बलिउडका बादशाह शाहरुख खानले दक्षिण अफ्रिकामा हुन लागेको टि–२० लिगको एउटा टिमलाई किनेका छन्।
लन्डनमा आयोजना भएको एउटा सामारोहमा अफ्रिकी खेलाडी जेपी डुमिनीले टि–२० को केप टाउन टिमलाई हालै शाहरुख खानले किनेको सार्वजनिक गरेका छन्।
अफ्रिकामा आयोजना हुन लागेको यो प्रतियोगितालाई टि–२० ग्लोबल लिगको नाम दिइएको छ। प्रतियोगितामा ८ टिम समावेश हुनेछन्।
५१ वर्षीय शाहरुख इन्डियन प्रिमियर लिग (आइपिएल) को कोलकाता नाइटराइडर्स टिम र क्यारेबियाली प्रिमियर लिग (सिपीएल) को त्रिबागो राइडर्स टिम पनि किनेका छन्। अफ्रिकी क्रिकेट बोर्ड आफ्नो देशको क्रिकेटलाई लोकप्रिय बनाउन टि–२० ग्लोबल लिग आयोजनामा जुटेको छ। लिगमा ड्वाने ब्राभो, क्रिस गेलसहित थुप्रै नाम चलेका खेलाडी समावेश हुनेछन्। प्रतियोगिता वर्षको अन्त्यमा सुरु हुने अपेक्षा गरिएको छ।