वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा सोमबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ वैशाख १७ गते पुल्चोकबाट तानिएको थियो।
रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ। यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो। करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।
नेवारी परम्परा तथा बाजागाजाका साथ सोमबार दिउँसो साढे ४ बजे लगनखेलबाट रथ तान्दै करिब साढे ६ बजे जावलाखेल पुर्याइएको हो।
वि.सं. ५४६ देखि जात्रा शुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।
ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथ अक्षय तृतियादेखि शुभ साइत पारी मच्छिन्द्रनाथको रथारोहण गरिन्छ । भगवान मछिन्द्रनाथलाई रथमा विराजमान गराइसकेपछि विधिवत रुपमा रथ यात्रा शुरु हुन्छ। रथ तान्नु अगाडी गुरुज्यूको पल्टनबाट सलामी समेत दिइन्छ । बाजागाजासहित तान्न थालिएको रथ यात्रा पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पुर्याइन्छ। दोस्रो दिन सुन्धारा पुर्याइन्छ भने सुन्धारा पुर्याएको एक दिन रथ सोही स्थानमा राखिन्छ। त्यहाँ भएका स्थानीयहरुले सोही दिन मच्छिन्द्रनाथको पूजा अर्चना गर्छन्। त्यसपछि ललितपुरको थटीटोलमा रथ पुर्याएर नरिवल जात्रा निकाल्ने परम्परा छ । जहाँबाट जावलाखेल लैजान ज्योतिषहरुले साइत हेर्दछन्। थटीटोलबाट जावलाखेल लैजाँदा पश्चिम गमन हुने भएकाले साइत हेर्ने परम्परा चलेको गुठी संस्थानले जनाएको छ।
यात्रा जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ। छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ।