दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर असार १२ गतेदेखि ४८ घन्टाका लागि नेपाल–भारत सीमानाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ।
भारतको पलियामा बिहीबार बसेको नेपाल–भारत सीमा सुरक्षा बैठकले स्थानीय तहको चुनावलाई ध्यानमा राखी ४८ घन्टाका लागि सीमानाका बन्द गर्ने निर्णय लिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन्।
उक्त बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीलगायतको सहभागिता थियो । रासस