मधेसवादी दलबीच पार्टी एकता भएको छ। तराई मधेसका तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सदभावना पार्टी बीच बिहिबार राजधानीमा पार्टी एकता भएको हो।
कार्यक्रममा ६ दलबीच एकतापछिको पार्टीको नाम, चुनाव चिन्ह, झण्डा समेत सार्वजनिक गरिएको छ ।
बुधबार राति अबेरसम्म ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गर्दै आजै एकताको घोषणा गर्ने निर्णय गरेको थियो। एकीकृत नयाँ पार्टीको झण्डामा तीन रङ रातो, सेतो र हरियो मिसिएको छ । रातो क्रान्ति, सेतो शान्ति र हरियोले समृद्धिको संकेत गर्ने नेताहरुले बताएका छन्।
पार्टीको नेतृत्व अध्यक्ष मण्डलले गर्नेछ। अध्यक्ष मण्डलको संयोगक महन्त ठाकुरलाई राखिएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले सिंहदरबार सुध्रिनुपर्ने बताएका छन्। ‘मधेसी जनता त गुमेको छ सिंहदरबार नसुध्रिए मधेस पनि गुम्छ। हामीलाई मधेसीको एक राज्य चाहिन्छ। अटोनोमस मधेस चाहिन्छ,’ उनले भने, ‘आन्दोलन र क्रान्तिबाट प्राप्त अधिकारको आधारमा संविधान संशोधन हुनुपर्छ।’
उनले मधेसमा निर्वाचन सम्भव नहुने बताए। ‘मधेसमा निर्वाचन सम्भव छैन। सहमति र सम्झौता पछि मात्रै निर्वाचन हुन्छ। हामीसँग संघर्षको विकल्प छैन,’ उनले भने।
उनले सरकारले आफूहरूलाई झुठो आश्वासन दिएको आरोप पनि लगाए। ‘हामी नभए पनि निर्वाचन गर्छु भनेर सरकारले धम्की दिएको छ। किन हामीलाई झुठो आश्वासन दिइएको छ?,’ उनले भने, ‘हामीले अंगीकृत नागरिकतामा होइन वैवाहिक नागरिकतामा जोड दिएका हौ।’
उनले पहाड मधेस तराई हिमालको नभई जनताको प्रतिनिधित्व हुनुपर्ने दाबी गरे। ‘यो बाह्य सीमाना मिलाउन लागेको होइन यो त आन्तरिक सिमाना मात्रै मिलाउन खोजेको हो। काठमाडौं र मधेसको सीमा कोरेको सरकारले हो। विभाजन रेखा कोरेको शासकले हो।’
कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभई निर्वाचन हुन नसक्ने बताए।
उनले मधेसी र थारूको सहमति बिना निर्वाचन गरेर देखाउन चेतावनी दिए। उनले देशको ताला अब जनता पार्टीमा रहेको बताए। ‘अब यो पार्टी मधेसको मात्रै नभई हिमाल पहाड र तराईको पनि हो,’ उनले भने, ‘यो सबै जनताको पार्टी हो। अब जय मधेस होइन पहिला जय जनता अनि मात्रै जय मधेस।’
यो पार्टी एकता मात्रै नभएर सम्पूर्ण मधेसीको एकतासमेत भएको दाबी गरे। ‘मधेसी पार्टी एक हुन सक्छन् र भन्नेहरूलाई हामीले जवाफ दिएका छौ।अब मधेसी जनताको विजयको सुरूवात भएको छ,’ उनले भने।
यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलका अर्का सदस्य शरतसिंह भण्डारीले आफूहरूले एकल राष्ट्रवादको चिन्तन गर्नेलाई गतिलो जवाफ दिएको बताएका छन्। ‘हामीले एकल राष्ट्रबादको चिन्तन गर्नेहरूलाई जबाफ दिएका छौ। हामी राष्ट्रियताको पाठ सिकाउँछौ। मधेसी जनता अरूभन्दा बढी राष्ट्रवादी छन्,’ उनले भने।
यस्तै कार्यक्रममा बोल्दै अर्का सदस्य महेन्द्र यादवले अहिलेको संविधानलाई कसैले पनि स्वीकार नगरेको दाबी गरे। ‘यो संविधानलाई भारत र अरू विश्वले स्वीकारेको छैन। भारतमा भएको १२ बुँदे सहमति कार्यान्वयन हुने तर नेपालमा भएको ८ बुँदे किन कार्यान्वयन नहुने? हाम्रो आन्दोलनलाई भारतका जनताले साथ दिएका छन्,’ उनले भने, ‘भारतले नश्लबादी चिन्तनको विरोध गर्छ। हामी देश बलियो बनाउन चाहान्छौ तर हाम्रो अधिकारका लागि संविधान संशोधन हुनपर्छ।’
यस्तै अर्का सदस्य राजकिशोर यादवले मधेसवादी दलको एकता भनेको पाँच पाण्डवको एकता भएको तर्क गरे।‘यो पाँच पाण्डपको एकता हो। हामी अब मधेसको लडाइँ जित्छौ।’