सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलस्थित भित्री सडक खण्डमा शनिबार साँझ सिटी सफारी/रिक्सा (विद्युतीय रिक्सा) चालकको हत्या भएको छ।
रिक्सा चालक सोही ठाउँ निवासी ४५ वर्षीय दिनेश कुमार चौधरी हुन्। उनको हत्या गोली हानेर भएको घटनास्थलमा रहेका एक प्रहरीले बताए।
तर पोस्टमर्टम रिपोर्ट नआएसम्म गोली नै हो भनेर यकिन गर्न नसकिने सुनसरी प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ करिब ५:३२ बजे, उत्तरतर्फबाट दक्षिणतर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ७८०४ नम्बरको रिक्सा चालक दिनेश सडकबाट करिब २०० मिटर उत्तरतिर रगताम्य अवस्थामा घोप्टो परेका छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
दिनेशको बाँया छातीमा चोट लागेको अवस्थामा मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा के कस्तो हतियार प्रयोग भएको भन्ने विषयमा प्रारम्भिक अध्ययन भइरहेको जनाएको छ।
कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमर्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।