कतारस्थित नेपाली द्तावासले कतारस्थित नेपालीलाई कुनै समस्या आइ नसकेको र परिस्थिति सामान्य रहेको जनाएको छ। दूतावासले मंगलबार अपरान्ह पराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा कतारस्थित नेपालीलाई कुनै समस्या नआएको उल्लेख छ । कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले नियमित रुपमा कतारी बिदेश मन्त्रालय लगायत निकायसंग समन्वय गरी परिस्थितीको जानकारी लिइरहेको दोहास्थित दूतावास उपप्रमुख मणिरत्न शर्माले जानकारी दिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
कतारी बिदेश मन्त्रालयले त्यहाँ रहेका बिदेशी राजदूतहरुलाई मंगलबार पछिल्लो अवस्थाबारे ब्रिफिङ् दिएको थियो। राजदूत कोइरालाले उक्त ब्रिफिङमा सहभागिता जनाएका थिए। ब्रिफिङ्मा कतारी बिदेश मन्त्रालयका अधिकारीहरुले कतारमा मानवीय संकट नआउने र बिदेशी कामदारलाई कुनै समस्या नआउने राजद्तहरुलाई जानकारी गराएका थिए । कतारमा हाल चार लाख नेपाली कार्यरत छन् ।
सरकारले खाडी मुलुकहरुले कतारसंगको जल, स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली द्तावासहरुलाई निर्देशन दिएको थियो। कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा अन्य खाडी देशले गरेपछि त्यहाँ हाहाकार हुनसक्ने र त्यसले मानवीय संकट उन्पन्न हुनसक्ने हुँदा त्यसप्रति सचेत रहन परराष्ट्रले द्तावासलाई भनेको छ।
इत्तेहाद एयरलाइन्सले युएई हुँदै कतार जाने विमानसेवा भने सोमबारदेखि नै बन्द गरेको छ । जसका कारण अब कतार जान चाहने नेपाली कामदार प्रभावित हुने भएका छन्। खाडी क्षेत्रको परिस्थिति बुझ्न र त्यसबारे मन्त्रालयलाई जानकारी गराउन परराष्ट्रले खाडीस्थित सबै नेपाली द्तावासहरुलाई सोमबारै निर्देशन दिएको छ । साउदी अरेबिया, कुवेत, युएई, इजिप्ट, बहराइन तथा यमनमा ठ्लो संख्यामा नेपालीहरु छन्। कतारमा रंगशाला निर्माण लगायत पूर्वाधार विकासका परियोजना निर्माणमा नेपाली छन् ।
कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै उसंग साउदी अरेबिया, इजिप्ट युएई र बहराइनलगायतले कुटनीतिक संबन्ध बिच्छेद गरेको घोषणा गरेसंगै खाडी क्षेत्रमा संकट आउनसक्ने अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। कतार खाडी क्षेत्रमा सानो तर समृद्द मुलुक मानिन्छ । कतारले आतंकवादी संगठनहरु इस्लामिक स्टेट (आइएस) र अल काइदालाई प्रश्रय दिएको तथा खाडी मुलुकमा अस्थिरता उत्पन्न गरेको अरु खाडी मुलुकले आरोप लगाए पनि कतारले भने सो आरोपको खण्डन गरेको छ । साउदीको प्रमुख बिरोधी मुलुक इरानसँग कतारले संबन्ध बढाएको आरोप समेत ती मुलुकले कतारमाथि लगाएका छन्।