पोखरामा दुई वटा हेलिकप्टरले स्टेसन राखेर सेवा सुरू गरे पछि हेलिकप्टरबाट पर्यटकीय स्थलको भ्रमण गर्ने पर्यटकहरुको संख्या बृद्धि भएको छ। पोखराबाट दैनिक ५ देखि १५ वटासम्म हेलिकप्टरहरू पर्यटक बोकेर पोखरा आसपासका क्षेत्रमा जाने गरेको सञ्चालकहरु बताउँछन्। पोखरामा आधार बनाएर हेलिकप्टरले दैनिक साइट सिन, माउण्टेन फ्लाइट, एयर एम्वुलेन्स, रेस्क्यु फ्लइटका उडान भर्दै आएको प्रभु हेलिकप्टरका पोखरा स्टेसन म्यानेजर दुर्गा गुरुङले बताए।
उनले पर्यटकहरु पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छे बेस क्याम्प, मुक्तिनाथ मन्दिर जाने गरेको बताए। पोखराबाट प्रभु र सिम्रिक एयरले स्टेसन नै राखेर सेवा दिदै आएका छन् भने अन्य कम्पनीले बेला बेलामा सेवा दिदै आएका छन्।
पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईका अनुसार हेलिकप्टरहरूले दैनिक ५ देखि १५ सम्म उडान भर्दै आएका छन्। उनले हेलिप्टरको सेवाले विमानस्थललाई पनि व्यस्त बनाएको बताए। उनले पोखरा काठमाडौ तीन वटा एयरलाइनसले दैनिक २० देखि २५ फ्लाइट गर्ने गरेको बताए।
प्रभुको हेलिकप्टरमा ८० मिनेटको प्याकेज ९ सय डलरमा पाइन्छ। जसमा अन्नपूर्ण र माछापुच्छ्रे बेस क्याम्प लैजाने गरेको गुरूङले बताए। ‘पर्यटकहरु बेसक्याम्प जान्छन्, करिब ४० मिनेट हिमालमा रमाउँछन्,’ उनले भने, ‘चिया कफि खाएर पुन पोखरा फर्किन्छन्।’ उनले सबैभन्दा बढी पर्यटक अन्नपूर्ण बेसक्याम्प जाने गरेको बताए।
जाने पर्यटक मध्ये ५० प्रतिशत चाइनिज, त्यसपछि युरोपियन र नेपाली हुने गरेको उनको भनाई छ।
दुबै कम्पनीले पोखरामा आफ्नै ह्यांगरमा नियमित परिक्षण तथा मर्मत सम्भार गरि सुरक्षित तथा भरपर्दो सेवाको प्रत्याभूति गराएका छन्।