आन्दोलनरत मधेसी मोर्चाले सार्वजनिक गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम भोलिदेखि स्थगित गर्ने भएको छ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चा र सरकारबीचको बैठकले सरकारले संसोधनको प्रक्रिया भोलिदेखिनै बढाउने गरी सहमति गरेकाले मोर्चाले पनि आफूले यसअघि सार्वजनिक गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ।
राष्ट्रिय जनता पार्टीका नेता केशव झाका अनुसार भोलि मन्त्रिपरिषदको बैठक बसेर निर्णय गर्ने बित्तिकै मोर्चाको पनि बैठक बसि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको हो।
‘भोलि क्याबिनेट बसेर सरकारले संशोधन प्रक्रियालाई अगाडि बढाएसँगै हामी पनि बैठक बसेर जारी आन्दोलनका कार्यक्रम रोक्नेछौ,’ उनले भने।
सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचन दुई चरणमा गर्ने गर्ने र संविधान संशोधन प्रक्रियालाई अघि बढाउने निर्णय गरेपछि आफूहरूको आन्दोलन स्थगित हुने बताएका हुन्।
उनले पहिलो चरणको निर्वाचनका लागि उम्मेद्वारी दर्ता प्रक्रिया केही दिन बढाउने सहमति भएकोसमेत जानकारी दिए।
‘सरकारले भोलिनै संशोधनलाई टेबल गर्ने र ७२ घन्टे समयमा मा जे-जे परिमार्जन गर्ने भनेको छ त्यसलाई संशोधन गर्ने। क्याविनेटले गर्नुपर्ने निर्णय हुने बित्तिकै हामीले पनि हामीले आन्दोलन स्थगन गर्ने सहमति गरेका छौ,’ उनले भने।
यस्तै आज भएका थप सहमतिमा स्थानीय तहको संख्या बढाउने र शक्तिशाली आयोग बनाउने निर्णय भएको छ। केन्द्रीयको निर्वाचन हुनुभन्दा अगाडि सीमाकन टुंग्याउने सहमति भएको उनले बताए।
नागरिकताको सवालमा पदाधिकारीलाई बैवाहिक अंगिकृतलाई रोकिएको छ। त्यसमा सिमित पदमा बाहेक अंगिकृतलाई नरोक्ने सहमति भएको उनले बताए।
‘खाइ पाइ आएको आधिकार कटौती गर्नुभएन। यो संविधान बन्नुभन्दा अगाडि नागरिकता लिएकालाई पुरानै व्यवस्था लागू हुने भएको छ,’ उनले भने।
यस्तै संघको मातहत प्रदेश रहने. प्रदेशको मातहत स्थानीय तह हुने गरी राजनीतिक सहमति गरिने निर्णय भएको छ। यो कुरा भोलिदेखिनै अगाडि बढ्ने झाले बताए।