दा भ्रष्ट भनेर चिनिएकाको बढुवा हुँदा संगठन भित्र पनि र बाहिर पनि अत्यन्त लोकप्रिय रहेकाहरु छुट्ने अवस्था पनि देखियो।
अब गृह मन्त्रीले त्यस्ता अस्वाभाविक र अव्यवाहारिक कामहरु कसरी हुँदो रहेछन्? भन्ने प्रश्नलाई केन्द्रमा राखेर त्यस्ता प्रश्नहरुको उत्तर खोज्ने र भविष्यमा त्यस्ता प्रश्न औचित्यहीन हुने ढङ्गले काम गर्नुपर्छ।
यतिवेला प्रहरी संगठनमा लामो समयदेखि अनावश्यक रुपमा रोकिएको बढुवा क्रमशः खुलाउने कामको थालनी भएको छ। यदि ऊर्जा मन्त्रालयमा जस्तै गृहमा पनि सफल हुने हो भने मन्त्रीज्यूले बढुवाका आधिकारिक सिफारिस आफ्नो टेवलम आउनु भन्दा अगावै आफूले गृह मन्त्री हुनु अगाडि देखेको, ठानेका , सुनेका वा पढेका प्रहरीका सुपात्रहरुको सूची राख्नुपर्छ।
अनि आग्रह पूर्वाग्रहरहित भएर बनाइएको सूची र बढुवाको निम्ति आउने सूचीलाई दाँज्नु पर्छ। दुःखका साथ भन्नुपर्छ कि कतिपय अवस्थामा जनताले देखेका राम्रा प्रहरीको वृति विकासको निम्ति तोकिएका प्राविधिक मापदण्डमा नालायक, चाकरीवाज , भ्रष्टहरु भन्दा पछाडि पर्ने गरेका छन्। जस्तै प्रहरीको बढुवामा आफूभन्दा माथिल्लो कार्यालय प्रमुख वा माथिल्लो दर्जाका अधिकृतले दिने कार्यसम्पादन मूल्यांकनलाई ठूलो महत्व दिइने व्यवस्था छ।
कार्यसम्पादन मूल्यांकनको नम्बर दिने अधिकृत नैतिकवान र निस्पक्ष हुँदा त व्यक्तिगत रुपमा आफ्नै (कार्यसम्पादन गर्ने) को सत्तो सराप गर्ने गरेको भए पनि पेशागत क्षमतावानहरुको हुर्मत लिने काम नगर्लान तर के सरूवामा कहीं न कहीं पठाउनै पर्ने हुनाले पठाइएको अवस्थामा कसैको हाकिम हुन पाउने भ्रष्टले आफू पनि खाने अरुलाई पनि खुवाउनेहरुलाइ कम अनि निष्ठा र इमान देखाउँदै काम गर्नेहरुलाइ धेरै नम्बर देलान्?
अवस्य दिएको हुँदैन अनि के त्यस्तो अवस्थामा भ्रष्टले कम नम्बर दिएकैले सम्मान योग्य इमान्दारहरुले पछाडि पर्नुपर्ने? अब त्यो कुराहरुको अन्त्य हुनैपर्छ नत्र छानी-छानी अनकुल हाकिम भएको कार्यालयमा बस्ने कार्यसम्पादन मुल्यांकनमा नन्बर ज्यादा ल्याउने मात्रै नभएर नम्बरकै निम्ति हाकिमका जायज नाजायज माग स्वीकार्ने प्रवृति बढ्छ। प्रहरी बढुवामा पदक र विभूषणलाई ठूलो महत्व दिने गरिन्छ तर सत्य स्वीकार्ने हो भने ज्यादा तर अवस्थामा विभूषण र पदकहरु चाकरी चाप्लुसीको उपज हुने गरेका छन्।
पदक पाउनेले किन पायो भन्दा पनि कसको कारणले पायो भन्ने प्रश्न सामान्य भै सकेको छ। चाकरी चाप्लुसी वा यस्तै केही कारणले पदक पाउने र त्यसरी पाएको पदकले बढुवामा अगाडि हुने अवस्था आउँछ भने मन्त्रीले कस्ता-कस्ताले पदक् पाए अनि किन पाए भन्ने विषयमा गम्भीर हुनपर्छ र सतकर्मले बाहेक अन्य ढङ्गले पाएका पदका र विभूषणलाइ मूल्यांकनको आधार बन्न दिनु हुँदैन।
पदक र विभुषण कस्ता-कस्ताले पाउने गरेका छन् भन्ने बुझ्न्न त् पछिल्लो पदक र विभूषणलाई नियाल्दा भै हाल्छ, पदक विभूषण मजाकको विषय बन्दै गएको छ। त्यसको साथै कथित बरिष्ठताको प्रावधानले पनि प्रहरीको वृति विकासलाई प्रभावित गर्ने गरेको छ। आफ्नो कामले आफूलाई अव्वल देखाउनेको हकमा बरिष्ठताको कदर गर्ने एउटा कुरा भयो तर सेवा प्रवेशमा अगाडि भयो भन्दैमा निजहरूको नालायकीलाई नजरअन्दाज गरेर वृति विकासमा उनीहरुलाई अग्रता दिनुपर्छ भन्ने मान्यतामा अब ब्रेक लाग्नैपर्छ।
समग्रमा भन्नु पर्दा उचित अनुचित ढंगले वृति विकासमा आवश्यक मानिने प्राविधिक मापदण्डहरु मात्रै पुरा गर्ने अनि त्यसैको आधारमा मात्रै अगाडि बढने प्रवृति प्रहरी संगठनमा व्याप्त छ। त्यस्तै प्रवृति र पात्रहरुको कारणले प्रहरीका कैयौं कूलमानहरू पछाडि परेका छन र गलत अभ्यासहरुलाई समय अनकुल संशोधन नगर्ने हो भने प्रहरी भित्रका अरू थुप्रै कुलमानहरुको भ्रूण हत्या हुने पक्का छ।
तिनै प्राविधिक मापदण्डको तगारोलाई आधार बनाउदै जनताले देख्ने गरि प्रदर्शन भएका निष्ठा, इमान्दारिता र कार्यक्षेमता देखाउनेलाई सरूवा बढुवा र अवसरमा पछाडि पार्ने कामहरू हुँदै आएका छन् भन्दा त्यो फगत दाबी होइन तथ्य नै हो।
यस्ता नकारात्मकताको अन्त्य गर्नुपर्छ र त्यो काम ऊर्जा मन्त्रालयमा जस्तै हिम्मत र आँट देखाउने हो भने गृह मन्त्री जनार्दन शर्माले सहजै गर्न सक्छन् तर त्यसको निम्ति उनले ऊर्जामा जस्तै सहास देखाउन सक्नुपर्छ।
उनलाई त्यसो गराउन जनताले खबरदारी गरिराख्नुपर्छ र भन्नुपर्छ-गृह मन्त्रीज्यू प्रहरीमा पनि थुप्रै कुलमानहरू छन् उनीहरुको पहिचान गर्दै उनीहरुलाई अधिकार सहित अवसर दिनुहोस्।