दोश्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै जादा राजनीतिक दलहरु चुनावी तालमेलको तयारीमा व्यस्त हुन थालेका छन्। स्थानीय स्तरमा जुन पार्टीसँग तालमेल गर्दा जित सुनिश्चित हुन्छ तिनै पाटीसँग तालमेल गर्ने नीति अधिकांश पार्टीहरुले तय गरेका छन्।
४ सय ६१ स्थानीय तहका लागि असार १४ गते हुने निर्वाचनमा दलहरु आफ्नो स्वार्थअनुसार तालमेल गर्नेगरी छलफललाई तीव्र बनाएका हुन्। सबैसँग तालमेलका लागि खुल्ला रहेपनि कोसँग तालमेल गर्ने भन्नेबारे पार्टीहरुका आ-आफ्नै प्राथामिकता छन्।
कांग्रेसको पहिलो प्राथमिकतामा माओवादी केन्द्र
नेपाली कांग्रेसले निर्वाचनका लागि पहिलो प्राथमिकतामा संसदको तेस्रो ठूलो दल र सत्ता साझेदार माओवादी केन्द्रलाई राखेको छ। पहिलो चरणको निर्वाचनमा पनि केही स्थानीय तहमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो। त्यसमध्ये सबैभन्दा चर्चित तालमेल भरतपुर महानगपालिकामा भएको थियो जहाँ काँग्रेसले माअोवादी अध्यक्ष पुष्पकमल दहाल पुत्री रेणु दहालका लागि मेयर पद छोडिदिएको थियो। गत साउनदेखि सत्तागठबन्धनका रहेका कांग्रेस र माओवादी केन्द्रले नै दोश्रो चरणको निर्वाचनमा धेरै ठाउँमा तालमेल गर्ने देखिएको छ ।
‘स्थानीय आवश्यकताको आधारमा निर्वाचनमा तालेमल हुन्छ। तालमेल भएको ठाउँमा माओवादीसँग नै हुन्छ,’ अर्थमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सेतोपाटीसँग भने,‘तराई मधेसमा मधेस केन्द्रीत दलसँग पनि तालमेल हुनसक्छ तर पहिलो प्राथमिकता माओवादी केन्द्र नै हो।’
कतिपय स्थानीय तहमा भने जिल्लाले आफ्नो आवश्यकता हेरेर समेत तालमेल गर्न सक्ने उनले बताए। प्रमुख प्रतिपक्षी दल एमालेसँग तालमेल गर्ने पक्षमा भने कांग्रेस देखिएको छैन।
संविधान मान्ने सबैसँग तालमेल हुन्छ: एमाले
नेकपा एमाले भने स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने पक्षमा रहेको छ। तल्लो कमिटीले आवश्यक ठानेमा जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्ने एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सेतोपाटीलाई बताए।
‘वडा स्तरको तालमेलका लागि जिल्ला स्तरबाट नै निर्णय हुन्छ,’ उनले भने, ‘स्थानीय तहको प्रमुख र उपप्रमुखका लागि भने केन्द्रको स्वीकृतिमा जिल्लाले निर्णय गर्छ।’
संविधान मान्ने जुनसुकै पार्टीसँग पनि निर्वाचनमा तालमेल हुने उनले बताए ।
मधेसमा दुई फोरमसँग तालमेल गर्ने दाउमा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले तराई–मधेसमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रीक फोरम र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको तालमेललाई प्राथमिकता दिएको छ। प्रगतिशील राष्ट्रवादको पक्षमा रहेका सबै पार्टीहरुसँग निर्वाचनमा तालमेल गरिने माओवादी केन्द्रका नेता मात्रिका यादवले सेतोपाटीलाई बताए ।
‘विचार मिल्ने पार्टीहरु बीच तलदेखि माथिसम्म छलफल भइरहेको छ,’ उनले भने,‘स्थानीय तहमा कुन–कुन ठाँउमा तालमेल हुन सक्छ भनेर हामीले रिपोर्ट मागेका छौं।’
उनले नेपाली कांग्रेससँग पनि तालमेलका लागि प्राथमिकतामा रहेको बताए। राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा भाग लियो भने राजपासँग समेत तालमेल हुने यादवले बताए। तर मधेसमा सबैभन्दा ठूलो पार्टी काँग्रेस रहेकोले उपेन्द्र यादव र विजयकुमार गच्छदारसँगको तालमेलले मधेसमा आफूलाई फाइदा पुग्ने माअोवादी केन्द्रको आँकलन रहेको एक नेताले बताए।
तालमेलको जिम्मा जिल्लालाई: राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले दोश्रो चरणको निर्वाचनका लागि तालमेल गर्ने जिम्मेवारी जिल्ला पार्टीलाई दिएको छ ।
‘स्थानीय तहमा जोसँग तालमेल गर्दा निर्वाचन जितिन्छ त्यही पार्टीसँग तालमेल गर्ने जिम्मेवारी जिल्लालाई दिइएको छ,’ राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले सेतोपाटीसँग भने, ‘गाउपालीका देखि उपमहानगरपालिका सम्मको तालमेलको निर्णय जिल्लाले नै गर्छ।’
कुनै पार्टी विशेषसँग निर्वाचनका लागि तालमेलमा रोक नलगाइको उनले बताए।
नेपाल लोकतान्त्रिक फोरमले एमालेसँग समेत तालमेल गर्न सक्ने
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले भने गणतन्त्र र संघीयताका पक्षधरहरु सबैसँग निर्वाचनमा तालमेल हुनसक्ने नीति तय गरेको छ।
स्थानीय तहमा आफ्नो सहजता हेरेर जुन दलसँग तालमेल गर्न मिल्छ त्यही दलसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला पार्टीलाई दिइएको लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले सेतोपाटीलाई बताए।
‘कुनै अमुक पार्टीसँग भन्दा पनि प्रगतिशील विचार बोक्ने सबै पार्टीसँग हामीले तालमेल गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएका छौं,' उनले भने।
चौधरीले कुनै खास पार्टीसँग तालमेल नगर्ने भन्ने छुवाछुतको नीति फोरमको नरहेको बताए। 'स्थानीय तहको सहजता हेरेर जिल्ला नेतृत्वले एमालेसँग पनि तालमेल गर्न सक्छ,’ उनले भने।
एमाले र राप्रपाबाहेक सबैसँग तालमेल गर्ने पक्षमा समाजवादी फोरम
संघीय समाजवादी फोरमले माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमसँग निर्वाचनको तालमेल गर्ने रणनीतिलाई बढी प्राथामिकता दिएको छ।
यी दुई पार्टीसँग सैद्धान्तिक रुपमा चुनावी तालमेल गर्नेमा सहमति भइसकेकोले प्राविधिक रुपमा मात्रै मिल्न बाकी रहेको संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले सेतोपाटीलाई बताए।
‘उमेदवारी मनोनयन गर्ने बेलासम्म हामीले तालमेलको निर्णय गरीसकेका हुन्छौं,’ उनले भने,’ तलबाट मुल्याकंन रिपोर्ट मागीसकेका छौ। अफ्ठेरो परेको ठाँउमा माथील्लो स्तरबाट समाधान गर्नेछौं।’
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेसँग बाहेक अरु सबैसँग चुनावी तालमेलको प्रयास हुने उनले बताए। अाफ्नो निर्णय सच्याएर निर्वाचनमा आयो भने राजपा नेपाल नै तालमेलका लागि पहिलो प्राथमिकतामा पर्ने यादवले बताए।