२०४६ सालको राजनीतिक परिवर्तनपछि स्थानीय निकायको पहिलो निर्वाचन हुँदै थियो।
काठमाडौंको त्यतिबेला महानगरपालिकामा बढोत्तरी भएकै थिएन। तत्कालीन नगरपालिकाको उक्त निर्वाचनमा मेयरको दाबेदारी प्रस्तुत गरे, राजुराज जोशीले।
काठमाडौं कांग्रेसका सचिव रहेका २९ वर्षीय जोशीको दाबी पूरा भएन। नेपाली कांग्रेसले उनको ठाउँमा पिएल सिंहलाई मेयरको उम्मेदवार बनायो। र, जोशीलाई उपमेयरको उमेदवार बन्न आग्रह गर्यो।
जोशीले पार्टीको प्रस्ताव अस्वीकार गरे। उनले छाडेको उपमेयरको टिकट उनकै भाइ नवीन्द्रराज जोशीले पाए।
काठमाडौं नगरपालिकाको उक्त निर्वाचनमा मेयर र उपमेयर दुवै नेपाली कांग्रेसले जित्यो।
त्यसयता भाइ नवीन्द्रराज राजनीतिमा अघि बढ्दै उद्योगमन्त्री छन्, दाइ राजुराज भने राष्ट्रिय राजनीतिबाट गुमनाम हुँदै २५ वर्षपछि पुनः काठमाडौं मेयरको उम्मेदवारका रूपमा आएका छन्।
राजुराजले जुन पद आँकेका थिए, त्यसको निम्ति पार्टीले पत्याउन २५ वर्ष कुर्नुपर्यो। यसबीच राजनीतिक गतिविधिहरूमा उनी त्यति चर्चामा रहेनन्। त्यही भएर महानगरपालिकाको हैसियत बनाइसकेको काठमाडौंको नयाँ पुस्ताका निम्ति उनी नौला व्यक्ति हुन सक्छन्। तर, व्यक्तिगत राजनीतिक संघर्ष र पार्टीभित्रको सक्रियता हेर्ने हो भने राजुराज काठमाडौं कांग्रेसभित्र आज पनि उत्तिकै क्रियाशील रहेको पार्टीका नेताहरू बताउँछन्।
कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले राजुराजको योगदान र सक्रियताको चर्चा गर्दै भने, ‘उहाँ हामीभन्दा निकै सिनियर हुनुहुन्छ। उहाँ पार्टीमा कहिल्यै निस्क्रिय रहनुभएन। पार्टीले दिएको हरेक जिम्मेवारी उहाँले पूरा गर्नुभएको छ।’
राजुराजलाई पनि हामीले त्यही प्रश्न सोधेका थियौं– ‘पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भए पनि बहुदल आएपछि गुमनाम रहनुभयो नि, किन?’
आफ्नो गुमनामीलाई केही हदसम्म उनी स्वीकार गर्छन्। भन्छन्, ‘राजनीतिमा लागेर चर्चामा रहन पार्टीको सक्रिय पद र सरकारी लाभको पदमै रहनुपर्ने रहेछ।’
‘यसबीच पार्टीको कुनै पदमा नरहेकाले तपाईंहरूलाई त्यस्तो लागेको हुनसक्छ,’ उनले अगाडि भने, ‘कुनै पदमा नरहे पनि म संगठनका कामहरूमा सक्रिय नै छु। महासमितिमा पनि छु। आफ्नो क्षेत्रमा त पहिले जस्तो काम गर्थें, अहिले पनि त्यस्तै सक्रिय भएर काम गरिरहेको हुन्छु। जिल्लामा पनि सबै कार्यक्रममा मेरो सहभागिता नै रहन्छ।’
संविधानसभाका दुवै निर्वाचनमा आफ्नो क्षेत्र र जिल्लामा समेत सक्रिय रूपले लागेको उनले बताए।
यसपालि काठमाडौं मेयरमा पार्टीका तर्फबाट धेरै नेताको नाम दाबेदारका रूपमा अगाडि आए पनि सुरुदेखि नै राजुराजको उम्मेदवारी लगभग निश्चितजस्तै रहेको स्रोतहरूको भनाइ थियो।
‘प्रकाशमान सिंहले समर्थन गर्ने उम्मेदवारलाई पार्टी सभापति शेरबहादुर देउवाले काट्नुहुन्न,’ कांग्रेसका एक नेताले केहीअघि भनेका थिए, ‘यसपालि प्रकाशमानको समर्थन राजुराज जोशीलाई छ।’ प्रकाशनमानले उनलाई कांग्रेसको काठमाडौं जिल्ला सभापतिको सट्टा मेयरको टिकट दिने बाचा गरेको ती नेताको भनाइ थियो।
राजुराज पनि आफ्नो नाम वडादेखि नै सिफारिस भएर आएको बताउँछन्।
‘यहाँ धेरै साथीहरू महानगरपालिकाको मेयरका लागि सक्षम हुनुहुन्छ, तर निर्वाचनमा त एउटाले मात्रै टिकट पाउँछ, त्यो सौभाग्य मैले पाएँ। पार्टीले सर्वसम्मतिमा मलाई टिकट दियो,’ उनले भने, ‘मसँग आन्तरिक प्रतिस्पर्धामा रहेका सबै साथीहरू अहिले मेरो निम्ति मत मागेर हिँड्नुभएको छ। मैले उहाँहरू सबैको सहयोग पाइरहेको छु।’
काठमाडौंमा नेपाली कांग्रेस बलियो रहेकाले आफ्नो सहज जित हुने उनको दाबी छ।
‘हाम्रो पार्टी काठमाडौंमा बलियो छ। काठमाडौंबाट निर्वाचित हाम्रा दुई जना मन्त्री (नवीन्द्रराज जोशी र गगन थापा) ले राम्रै काम गरिरहेका छन्। त्यसले पनि हामीलाई फाइदा पुगेको छ,’ उनले बिहीबार सेतोपाटीसँग भने।
पहिलो संविधानसभामा वामपन्थीहरूको वर्चश्व भएर संविधान बन्न नसकेको र दोस्रो संविधानसभाबाट कांग्रेस ठूलो पार्टी बनेकाले संविधान बनेको यथार्थ जनताले बुझेको उनको दाबी छ। ‘म ३० हजारभन्दा बढी मतको अन्तरले चुनाव जित्छु,’ उनले आत्मविश्वासका साथ भने।
जोशी नेवार होइनन्, तर उनी काठमाडौंका रैथाने हुन्। आफ्नो परिवार काठमाडौंको यट्खा, ढोकाटोलमा १ सय ५० वर्षदेखि बस्दै आएको उनी बताउँछन्।
उनको परिवारमा उनीसँगै श्रीमती, छोरा र बाबुआमा छन्। उनको एक मात्र २१ वर्षीय छोरा अहिले इञ्जिनियरिङ पढिरहेका छन्। सम्पन्न परिवारका जोशीको पुस्तैनी पेसा व्यापार हो।
राजनीतिमा भने जोशीको प्रवेश २०३५ सालमा भयो। नेविसंघबाट सक्रिय राजनीति सुरु गरेका उनी २०४१ सालमा काठमाडौंको कांग्रेस जिल्ला कार्य समितिमा सदस्य बनेका थिए।
पञ्चायतविरोधी आन्दोलनमा सक्रिय उनी कांग्रेसले २०४२ सालमा सुरु गरेको सत्याग्रहको समयमा ११ महिना जेल परेका थिए। त्यसपछि पनि पटक–पटक जेल परे। २०४७ सालमा नेपाली कांग्रेस काठमाडौंका सचिव बने। त्यतिबेला काठमाडौं कांग्रेसका सभापति प्रकाशमान सिंह थिए। अहिले पार्टीका महासमिति सदस्य छन्।
जोशी अहिलेसम्म लाभको पदमा पुगेका छैनन्। उनका भाइ नवीन्द्रराज काठमाडौं क्षेत्र नम्बर ८ बाट दुईपटक निर्वाचित भइसकेका छन्। उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन्। राजुराज भने भाइसँग आफ्नो राजनीतिक प्रतिस्पर्धा नरहेको र भाइलाई भाइकै रूपमा माया गर्ने बताउँछन्।
नवीन्द्रराजको पनि दाइलाई आफ्नो नाम मात्र जोडेर प्रचार गरेकोमा चित्त दुखाइ छ। उनी भन्छन्, ‘उहाँ आफैंमा परिपक्व र हठी स्वभावको नेता हो। कांग्रेसमा उहाँको आफ्नै योगदान छ। सिद्धान्तप्रति प्रतिबद्ध, पार्टी र प्रजातन्त्रका लागि लडेको व्यक्ति हुनुहुन्छ। त्यही योगदानले नै उहाँलाई पार्टीले टिकट दिएको हो। हामी दाजुभाइ हुनुसँग यसको कुनै सम्बन्ध छैन। उहाँ आफ्नो सक्रियता, योगदान र सुझबुझका आधारमा काठमाडौंको मेयर हुन योग्य उम्मेदवार हो।’
राजुराजको क्षमता के त भन्ने प्रश्नमा नवीन्द्रराज थप्छन्, ‘हरेक चुनौती सामना गर्ने खुबी छ। आफूलाई प्राप्त जिम्मेवारी जसरी पनि पूरा गर्नुहुन्छ। काठमाडौं महानगरपालिकालाई अहिले उहाँजस्तै मेयरको खाँचो छ।’