ब्याटिङ गर्ने क्रममा कुनै ब्याट्सम्यानको ब्याट एक पल्ट टुटेको घटना धेरै पल्ट क्रिकेट मैदानमा देख्न पाइएको छ। तर, इङ्रल्यान्ड र दक्षिण अफ्रिकाबीच शुक्रबार राती भएको दोस्रो टि–२० मा यस्तो पनि रोचक घटना भयो, जब एउटै ब्याट्सम्यानको ब्याट दुई पल्ट भाँचियो र उनले तीन वटा ब्याट फेरेर खेले।
दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान मंगालिसो मोसेहले तेस्रो नम्बरमा ब्याटिङ गर्न उत्रिँएका थिए। उनको ब्याट १० बल खेल्ने क्रममा दुई पल्ट भाँचियो।
अफ्रिकाले ब्याटिङ गर्ने क्रममा इङ्लिस बलर टम कार्रेनको छैटौं ओभरको चौथो बललाई मोसेहलेले मिड विकेटमाथि जमाएर छक्का हानेका थिए। त्यतिबेला उनको ब्याट चर्किन पुग्यो। यसपछि उनले पवेलियनबाट अर्को ब्याट मगाएका थिए।
नयाँ ब्याटबाट १० बल खेल्ने क्रममा लियाम प्लुनकेटको आठौं ओभरको पहिलो बलमा पनि पुनः उनको ब्याट टुटेको थियो। प्लेनकेटको बाउन्सर बल उनको अनुहार नजिकै थियो। उनले आफूलाई जोगाउन ब्याट अगाडि राखेको थिए। त्यति नै बेला ब्याट फेरि टुटेको थियो।
यसपछि उनी तेस्रो ब्याट बोकेर ब्याटिङका लागि क्रिजमा उत्रिएका थिए। तर, यतिबेला उनलाई भाग्यले साथ दिएन र उनी प्लुनकेटकै गति परिवर्तन गरेर स्लो फ्याँकेको बलमा क्याच आउट भए। उनले १२ बलमा १ छक्का र १ चौकाको सहयोगले १५ रन बनाएका थिए। यो खेल अफ्रिकाले ३ रनले जितेको थियो।