भारतको केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले सञ्चार समुह एनडीटिभीका प्रणय रायको निवास तथा उनका कार्यालयमा छापा मारेको छ। प्रणय र उनकी श्रीमती राधिकाद्वारा सञ्चालन गरिएको एक निजी कम्पनीले भारतको आइसीआइसीआई बैंकलाई बुझाउनुपर्ने रकममा हिनामिना गरेको आरोपमा छापा मरिएको सिबीआईले जनाएको छ।
प्रणय एनडीटिभीका सह-संस्थापक तथा सह-अध्यक्ष हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार प्रणय र उनकी श्रीमती राधिकाले आफ्नो एक निजी कम्पनी पीआरपीआरका लागि उक्त बैंकबाट ४८ करोड भारू ऋण लिएका थिए।
सिबीआईले रायका ४ कार्यालयहरुमा छापा मारिरहेको जनाएको छ।
एनडीटीभी भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति चर्को आलोचना गर्दै आएको सञ्चार माध्यम हो।
निष्पक्ष पत्रकारिता गरेको कारण असहिष्णु भएर सरकारले आफ्ना सञ्चालकले गर्दै आएको ब्यापारमा छापा मारेको एनडीटीभीले जनाएको छ। ‘पुराना गलत आरोपलाई ब्यूँत्याएर’ सरकारले मिडियाप्रति आक्रमण गरेको एनडीटीभीको आरोप छ।
एक विज्ञप्ति जारी गर्दै एनडीटीभीले भनेको छ - प्रेस, अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रमाथिको आक्रमणलाई एनडीटीभीले डटेर सामना गर्नेछ।
एनडीटीभीका प्रवन्ध सम्पादक श्रीनिवासन जैनले ट्विट गरेका छन्– ‘सरकारको सन्देश प्रष्ट छ। मिडिया मार्फत अभिव्यक्त हुने स्वतन्त्र विचारलाई त्रास र धम्कि देखाएर बन्द गर्ने प्रयास हुँदैछ।’