संसारका १ सय २८ देशमध्ये डेनमार्क सर्वोत्कृष्ट सामाजिक जीवनको गुणस्तर भएको देश ठहरिएको छ।
अमेरिकाको बोस्टनस्थित विश्व प्रसिद्ध हार्वार्ड र एमआइटी विश्वविद्यालयका अर्थशास्त्रीद्वय माइकल इ. पोर्टर र स्कट स्टर्नको अध्ययन प्रतिवेदनले सुचिकृत गरेको सोसियल प्रोग्रेस इन्डेक्स- २०१७ मा डेनमार्कको सामाजिक जीवनस्तर सबैभन्दा उत्कृष्ट भएको देखाएको हो।
अभिव्यक्ति तथा राजनीतिक स्वतन्त्रता, वैयक्तिक अपनत्वको अधिकार, आधारभूत मानव आवश्यकता, अवसर, उन्नति लगायतका ५० फरक संकेतकका आधारमा नतिजा निकालिएको उल्लेख छ। समग्रमा १०० अंक मध्ये ९० दशमलब ५७ अंकका साथ डेनमार्क सूचिको पहिलो स्थानमा परेको छ।
सूचिको दोस्रो स्थानमा फिनल्याण्ड छ भने तेस्रो स्थानमा नर्वे र आइसल्याण्ड छन्। स्विट्जरल्याण्ड पाँचौं र क्यानाडा छैठौं स्थानमा छन्। यी सहित नेदरल्यान्ड्स, स्विडेन, अस्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, यु.के., जर्मनी र अष्ट्रिया समेत गरि १४ वटा देशलाई अति उच्च सामाजिक उन्नति भएका देश भनी सूचिकृत गरिएको छ।
अमेरिकाको सामाजिक जीवनस्तर भने १८ औं स्थानमा रहेको सूचीले देखाउँछ। सूचीमा अमेरिका भन्दा एक स्थान माथि सत्रौं स्थानमा रहेको जापान एसियामा सबैभन्दा राम्रो सामाजिक जीवनस्तर भएको देखाइएको छ।
सोसियल पोग्रेस इन्डेक्समा ६० दशमलब ०८ स्कोर सहित नेपाल सूचकको ९१ औं स्थानमा छ भने भारत नेपाल भन्दा तल ९३ औं स्थानमा छ। नेपालले सन् १९९० मा राजनीतिक व्यवस्था परिवर्तन भएपछि शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ लगायतमा प्रगति हाँसिल गर्दै गएको प्रतिवेदनमा उल्लेख छ।
अति न्यून सामाजिक जीवनस्तर भएका देशका रूपमा यमन, गुनिया, नाइजर, यांगोला, चाड, अफगानिस्तान र सेन्ट्रल अफ्रिकन रिपब्लिक सूचिको सबैभन्दा तल क्रमश: १ सय २२ औं देखि १ सय २८ औं स्थानमा सुचिकृत भएका छन्।