पाकिस्तानलाई २५ वर्षपछि आइसिसीको आधिकारिक प्रतियोगिताको उपाधि दिलाउने सरफराज अहमदलाई च्याम्पियन्स ट्रफीको ड्रिम टिमको कप्तान छनोट गरिएको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको टोलीमा भारतीय कप्तान विराट कोहलीलाई ब्याट्सम्यानको रुपमा मात्र स्थान दिइएको छ।
यस टिममा भारत र पाकिस्तानबाट ३–३ खेलाडी समावेश छन्। इङ्ल्यान्डबाट पनि ३ खेलाडीलाई समावेश गरिएको छ। अस्ट्रेलिया,श्रीलंका र दक्षिण अफ्रिकाबाट पहिलो पल्ट कुनै खेलाडीले ड्रिम टिममा स्थान बनाउन सकेनन्।
बंगलादेशबाट तमिम इक्बालले पनि प्लेइङ–११ मा स्थान बनाउन सफल भएका छन्। न्युजिल्यान्डका केन विलियम्सन १२ औं खेलाडीको रुपमा टिममा समावेश छन्। ड्रिम टिमको छनोट इङ्ल्यान्डका पूर्व कप्तान माइकल आर्थटन, भारतका पूर्व कप्तान सौरव गागुली, पाकिस्तानका पूर्व कप्तान रमिज राजा, क्रिकेट पत्रिका विज्डनका सम्पादक लोरेन्स बुथ र समाचार एजेन्सी एएफपीका क्रिकेट पत्रकार जुलियन गुएरको समितिले गरेको हो।
च्याम्पियन्स ट्रफीको ड्रिम टिमःसरफराज अहमद (कप्तान–विकेटकिपर,ब्याट्सम्यान), शिखर धवन (भारत), फखर जमान –पाकिस्तान), तमिम इक्बाल (बंगलादेश), विराट कोहली (भारत), जोए रुट (इङ्ल्यान्ड), बेन स्टोक्स (इङ्ल्यान्ड), आदिल राशिद (इङ्ल्यान्ड), जुनेद खान (पाकिस्तान), भुवनेश्वर कुमार (भारत), हसन अली (पाकिस्तान), केन विलियम्सन (१२ औं खेलाडी–न्युजिल्यान्ड)