स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ। आगामी आइतबार हुने निर्वाचनमा भोट दिन अहिले मतदातालाई घर जान समस्या परिरहेको छ। ‘भोट दिन घर जान लागेको गाडी पाउनै गाह्रो भयो। कसरी पुग्ने होला,’ ९१ वर्षको उमेरमा भोट दिन घर जान लागेका कोशीपारीका कर्मा रेन्डुपले भने।
हाल स्वयम्भुमा बस्दै आएका कर्मा परिवारसहित घर जान लागेका हुन्।
घर जानलाई केही पार्टीले गाडी चलाए पनि आफूहरूले त्यसबारे थाहा नपाएको उनले सेतोपाटीसँग बताए।
२१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा करिब एक लाख मानिस बाहिरिने अनुमान गरेको छ। शुक्रबार र शनिबार राजधानीबाट बाहिरिनेको संख्या बढ्ने महाशाखाले जनाएको छ । दुई दिनमा ५० हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान रहेको प्रहरीले जनाएको छ।
सबैभन्दा बढी नागढुंगा, त्यसपछि भक्तपुर–साँगा र फर्पिङ नाकाबाट सवारीसाधन बाहिरिएका छन्। पहिलो चरणको स्थानीय तहको चुनाव प्रदेश नम्बर ३, ४ र ६ को ३४ वटा जिल्लामा हुँदै छ।
हेर्नुहोस् तस्बिरमा