फ्रान्समा प्रतिनिधिसभा सदस्यको लागि जुन ११ मा भएको पहिलो चरणको निर्वाचनमा नयाँ शक्ति (REM) र नयाँ शक्तिसँग चुनावी तालमेल गरेको पार्टी (MDM) को गठबन्धनले ३२.३२% मत सहित प्रथम स्थान हासिल गरेको छ भने रिपब्लिकन पार्टी (LR) २१.५६% मत सहित दोस्रो स्थानमा छ।
दक्षिण पन्थी पार्टी (FN), वामपन्थी पार्टी (FI) र समाजवादी पार्टी (PS) को गठबन्धनले क्रमश १३.२% , ११.०२% र ९.५% मतका साथ तेस्रो, चौथो र पाँचौ स्थानमा परेका छन् |
पहिलो चरणको निर्वाचनबाट ४ जना उम्मेद्वार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। यी उम्मेदवारहरुले कुल खसेको मतको कम्तिमा ५०% मत प्राप्त गरेका थिए जुन मत उक्त निर्वाचन क्षेत्रको कुल मतदाता संख्याको कम्तिमा २५% थियो। यो सर्त पुरा हुन् नसकेका बाँकि ५७३ निर्वाचन क्षेत्रमा जुन १८ का दिन दोस्रो चरणको निर्वाचन हुँदैछ।
पहिलो चरणमै निर्वाचित हुने चार भाग्यमानी मध्ये दुई जना नया शक्तिका, एक जना रिपब्लिकनसँग गठबन्धन गरेको पार्टी (UDI) र १ जना स्वतन्त्र वामपन्थीका उम्मेदवार हुन्।
५७३ निर्वाचन क्षेत्रमा जुन १८ का दिन दोस्रो चरणको निर्वाचन हुनेछ जसमा हरेक निर्वाचन क्षेत्रमा पहिलो चरणमा कुल मतदाता संख्याको १२.५% मत प्राप्त गरेका उम्मेदवारहरु बीच प्रतिश्पर्धा हुनेछ। एक जना उम्मेद्वारले मात्र १२.५% प्राप्त गरेमा उक्त उम्मेदवारले आफूभन्दा एक तह कम मत प्राप्त गर्ने उम्मेद्वारसँग प्रतिश्पर्धा गर्नेछ। यदि कुनै पनि उम्मेद्वारले पहिलो चरणमा १२.५% मत प्राप्त गर्न नसकेको अवस्थामा त्यस निर्वाचन क्षेत्रका सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच प्रतिश्पर्धा हुनेछ।
पहिलो चरणमा विभिन्न पार्टीहरुले प्राप्त गरेका अग्रतालाई विश्लेशण गर्दा नयाँ शक्तिको गठबन्धनले प्रतिनिधिसभामा दुई तिहाइ स्थान प्राप्त गर्ने प्राय निश्चित देखिन्छ।
तथ्यांक विभागको अनुमान अनुसार दोस्रो चरणको निर्वाचनमा जम्मा ५७७ स्थान मध्ये नयाँ शक्तिको गठबन्धनले ४१५-४४५ स्थान, रिपब्लिकन पार्टीको गठबन्धनले ८०-१०० स्थान, समाजवादी पार्टीको गठबन्धनले ३०-४० स्थान, वामपन्थी पार्टीको गठबन्धनले १०-२० स्थान, दक्षिणपन्थी पार्टीले १-४ स्थान प्राप्त गर्ने सम्भावना देखिन्छ।