भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीविरुद्ध भद्धा टिप्पणी गरेका पूणे सुपरजाइन्ट्सका मालिकका भाइ हर्ष गोयन्कामाथि विरोधको स्वर झन तीब्र बन्न थालेको छ। पहिले भारतमा रहेका धोनीका हजारौं समर्थकले गोयन्काविरुद्ध प्रतिक्रिया जनाएका थिए।
अहिले धोनीकी श्रीमती साक्षी पनि विरोध अभियानमा संलग्न भएकी छिन्। साक्षीले आफ्नो श्रीमानलाई अपमानित गर्ने ट्विट गरेका गोयन्कालाई चेतावनी दिने उद्देश्यले चिन्नई सुपर किङ्सको जर्सी र हेलमेट लगाएर सोशल मिडियामा प्रकट भएकी छिन्।
र, उनले आफ्नो ट्विटरमा ह्यासटेगको प्रयोग गर्दै ‘थ्रोब्याक’ प्रयोग गरेकी छिन्। धोनी ८ वर्षसम्म चेन्नईको कप्तान थिए। यसअवधिमा धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई दुई पल्ट आइपिलको उपाधि दिलाएका थिए।
गत वर्ष धोनी पूणेका कप्तान थिए। उनलाई अन्तिम अवस्थामा कप्तानबाट निष्कासित गर्दै अस्ट्रेलियाका स्टिभन स्मिथलाई नेतृत्व सुम्पिएको थियो।
गोयन्काले आफ्नो ट्विटरमा स्मिथलाई जंगलको राजा र धोनीलाई ओझलमा पार्न थालेको प्रतिक्रिया जनाएका थिए। यसको विरोध भएपछि उनले ट्विटरबाट आफ्नो प्रतिक्रिया हटाएका थिए। तर, फेरि पछि गोयन्काले अर्को ट्विट गर्दै पूणेका खेलाडी मनोज तिवारी, अजिङ्क रहाणे र क्रिस्टनको स्ट्राइक रेट धोनीभन्दा राम्रो रहेको भन्दै खेलाडीहरुको प्रदर्शनको सूची राखेका थिए। यसबाट धोनीका प्रशंसक गोयन्कासँग झन भड्किएका थिए।