शिरमा नौ रङ, उड्ने क्षमता तीव्र- नेपालको राष्ट्रिय चरा डाँफे। यस्तै गतिमा उडान भर्न तम्तयार छ, डाँफे वर्क्स।
धेरै महिलाको जीवनमा डाँफेको झैं नवरङ भरिरहेको यो विशेषगरी कपडा ब्रान्ड हो। झोला, पर्स, सलजस्ता सामान पनि बनाउँछ। योभन्दा बढी डाँफे सामाजिक उत्तरदायित्ववाहक कम्पनी हो, जो बाटो अलमलिएका महिलाहरूको सीप र दक्षता अभिवृद्धि गर्नमा लागेको छ।
डाँफेको व्यावसायिक र सामाजिक उडानमा गति भर्ने सात जना छन्, जसमध्ये कृतिष्मा कार्की र विजेश रञ्जितसँग हामीले कुराकानी गरेका छौं।
कृतिष्माका अनुसार, स्थानीय बजारमा डाँफेका कपडा र झोला धेरै बिक्री हुन्छन्। चार वर्षअघि सुरू डाँफेका उत्पादन ग्राहकले मनपराएका छन्। सेलेब्रेटीका दराजसम्म पुगेका छन्।
'विभिन्न डिजाइनका झोला, ह्यान्ड ब्याग, पर्स हाम्रो मुख्य उत्पादन हो,' उत्पादनबारे विजेशले भने, 'सल, गाउन, लेहेंगा-चोली, किमोनो, वानपिस र बच्चाका लुगा हाम्रो दोश्रो प्राथमिकतामा पर्छन्।'
'गेट लोकल, गो लोकल' भन्ने नारा बोकेको डाँफेले स्थानीय वस्तु प्रवर्द्धन र प्रचारको उद्देश्य लिएको छ। स्थानीय सामग्री र सीप अन्तर्राष्ट्रियकरण गर्दा मौलिकता अभिवृद्धि हुन्छ नै, हाम्रै आँखा वरपरका सामान्य वस्तुले बजार पनि पाउँछ।
स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन डाँफे समूहले धेरै मिहिनेत गरिरहेको छ। 'हामीले नै आफ्नो उत्पादन मन पराएर, लगाएर, अनुभव बताउनसक्ने भए पो अन्तर्राष्ट्रिय बजार पुर्याउन सहज हुन्छ,' विजेश भन्छन्, 'हाम्रो उद्देश्य नै स्थानीय बजारमा फरक छाप बनाएर पकड जमाउनु हो।'
यही आर्थिक वर्षभित्र उनीहरूले डाँफेका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना बनाएका छन्।
झम्सिखेलस्थित डाँफे आउटलेटमा थुप्रै महिलाका फोटा सजिएका छन्। कोही 'तपाईंको झोला बनाउँछु' भन्दै आफ्नो सीप बताइरहेका छन्। कोही 'लुगा बनाउँछु' भन्दै डाँफेले जीवन बदलेकोमा कृतज्ञ छन्।
यिनैमध्ये हुन् सविता चौधरी, सुनिता मग्राती र रेखा दनुवार।
मोरङकी सबिता भन्छिन्, 'डाँफेको महिला हुन पाएकोमा गर्व छ, जसले मलाई उड्न पखेटा दियो।'
'कपडा बनाउन सिकेँ, मैले आफ्नो जीवन बनाउन सिकेँ,' सिन्धुलीकी रेखा भन्छिन्।
काभ्रेकी सुनिताको भनाइ उस्तै छ, 'डाँफेले मेरो जीवन बदल्यो, अब म मेरो समुदाय बदल्छु।'
२०७१ सालसम्म यी तीनै जना आ–आफ्नै दुनियाँमा थिए। २०७२ को भुइँचालोले उनीहरूको जीवनको लय बिथोलिदियो। अनि भेट भयो डाँफेसँग।
त्यस बेला 'साथ' भन्ने गैरसरकारी संस्था सिन्धुपाल्चोक पुगेको थियो। 'साथ' ले महिलाहरूलाई साथ दियो। ब्रान्ड बन्नुअघि 'साथ' कै एउटा परियोजना थियो डाँफे, जसले महिलालाई सिलाइ-कटाइ सीप सिकाउँथ्यो।
तर सधैं दातृ निकाय खोजेर परियोजना चल्थेन। जानेको सीपको पनि बजारमा कुनै अस्तित्व थिएन। रोजगार सुनिश्चित भएन।
'भूकम्पपीडित महिलालाई लक्ष्य गरिएको योजना केही समयपछि सकिन्थ्यो। हामी त्यसलाई जीवन्त बनाउन चाहन्थ्यौं,' डाँफेको स्थापनाकाल सम्झिँदै कृतिष्माले भनिन्, 'अरू महिलाले पनि अवसर पाऊन् र पुरानाहरू आत्मनिर्भर बनून् भनेर डाँफेलाई ब्रान्ड बनाइयो। कम्पनीका रूपमा अघि बढाइयो।'
कृतिष्माका अनुसार, पहिलो ब्याचमा सिन्धुपाल्चोकका ३० महिला थिए, १७ देखि २५ उमेरका। डाँफेमा साढे एक वर्ष सिलाइ-बुनाइ सिकेका तिनै ३० जनाको सहयोगमा डाँफेले आफूलाई नेपाली ब्रान्डको भिडमा उभ्यायो।
पहिलो ब्याचले सिलाएका झोला-कपडा बिक्रीको नाफाबाटै पछिल्लाले तालिम लिए। यो क्रम चलिरहेकै छ।
हालसम्म एक सय ३० महिला डाँफेबाट 'ग्राजुएट' भइसकेको कृतिष्मा बताउँछिन्। तालिम लिएकाहरू आफूजस्तैको जीवन बदल्न गाउँठाउँ पुगेका छन्।
'दक्ष कामदार हामीकहाँ विरलै बस्छन्। सकेसम्म आफ्नै समुदायमा नयाँ व्यवसाय सुरू गर्न प्रेरित गछौं। नभए अन्त काम गरेका पनि छन्,' विजेश भन्छन्, 'ए-बि-सि-डी गरी चार कक्षा हुन्छन्। 'ए' मा पुगेपछि उनीहरूलाई दक्ष मानिन्छ। त्यसपछि नयाँ ब्याच आउँछन्।'
डाँफेले आफ्नो मात्र होइन, थुप्रै महिलाका लागि पखेटा तयार पार्दैछ। सीप सिकेर आफ्नो ठाउँ पुगेकाहरूबारे कम्पनीले निरन्तर खोजी गर्छ। बिहेपछि अर्को ठाउँ पुगेकाको काम भने नयाँ परिवारको माहोलमा भर पर्छ।
पछिल्लो समय डाँफे जनकपुर पुगेको छ। बिहेपछि काम छोड्नेमा तराईका महिला धेरै छन्। यसका बाबजुद जो एकल र सीमान्तकृत छन्, उनीहरूका निम्ति अवसर सिर्जना गर्नु कम्पनीको उद्देश्य हो।
'समाजको विभिन्न दायराबीच महिलाले खुलेर काम गर्न पाएका छैनन्। परिवार र संस्कृति विचार गरेर बिहेपछि पनि काम सुरू गर्न प्रेरित गर्छौं,' कृतिष्माले भनिन्, 'तराईका केही महिला डाँफेमा जोडिएका छन्। उत्साहित पनि छन्। उनीहरूको कामप्रति लगाव राम्रो छ।'
ब्रान्डलाई चराजस्तै रंगीन र गतिशील बनाएर जीवनवाहक नै बनाउने लक्ष्य भएको कृतिष्मा र विजेश बताउँछन्।
'यो हाम्रो आवश्यकताले डोर्याएको सामाजिक काम हो,' कृतिष्मा खुसी सुनिन्छिन्, 'हिजो हामीलाई अरूले सहयोग गर्नुभएको थियो, त्यो जिम्मेवारी अहिले हाम्रो काँधमा छ।'
कृतिष्मा, विजेश र डाँफेका अरू सदस्य १५ वर्षदेखि सँगै काम गरिरहेका छन्। यो टोली कलेजदेखिकै साथी हुन्। 'सोसियल वर्क' विषय पढेका उनीहरूमा कुनै न कुनै माध्यमबाट समुदायलाई योगदान गर्नुपर्छ भन्ने भयो। पढाइ सकिएपछि जोडतोडले समाजसेवामा लागे।
यसैबीच उनीहरूले 'सेल्टर' मा रहेका केही महिलाको आर्थिक सहयोगका लागि कार्यक्रम गरे।
'सेल्टरका महिलाका लागि गरेको सानो कार्यक्रम सफल भयो,' विजेश भन्छन्, 'यस्तो काम अझै गर्नुपर्छ भन्ने लागेको त्यही दिनदेखि हो।'
आफ्ना उत्पादन र सिकाएका कामदारको सबैले तारिफ गरेको उनीहरूको अनुभव छ। स्थानीय कामदारले बनाएका सामान स्थानीय बजारमा आफ्नो 'ट्याग' राखेर पठाउन पाउँदा दंग छ, डाँफे टोली।
'हामी कलेज हुँदै सानो-तिनो काम गरिरहन्थ्यौं। आफ्नो सक्रियता देखेर आफैं दंग पर्थ्यौं,' कृतिष्मा भन्छिन्, 'सानो सानो कामले नै आज ठूलो सपना देख्न सघाएको छ। हामी सपना पछ्याइरहेका छौं।'