गफगाफमा हामी साथीहरूसँग सपना बाँड्छौं। तर कतिपय सपना मृगतृष्णा बन्छन्, यसै मरेर जान्छन्। इच्छाशक्ति हुनेहरू भने सपना मर्न दिँदैनन्, तिनलाई आकार दिने प्रयास गर्छन्।
काठमाडौं सहरमा यस्ता धेरै युवा भेटिन्छन्, जो सपना साट्दा-साट्दै जोडिएका छन्। रहर मिलेकै कारण उनीहरूको मन मिलेको छ। २५ वर्षका आकांक्षा जिसी र अशेष श्रेष्ठ र २२ वर्षका जेनिस व्यञ्जनकार र सलोनी राणा त्यस्तै युवा हुन्।
उनीहरूले सपना देखे, रहर साटे र तिनलाई आकार दिए। गत वर्ष डिसेम्बरमा उनीहरूले आफ्नो सपनालाई नाम पनि दिए, 'पालिन्चा'।
तर यो सपना बामे सर्नै नपाइ लकडाउन सुरू भइदियो। पालिन्चा दर्ता गरेको चार महिनामै आएको कोरोना सोच्दै नसोचेको महासंकट थियो। के-कसो गर्ने मेसो नपाएका उनीहरूका लगाि कोरोनाकालको सुरूआती चरण कठोर परीक्षणकाल बनेर तेर्सियो।
महामारी नफैलिएको भए उनीहरू पालिन्चामार्फत् कार्यक्रम व्यवस्थापन, रिपोर्ट लेखन र अनुसन्धान लगायत काममा व्यस्त हुन्थे। तर संस्थाको चिन्ता गर्दै बाध्यात्मक फुर्सदमा घरभित्रै खुम्चिनुको विकल्प थिएन। उनीहरूको उल्झन बढिरहेको थियो।
यसैबीच घरमा बसेको कुनै दिन संस्थापक सदस्य आकांक्षाले कुरुस र ऊनी धागो समाइन्। सिलाइ-बुनाइमा सानैदेखि आकर्षित उनले कुरुसको सुइरोले धागो उन्न थालिन्। धागो उन्दै गर्दा उनलाई आफ्नो मनको उल्झन सुल्झाएझैं भयो।
मन बहलाउन समाएको त्यही कुरुस चलाउँदै उनले पन्जा, मोजा, मफलर बुनिन्। ती सामान साथीसंगी र आफन्तलाई देखाइन्। सबैले उनको प्रयासको सराहना गरे। अशेष, सलोनी र जेनिसले आकांक्षाको काममा व्यावसायिक सम्भावना नै देखे। उनीहरूका लागि यही सम्भावना फुर्सद र चिन्ताबाट बाहिर निस्किने माध्यम बन्यो।
आकांक्षाको निजी सोखले सामूहिक कामको रूप लियो। त्यसलाई उनीहरूले नाम दिए, 'कुरुस नेपाल'।
कुरुस नेपालबाट उनीहरूले परम्परागत रूपमा सिलाइ-बुनाइ गर्ने अनुभवी कामदारमार्फत मफलर, टोपी, पन्जा, मोजा, हेडब्यान्ड, स्विटरले आदि बनाएर बजार पुर्याए। छोटो समयमै यसले सकारात्मक नतिजा ल्यायो। कुरुस नेपालका उत्पादन र काम जति थपिँदैछ, उनीहरूको व्यस्तता उति बढ्दैछ।
उनीहरूले तीन महिनाअघि पाटन, चाकुपाटमा एउटा सानो कोठा लिएका छन्। कुरुस नेपाल/पालिन्चाको कार्यालय यही हो।
हाल हरेक दिन ९ देखि साँझ ६ बजेसम्म चारै जनाको धेरै समय यही कोठामा बित्छ। सानो कोठामा उनीहरू कुर्सी र भुइँमा बसेर काम गर्छन्।
गत साता कुरुस नेपालको अफिस पुग्दा भुइँमा रंगीविरंगी ऊनी धागोका डल्ला फिँजारिएका थिए। चारै जना मफलर, टोपी, पन्जा, मोजा, हेडब्यान्ड आदि कागजको झोलामा प्याकिङ गर्दै हिसाबकिताब मिलाउन व्यस्त देखिन्थे।
'१५ सय रूपैयाँबाट काम सुरू गरेका थियौं, ५० हजार जतिको व्यापार गरिसक्यौं। अर्डर आइरहेका छन्,' अशेषले सुनाए।
कुरुस नेपालमा २ सय ५० पर्ने हेडब्यान्डदेखि तीन हजार रूपैयाँसम्मका स्विटर छन्। हजारभन्दा बढी बिक्री भइसकेको मफलर ६ सय ५० देखि एक हजार रुपैयाँसम्म पाइन्छ। उनीहरू आगामी दिनमा जुटको झोला, पर्स, सपिङ ब्याग, ब्ल्यांकेट, ऊनको लन्ड्री बास्केट, कार्पेटसम्म बनाउने सोचिरहेका छन्। यो जाडोमा कुकुरका लागि न्यानो कपडाको पनि अर्डर आएको जेनिसले बताए।
एक जनाले देखेर मलाई पनि ल्याइदेऊ भनेकै भरमा पनि उनीहरूले अर्डर पाइरहेका छन्। कुरुस नेपालका उत्पादन नियमित पाइने ठाउँ हो अनलाइन पसल 'फ्रिसिया'। यसबाहेक आफ्नै सामाजिक सञ्जालबाट पनि राम्रो प्रचारप्रसार भइरहेको अशेष बताउँछन्, 'साथीहरू र आफन्तले राम्रो छ भनिदिँदा गुडविल बन्दो रहेछ।'
यी चारै जना युवा पुस्ता भएकाले त्यो उमेर समूहको रूचि र माग उनीहरूले नजिकबाट बुझेका छन्। उनीहरूका उत्पादनका आकर्षक डिजाइन र रङ संयोजनले यो खुबी देखाउँछ।
कुरुस नेपाल मित्रताको चौतारी पनि हो। यी चार साथीको सहकार्य आकांक्षा र आशेषबीचको मित्रताबाट सुरू भएको थियो। उनीहरू बाल्मिकी क्याम्पसमा संस्कृत पढ्न गएका बेला साथी बनेका थिए। जेनिस र सलोनी भने अशेष पढ्ने नेसनल कलेजका सहपाठी हुन्।
अलग विषयमा रूचि भएका उनीहरूको लक्ष्य भने समान थियो, केही फरक काम गर्ने। यही समानता मिलेपछि एक, दुई हुँदै चार बन्न बेर लागेन। साथी-साथी भएकाले उनीहरूको काम गर्ने शैली अनौपचारिक छ।
'हामी कोही कसैको बोस होइनौं, तर काम गर्न सजिलो होस् भनेर जिम्मेवारी बाँडेका छौं,' सलोनीले भनिन्।
अशेष पूरै संयोजनका काम सम्हाल्छन्। उत्पादनका ट्याग डिजाइन, फोटो खिच्ने र सम्पादन गर्नेदेखि सामाजिक सञ्जालका काम उनैले हेर्छन्। जेनिस लजिस्टिकसम्बन्धी काम गर्छन्। यसमा सिलाउने मान्छे खोज्नेदेखि व्यवस्थापनका अरू काम पर्छन्। लुगा सिलाउने मान्छे खोज्ने र मार्केटिङमा कोड ब्रान्ड राख्नेबारे पनि उनी खटिन्छन्।
मार्केटिङको जिम्मा सलोनीले लिएकी छन्। डिजाइनिङ छनौटमा पनि उनको दक्षता छ। कुन उमेर समूहकाले कस्ता सामग्री मन पराउलान् र कस्तो रङ प्रयोग गर्नेबारे उनको सुझावले काम गर्दै आएको छ। भ्याएका बेला कुरुस समाएर बुन्न समेत सक्रिय हुन्छिन्, आकांक्षा। प्रोजेक्ट डेभलपमेन्टका सबै पक्षमा उनको संलग्नता छ।
यी चारै जनाले पालिन्चाको काममा पनि समय दिनुपर्छ। दिनभर अफिसमा व्यस्त उनीहरू बिहान-बेलुकाको समय पनि सामान किन्न, पुर्याउन र एकअर्कासँग छलफल गर्नमै बिताउँछन्।
आकांक्षाले भनिन्, 'तीन-चारथरि काम सँगै गर्दा एकदमै दबाबमा गर्नुपर्छ। समय व्यवस्थापन सबभन्दा ठूलो चुनौती हो।'
'त्यसैले ओभरटाइम काम गर्नुपर्छ,' सलोनीले हाँस्दै थपिन्।
आकांक्षाले सुरूमा सिन्थेटिक ऊनबाट मोजा, पन्जा, टोपी आदि बनाएकी थिइन्। पछि अध्ययन गर्दै जाँदा यसमा वातावरणलाई हानी गर्ने तत्व हुने थाहा पाए। आकांक्षाले भनिन्, 'हामी बाँच्ने परिवेश र समाज स्वस्थ राख्नु सबैको दायित्व हो। त्यसैले प्राकृतिक ऊन प्रयोग गरिरहेका छौं।'
धागोका स-साना घर जोड्दै कुरुसले पूर्ण आकार दिन्छ। जोड्नु नै कुरुसको विशेषता हो। कुरुस नेपालका चार जनामा पनि आफ्नो कामलाई समुदायको हितसँग जोड्ने हुटहुटी देखिन्छ। त्यसैले उनीहरू यसलाई व्यवसायभन्दा अभियान मान्छन्।
'हाम्रा सबै सामान सिलाइ-बुनाइ महिलाले गर्नुहुन्छ। सानै भए पनि हाम्रो प्रयासले महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग गरेको छ भनेर खुसी लाग्छ,' अशेष भन्छन्।
जेनिसले थपे, 'सिलाइ-बुनाइको काम दिँदा भूकम्प र कोरोना प्रभावितलाई बढी प्राथमिकता दिएका छौं।'
उनीहरू सिजनअनुसार सामान उत्पादन गर्न नयाँ ढंगले काम गर्ने सोचिरहेका छन्। एकैपटक धेरै अर्डर पूरा गर्न सक्षम भइसके पनि पहिले जग बलियो बनाएर थप लगानी गर्ने योजना उनीहरूको छ।
'परीक्षणकालमा पनि राम्रो प्रतिक्रिया पाइरहेका छौं। अब बिस्तारै लगानी र उत्पादन बढाउने छौं। भविष्यमा नेपालबाहिर पनि कुरुस नेपालका उत्पादन पुर्याउन सकिने रहेछ भन्ने आत्मविश्वास बढेको छ,' उनीहरू भन्छन्।
(कुरुस नेपालको सम्पर्क नम्बरः ९८६०९३५२६०)