सरकारले प्रदेश नं २ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी नेपालसँगको सहमतिका आधारमा प्रदेश नं २ को निर्वाचन सारेको हो।
यसअघि आजै बिहान राजपा र सरकारबीच प्रदेश नं २ को निर्वाचन सार्ने सहमति भएको थियो। प्रदेश नं २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा तेस्रो चरणको निर्वाचन हुने भएको हो। यसअघि सरकारले पहिलो चरणको निर्वाचन बैशाख ३१ गते गरेको थियो। दोश्रो चरणको निर्वाचन भने असार १४ गते हुदैँछ।
उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले असोज २ गते प्रदेश नं २ को निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। मन्त्रिपरिषद्को निर्णय अघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो।
श्रेष्ठले दोस्रो चरणको निर्वाचन कार्यतालिका समेत निर्वाचन आयोगले परिमार्जन गर्ने जानकारी दिए। सरकारले निर्वाचन आयोगलाई मनोनयन दर्ताको मिति दुई दिन सार्न आग्रह समेत गरेको छ।
दोस्रो चरणको निर्वाचनका लागि असार २ गते मनोनयन दर्ता गर्ने गरि कार्यतालिका प्रकाशित गरेको थियो। अब मनोनयन दर्ता ४ गते हुनेछ।
सरकारले राजपालाई निर्वाचनमा ल्याउनकै लागि २ दिन मनोनयन दर्ताको समय पर सारेको जनाएको छ। राजपाले भने प्रदेश नं ५ सहित अन्य प्रदेशमा निर्वाचनमा भाग लिने वा नलिने विषयमा कुनै स्पष्ट धारणा सार्वजनिक गरेको छैन।
'हामीले निर्वाचनमा ल्याउन पहल गरिरहेको छौँ', श्रेष्ठले भने, 'राजपाको अवस्था हेर्दा उसले अरु प्रदेशमा निर्वाचनमा भाग लिन्छ। हामीमा त्यो खालको अण्डरस्ट्याण्डिङ छ।'
उनले राजपाले निर्वाचनमा भाग लिने विश्वास समेत व्यक्त गरे।
यद्यपी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने सरकारको उक्त निर्णयमा असहमति जनाएका छन् । आयोगले असार १४ गते नै चुनाव गर्न तयार रहेको उल्लेख गरेको छ ।
सिंहदरबारमा प्रधानमन्त्रीसहित मन्त्रीहरुसँगको छलफलबाट बाहिरिंदै प्रमुख निर्वाचन आयुक्तले यस्तो बताएका हुन्।
उनले सरकारले आयोगसँग परामर्श नगरी २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते सार्ने प्रस्ताव गरेकोमा यसमा आयोगको असहमति भएको बताएका हुन्।