छिमेकी देश अफगानिस्तानले ११ औं राष्ट्रको रुपमा टेस्ट क्रिकेटको मान्यता पाएको छ। युद्धले छतविक्षेत अफगानिस्तानलाई विहिबार केही समयअगाडि लन्डनमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) को साधारण सभाले पूर्ण सदस्यको मान्यता दिने प्रस्तावलाई अनुमोदन गरेको हो।
यो निर्णयसँगै अफगानिस्तान टेस्टमान्यता प्राप्त ११ औं राष्ट्र बन्न पुगेको छ। यही साधारण सभाले १२ औं टेस्ट राष्ट्रको रुप्मा आयरल्यान्डको प्रस्तावलाई पनि अनुमोदन गरेको छ।
पछिल्लो समय एसियाली क्रिकेटमा नेपालको प्रमुख प्रतिद्वन्दी मानिएको अफगानिस्तानले छोटो अवधिमै टेस्ट राष्ट्रको मान्यता पाएको हो। अफगानिस्तानले सन् २००४ मा एसिसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा पर्दापण गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको १३ वर्षको भित्रै एकदिवसीय हुँदै अफगानिस्तानले टेस्ट राष्ट्रको मान्यता पाएको हो।
पछिल्लो समय अफगानिस्तान सन् २०१४ को टि–२० विश्व कपमा नेपालसँग पराजित भएको थियो। हाल नेपाल प्रतिबन्धित अवस्थामा छ भने अफगानिस्तानले आज टेस्ट राष्ट्रको मान्यता पाएको छ। अफगानिस्तान दक्षिण एसियाली देशबाट टेस्ट खेल्ने पाँचौ राष्ट्र बन्न पुगेको छ।
देशमा युद्धको अवस्था रहेका कारण पाकिस्तानमा बसोबास गर्ने अफगानी शरणार्थीहरु मिलेर सन् १९९३ मा अफगान क्रिकेट बोर्डको गठन भएको थियो। अफगानिस्तानले यसै महिना वेष्ट इन्डिजको भ्रमण गर्दै उसैको देशमा इन्डिज टोलीलाई ३ एकदिवसीय शृंखला १–१ को बराबरीमा राख्न सफल भएको थियो।