रोजगारीको लागि दक्षिण कोरिया पुगेका नेपाली युवाको शृंखलाबद्व रुपमा मृत्यु हुने क्रम बढेको छ। कोरियाको गजेदोस्थित डेउ कम्पनीमा कार्यरत बुटवलका लालबहादुर थापाको औधोगिक दुर्घटनामा परि मृत्यु भएको २ दिन नपुग्दै फेरि अर्का एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। कोरियाको किम्पोस्थित प्लास्टिकको दाना बनाउने कम्पनीमा कार्यरत म्याग्दीका शिब कुमार कार्की सुतेकै अवस्थामा मृत भेटिएका हुन्।
कोरियन प्रहरीको लागि भाषा अनुवादक उमेश बस्नेतका अनुसार बिहिबार राति राम्रै खानपान गरेर सुतेका कार्की बिहान अबेरसम्म नउठेपछि सँगै कार्यरत साथीले ढोकामा पुगी बोलाएका थिए। लामो समयसम्म बोलाउँदा पनि ढोका नखुलेपछि कम्पनी मालिक र साथी मिलेर ढोका फोरेर भित्र जादा उनी मृत भेटिएका थिए। उक्त कम्पनीमा अन्य पाँच जना नेपाली कार्यरत छन्। इपिएस मार्फत ९ महिना पहिला कोरिया आएका २७ बर्षीय कार्की बिवाहित हुन्। उनको शबलाई प्रहरीले नजिकैको अस्पतालमा राखी अनुसन्धान गरिरहेको बस्नेतले बताए।
कोरियामा १० दिनको अवधिमा पाँच जना नेपालीको मृत्यु भएको छ। तीन दिन अघि मात्र कोरियाको थेंगुस्थित एक सिरक बनाउने कम्पनीमा कार्यरत दोलखाका २२ वर्षीय समुन्द्र केसीले आफ्नै कम्पनीको बाथरूममा झुन्डिएर आत्महत्या गरेका थिए।
उनले डिप्रेशनमा परि औषधिसमेत सेवन गर्दै आइरहेको सँगै कार्यरत नेपाली साथीहरूले बताएका छन्।
त्यसैगरी गत साता जुन ९ तारिखमा ख्यांगीदोको पुछनस्थित एक फर्निचर कम्पनीमा कार्यरत पर्वतका राजकुमार विकको कार्यस्थलमै दुर्घटनामा परी निधन भएको थियो। त्यसको ठिक २ दिन पहिला मात्र गोरखाका २२ वर्षीय सुनिल अधिकारीले २ पेजको सुसाइड नोट लेखेर आफ्नै कम्पनी आगाडिको भर्याङमा पासो लगाएर आत्महत्या गरेका थिए।
उनले सुसाइड नोटमा आफू धेरै दिनदेखि डिप्रेसनमा परेको र आफ्नो समस्या कसैलाई भन्न नसकी आत्महत्याको बाटो रोजेको लेखेका थिए।
कोरियामा पछिल्लो समय एक पछि अर्को गरि नेपालीको ज्याने क्रम बढेपछि यहाँ कार्यरत नेपालीलाई स्तब्ध बनाएको छ। विशेष गरी बिकराल रूपमा देखिएको डिप्रेसन र राति सकुशल सुतेको बिहान मृत भेटिने केशबाट झनै संशकित भएका छन्।
त्यस्तै दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत अर्जुन बहादुर सिंहले पछिल्लो समय कोरियामा घटेका मृत्युका शृंखलाले आफूलाई अत्यन्तै दुःखी बनाएको बताउँदै दूतावासले यस्ता घटनाको न्यूनीकरणको लागि छिटै तनाब ब्यवस्थापन तथा सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको सेतोपाटीसँगको कुराकानीमा बताए।
ठूलो सपना बोकेर इपिएस मार्फत कोरिया प्रवेश गर्ने नेपालीको संख्या अहिले झण्डै ४४ हजारको हाराहारी छ। वर्षेनी इपिएस कोटा मार्फत सात हजार भन्दा बढी नेपाली कोरिया आउने गरेका छन् । नेपालीको संख्या बढेसँगै कार्यस्थल र सडक दुर्घटना, हृदयघात भएर सुतेको अवस्थामा मृत्यु, विरामी भएर मृत्यु र डिप्रेसनमा परेर आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बढीरहेको छ।
यद्यपी सुतेको अवस्था र डिप्रेसन या विविध कारणले आत्महत्या गर्नेको संख्या अन्य भन्दा बढी नै छ। सन् २००८ यता १ सय १५ भन्दा बढीको मृत्यु भइसकेको छ।
आत्महत्या र सुतेको अवस्थामा हुने मृत्युको भयावह स्थितिलाई नियन्त्रण गर्न नेपाल सरकारले त्यति चासो दिन सकेको छैन्।
केही महिनाअघि निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले विदेशमा हुने नेपालीको आकस्मिक निधन बारे सत्यतथ्य अध्ययन गर्न टोली गठन गर्ने तथा स्वास्थ्य सहचारी राखिने बताए पनि अहिलेसम्म नेपालीले अनाहकमै ज्यान गुमाएका कोरिया जस्ता मुलुकमा अध्ययन टोली भने पठाएको छैन।
कोरियामा विकराल बन्दै गएको डिप्रेसनको कारण बढिरहेको आत्महत्या तथा कार्यस्थलमा दुर्घटनाका कारण अंगभंग तथा मृत्यु रोक्न सम्बन्धित सरोकारवाला निकाय गम्भीर हुन जरूरी छ।