केही दिनअघि एउटी बहिनीको 'इन्गेजमेन्ट' मा गएको थिएँ। बहिनी नर्सिङ गर्दै थिइन्। जब मैले भावी ज्वाईंको उमेर थाहा पाएँ, मलाई अच्चम लाग्यो।
करिब दस वर्षको फरक थियो, उनीहरुको उमेरमा।
एक्कासि तय भएको इन्गेजमेन्ट, लगत्तै आएको निम्तो अनि त्यहाँको त्यो दृश्यपछि मलाई निकै छट्पटी भयो। मैले मौका पाउने बित्तिकै बहिनीलाई एउटा कुनामा ल्याएर सोधेँ, 'बहिनी, ज्वाईंसाब त अलि 'एजेड' देखिनुहुन्छ नि!'
बहिनीले लजालु मुस्कानसहित गर्वसाथ भनिन्, 'दाइ, बिहे त गर्नैपर्छ। मेरो पढाइ पनि सकिनै लाग्यो। अनि, उहाँ अमेरिकामा बस्नुहुन्छ। ग्रिनकार्ड होल्डर हो।'
यो प्रतिनिधि घटना मात्रै हो। अहिले बाध्यता, परिस्थिति वा रहरले नै भनौं, धेरै मानिस देश छाडेर बाहिरिन खोज्दैछन्। हामी डिभी भर्ने देशमध्ये अग्रपङ्तिमै पर्छौं। रातिदेखि पासपोर्टको लाइन लाग्छौं। म्यानपावर कम्पनीको वरिपरि घुम्छौं। युएसएमएलई गरेर विदेश जाने डाक्टर पनि कम छैनन्। हामी धेरै जना यो देशमा बस्नै चाहँदैनौं। बस्दै गरेका पनि आजित छन्। न राम्रो शिक्षा छ न त सुरक्षा। न राम्रो उपचार न त काम गर्ने वातावरण। खानेपानीदेखि बाटोमा हिँड्दा जाने चर्पीसमेत छैन। हुँदा-हुँदा सास फेर्ने हावासमेत स्वच्छ हुन छाडिसक्यो। त्यसैले त एउटा प्रश्न उठेको छ- यो देशमा किन बस्ने?
मेरो दुई वर्षको छोरो म बेलुका घर फर्कंदा वास्ता गर्दैन। मेरो बुवा आउँदा भने तल ढोका बज्न नपाई 'बा' भन्दै कुद्छ। बुवालाई नै बढी माया गर्छ। मेरो आगमन र मेरो बुवाको आगमनमा एउटै कुराको फरक छ- म आउँदा रित्तै आएको हुन्छु, बुवा आउँदा उसको लागि पापा आएको हुन्छ। हामी मान्छेले स्वभावतः सधैं केही दिने व्यक्तिबाटै अपेक्षा राख्ने हो। यो देशले पनि हामीलाई केही दिँदै छैन भने हामीले यो देशलाई किन केही दिने?
प्रश्न चोटिलो छ। तर, हामीले धैर्य गरेर यो प्रश्नको सामना गर्नैपर्छ।
केही समयअघि सामाजिक सञ्जालमा जापानको एउटा घटना चर्चित रह्यो। त्यहाँको सरकारले एक जना विद्यार्थीका निम्ति मात्रै उसको प्रारम्भिक शिक्षा नसकुञ्जेल दिनहुँ रेल चलाइरहेको छ। जब राज्यले एउटा नागरिकका लागि यतिसम्म गर्छ भने त्यो बच्चा आफ्नो देशप्रति निसन्देह ऋणी हुन्छ। उसलाई भविष्यमा आफ्नो देशका लागि के-के गर्ने ऊर्जा आउँछ होला?
हुन पनि आफ्ना नागरिकप्रति जिम्मेवार देशमा एउटा व्यक्ति बिरामी भएर अस्पताल जाँदा उसको उपचारमा सरकारले पहल गर्छ। शिक्षामा सरकारले पहल गर्छ। सुरक्षाको व्यवस्था राज्यले गर्छ। आधारभूत कुराका निम्ति सरकारले अग्रसरता लिन्छ। यसले आम नागरिकलाई आफ्नो सरकारप्रति उत्तरदायी हुन मद्दत पुर्याउँछ। तर, हामीकहाँ त्यो स्थिति छैन। वा भनौं, त्यो परिस्थितिसम्म हामी पुगिसकेकै छैनौँ।
यहाँनिर फेरि त्यही प्रश्न उब्जिन्छ, यो देशले हामीलाई केही दिँदै छैन भने हामीले यो देशलाई किन केही दिने?
हामी राष्ट्रियताको ढोल बजाउँदै छौं। हामीकहाँ धानदेखि धनियासम्म विदेशबाट आउँछ। नुनदेखि सुनसम्म विदेशबाट आउँछ। हाम्रा किसान उचित मूल्य नपाएर दूध, गोलभेडा फाल्न बाध्य छन्। छिमेकीलाई रिस उठ्यो भने नाकाबन्दी लगाउँछ अनि हामी प्रतिलिटर एक हजार रुपैयाँ तिरेर पेट्रोल उतैबाट किन्छौं। बारम्बार हेपिन्छौं अनि बारम्बार भुल्छौं। फेरि राष्ट्रियताको कुरा गर्छौं। तर हामी आफैं भित्र-भित्र खोक्रो हुँदै छौं।
हामी आफ्नो देशको स्वास्थ्य र शिक्षाको सुधारमा राष्ट्रियता देख्दैनौं। हामी कृषकलाई उचित मूल्य दिन अनि उसलाई प्रोत्साहन गर्न अग्रसर छैनौं। हामी हाम्रो युवालाई देशको उत्पादन बढाउनमा लगाएर देशमै रोक्ने नीति लिँदैनौं, किनकि हामीलाई रेमिटेन्सले देश हाँक्ने र आयात गरेर उठेको करको आडमा सफल अर्थतन्त्रको ढोल पिट्ने बानी लागेको छ।
अब भन्नुस्, एउटा कृषकले किन यहाँ उत्पादन गर्ने? किन युवा उद्यमीले यहाँ संघर्ष गर्ने? किन एक जना युवाले आफ्नो भविष्य जोखिममा लगाउने?
यी प्रश्न आफैंमा पीडादायी छन्। तर, यही प्रश्नको उत्तरमै समाधान छ।
के तपाईंसँग अनि मसँग 'यो देश मलाई चाहिएको छ' भन्ने साहस छ? यदि यो पुस्तासँग त्यो साहस अनि दृढता छ भने देश बन्छ। हाम्रो देश पनि समृद्ध हुन्छ। हरेक देशमा एउटा कालखण्ड हुन्छ र एउटा पुस्ता हुन्छ जसले त्यो त्याग गर्नैपर्छ, कुनै अपेक्षाबिना। भाग्य भनौं वा दुर्भाग्य, त्यो पुस्ता हाम्रो पुस्ता हो। हामीले हाम्रो देशलाई सक्षम र समृद्ध बनाउन योगदान गर्नुछ। हामी इतिहासको त्यो संक्रमण अनि त्यो कालखण्डमा छौँ, जहाँ चुक्यौं भने सदाका निम्ति चुक्ने छौँ।
१९९१ को आर्थिक मन्दीसँगै भारतले राम्रो प्रगाति गर्न सक्यो। १९८० पछि चीनले पनि व्यापक आर्थिक प्रगति गर्न सफल भयो। कोरियाले २५-३० वर्षको अन्तरालमै प्रगति गर्न सफल भयो। सिंगापुर त एक पुस्तामै तेस्रो विश्वबाट पहिलो विश्वमा उक्लियो। यी सबै देश सफलतातिर लम्कनुको पछाडि एउटै कारण छ। त्यहाँ एउटा पूरै पुस्ता प्रगतिको बाटोमा होमिएका छन्। हाम्रोमा भने त्यो परिवर्तनका निम्ति होमिएको पुस्ता (०४६ सालको पुस्ता) ले राजनीतिक परिवर्तन त ल्याएको छ, तर त्यसपछिको बाटो बिराएको देखिन्छ। उनीहरु बीच बाटोमा उभिएर आफ्नो त्यागको हिसाब-किताब गर्न थालेका छन्। तसर्थ, अब देशलाई प्रगतिपथमा डोर्याउन एउटा नयाँ पुस्ता नै चाहिएको छ। के हामी इतिहासले खोज्दै गरेको त्यो पुस्ता बन्न सक्छौं?
व्यक्तिगत स्वार्थ मात्र हेर्ने हो भने त, यो देश यही अवस्थामा रहे पनि तपाईं-हामीलाई केही छैन। खानलाउन पुगेकै छ। परिआए लिटरको ५०० तिरेर पनि पेट्रोल हाल्दा गाडी गुडेकै छ। छोराछोरीलाई राम्रो शिक्षा अनि खुसीमा घुम्न र बिरामी परे जचाउन विदेश जान समर्थ नै छौं। तर, म सफल हुँदाहुँदै पनि हामी सफल हुन सकेका छैनौँ। यहाँ व्यक्ति खुसी छ, तर परिवार र समाज दु:खी छ। यहाँ दिनानुदिन व्यक्ति धनी हुँदैछ तर देश गरिब हुँदैछ। तसर्थ, अब एउटा यस्तो पुस्ता चाहिएको छ, जसले यो देश मलाई चाहिएको छ अनि म बनाउँछु भनेर अघि बढ्न सकोस्। र, त्यो पुस्ता हाम्रै पुस्ता हो। हामी पछाडिका पुस्तामा त्यो धैर्य नहुन सक्छ।
मलाई सधैं अचम्म लाग्ने कुरा के भने, नेपालमा संसारकै उत्कृष्ट डाक्टर छन्, तर अस्पताल राम्रो छैन। यहाँ विश्वलाई नै सिकाउने इन्जिनियर छन् तर हामी पूर्वाधारमा पछाडि छौं। हामीकहाँ संसारसँग भिड्न सक्ने खेलाडी छन्, तर उनीहरुको संस्था नै बन्द हुने अवस्थामा छ। हामी व्यक्तिगत रुपमा सबैतिर उत्कृष्ट छौं तर सामूहिक रुपमा असफल छौं? सायद हामीले व्यक्तिगतभन्दा माथिको योगदान गर्न सकेका छैनौं। सामूहिक योगदानका लागि चुकिरहेका छौं वा भनौं, यी सबैलाई जोड्ने राजनीतिमा हामी सफल हुन सकेनौं। राजनीतिमा त्यस्तो गुण भएको व्यक्तित्व नै भएन। भएकाले पनि नेतृत्व गर्न सकिरहेका छैनन्।
हामीसँग यति समय छ, हामी पृथ्वीनारायण शाहले के सही गरे, के गलत गरे भनेर विश्लेषण गर्दै बसेका छौं। हामीलाई भविष्यको योजनाभन्दा विगतको विश्लेषणमा बढी चासो छ। तसर्थ, अब पछाडि फर्कनेभन्दा अगाडि बढ्न जरुरी छ। अब हाम्रो पुस्ताले छाती पिटेर यो देश मलाई चाहिएको छ अनि मेरो पुस्तालाई चाहिएको छ भन्न सक्नुपर्छ।
एक जना साथीले एकदिन बडो नमिठो हाँसोसहित भने, 'मिलन, हामी महँगो-महँगो गाडी चढ्छौं तर बाटोका खाल्डाखुल्डी, पेट्रोलको मिसावटमा चुइँक्क बोल्दैनौं। त्यही खाल्डाखुल्डी र मिसावटले गाडीको आयु २० वर्षबाट १० वर्षमा झारेको हामीलाई मतलब छैन। जबकि हामी आफ्नो गाडीमा कसैले अन्जानमै कोरिदियो भने पनि झगडा गर्छौं, बबाल मचाउँछौं। हामी के सोचिरहेका छौं अनि के गरिरहेका छौं? मैले आजसम्म बुझ्न सकेको छैन।'
साँच्चै हामी के का लागि मर्न र मार्न तम्सिएका छौं? हामी के कुरामा चुप छौं। अब सोच्ने बेला आएको छ। ती साथीले लामो सुस्केरा हाल्दै थपे, 'एउटा राम्रो जागिर, एउटा राम्रो जीवनसाथी, एउटा राम्रो घर, एउटा राम्रो गाडीभन्दा यो पुस्ताको सपना ठूलो हुन सकेको छैन। त्यही व्यक्तिगत सपनाले नै नेपालको सपना ओझेलमा परेको छ। नेपालको सपना त नेपालीहरुले हाइज्याक गरेका छन्।'
लेखकको फेसबुकः