कास्कीका विभिन्न दलका तीन सय ६३ उम्मेदवारले निर्वाचनमा गरिएको खर्च विवरण बुझाएका छन् ।
क्षेत्रीय निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी तेजबहादुर गुरुङका अनुसार खर्च विवरण बुझाउनेमा नेपाली काँग्रेसका ९५, नेकपा एमालेका ८७, नेकपा माओवादी केन्द्रका ८२, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका ५३, राष्ट्रिय जनमोर्चाका ३६ र देशभक्त जनतान्त्रिक मोर्चाका १० जना उम्मेदवार छन् ।
उम्मेदवारले बिल भर्पाईसहित खर्च विवरण बुझाएको हुन् । खर्च विवरण नबुझाउने उम्मेदवारलाई कार्यालयले बारम्बार ताकेता गरिरहेको बताउँदै गुरुङले तोकिएको मितिमा विवरण नबुझाउनेले जरिवानासहित विवरण बुझाउनुपर्ने जानकारी दिए।
निर्वाचन आयोगले तोकेको खर्चकै सेरोफेरोमा रहेर न्यूनतम एक लाख ५० हजारदेखि सात लाख ५० हजार रुपैयाँसम्मको खर्च विवरण कार्यालयमा प्राप्त भएको छ । गत वैशाख ३१ गते विभिन्न पदका लागि एक हजार चार सय २४ उम्मेदवार पहिलो चरणको स्थानीय निर्वाचनमा उत्रेका थिए । एक पोखरा–लेखनाथ महानगरपालिका र चार गाउँपालिकामा तीन सय ८१ पदका लागि निर्वाचन भएको थियो । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले अनिवार्य रुपमा निर्वाचन कार्यालयलाई खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । रासस