त्रिभुवन विमानस्थलमा भ्रमण वर्षलाई लक्ष्य गरी 'पर्यटन परी' नामका दुइटा रोबोट राखिएका छन्। यिनले पर्यटकलाई नमस्कार भन्दै नेपालबारे जानकारी दिन्छन्। विमानस्थलमा यिनको उपयोगिता कति होला, त्यो हेर्न बाँकी नै छ। नेवार र गुरुङ समुदाय विशेष पहिरनमा सजिएका यी रोबोट बनाउने कम्पनीको काम भने प्रभावकारी छ।
नेपालकै रोबोटिक्स कम्पनी 'पाइला टेक्नोलोजी' ले यी 'परी' झन्डै दुई महिना लगाएर बनाएका हुन्। यस्तै 'परी' उनीहरूले बजारमा केही समयअघि नै भित्र्याइसकेका छन्। पाइलाले 'ह्युमनोइड रोबोट' बैंकिङ, शैक्षिक तथा होटल क्षेत्रसम्म पुर्याइसकेको छ।
०७३ सालमा सुरू पाइलाले छोटो समयमै नेपालको प्राविधिक क्षेत्रमा उल्लेख्य फड्को मारेको छ। कम्पनीले अहिलेसम्म घरमा 'अटोमेटेड धारा' देखि बैंकमा रोबोटमार्फत् ग्राहक सेवा पुर्याइरहेको छ।
पाइलाको सुरूआत २४ देखि २८ वर्षका सात युवाको लगन र मिहिनेतले भएको हो। यीमध्ये कम्पनीका सिइओ एवं सह–सञ्चालक विनय राउत र बजार व्यवस्थापन हेर्ने अर्का सह–सञ्चालक आयुष कसजु प्लस-टु पढ्दादेखिका साथी हुन्।
हाल २८ वर्षीय दुवै पुल्चोक इञ्जिनियरिङमा पढ्दा कलेजकै 'रोबोटिक्स क्लब' मा आबद्ध थिए। अन्य क्षेत्रमा भविष्य नदेखेका दुईको सोच नेपालमै व्यावसायिक ढंगबाट रोबोटिक्स कम्पनी खोल्ने थियो।
कम्पनीका अरू सह-सञ्चालकहरू २७ वर्षीय रविन गिरी, २६ वर्षीय दीपकमल भुसाल, २५ वर्षीय वासिम अक्रम खान र सागर श्रेष्ठका साथै २४ वर्षीय निरज बस्नेत पनि पुल्चोक कलेज नै पढेका हुन्। विनय र आयुषभन्दा पछिल्ला ब्याचका उनीहरूले इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक गरेका हुन्।
सागर, रविन र निरजको सोच विनय र आयुषको जस्तै थियो। पुल्चोक भर्ना हुनुअघि नै प्रविधि क्षेत्रमा झुमेका उनीहरूले भविष्य यसमै बुनेका रहेछन्। उनीहरूको त्यही सपना वास्तविक बनाउन सहयोग गर्दै थिए साथी वासिम र दीपकमल।
यी साथी कलेज भर्ना भएको पहिलो वर्षबाट 'रोबोटिक्स क्लब' मा आबद्ध थिए। दुई वर्ष क्लबमा काम सिकेका उनीहरूलाई तेस्रो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता 'एबियू रोबोकन (एसिया–प्यासिफिक प्रसारण संघ)' मा सहभागिता जनाउने मौका मिल्यो।
२०७२ भदौमा इन्डोनेसिया पुगेका उनीहरूले 'ब्याडमिन्टन' खेल्ने रोबोट बनाएका थिए। उनीहरूले 'बेस्ट आइडिया अवार्ड' र 'बेस्ट मावुची मोटर अवार्ड' हात पारे।
एबियूमा सहभागिता जनाएको १५ वर्षमा बल्ल पुल्चोक कलेजले पनि औपचारिक अन्तर्राष्ट्रिय पदक जितेको उनीहरू बताउँछन्। यो टोलीले एबियूमा पुनः सहभागिता जनायो। थाइल्यान्डमा भएको प्रतियोगितामा 'बेस्ट इञ्जिनियरिङ अवार्ड' र 'बेस्ट प्यानासोनिक अवार्ड' हात पारे।
जितले जुर्मुरिएका पाँच साथी स्नातकपछि भने कसरी अघि बढ्ने अन्यौलमा थिए। त्यसपछि उनीहरूको भेट विनय र आयुषसँग भयो। त्यो बेला विनय लन्डनबाट स्नातकोत्तर गरेर फर्किएका थिए भने आयुषले स्ट्रकचरल इञ्जिनियर सकेका।
वैचारिक आदान–प्रदानपछि एक साथ काम गर्ने निधो गरेको विनय बताउँछन्।
'वासिमसँग सम्पर्क थियो। ऊ र उसका साथी प्राविधिक क्षेत्रमा केही नौलो गर्ने सोचमा रहेछन्। मेरो र आयुषको पनि यसै क्षेत्रमा लाग्ने सुर थियो,' २८ वर्षीय विनयले भने, 'भेट र कुराकानीपछि रोबोटिक्समा लाग्ने निधो गर्यौं।'
अनि जन्मियो 'पाइला टेक्नोलोजी'।
'पाइला नाम कुनै खास तर्कमा राखिएको भने होइन। नेपाली नाम राख्ने सोचले यही चुन्यौं,' २७ वर्षीय रविन भन्छन्, 'तर नाम सान्दर्भिक रह्यो। व्यावसायिक तवरबाटै रोबोटिक्स पाइला चाल्ने हामी पहिलो संस्था हौं।'
पाइलालाई बजार र समाजमा भिजाउन उनीहरूले 'अटोमेटेड धारा' बाट काम सुरू गरेका थिए।
'आफूलाई बिकाउन पनि नभएको बजार हामीले सिर्जना गर्नु थियो,' पाइलाका रोबोटिक्स इञ्जिनियर एवम् सह–सञ्चालक रविनले सुरूआती दिन सम्झिँदै भने, 'रोबोट बनाउन निकै खर्च लाग्छ। खर्च जुटाउन पनि केही गर्नु थियो। अझ समाजलाई प्रविधि बुझाउन समय लाग्ने थियो। यसकारण सानो कामबाट सुरू गर्यौं।'
त्यसपछि उनीहरूले औद्योगिक क्षेत्रमा हात हाले। उनीहरूले 'फ्रिक्वेन्सी कन्ट्रोलर' बनाए जसले ठूल्ठूला मेसिनको गति नियन्त्रण गर्दै 'आउटपुट कन्ट्रोल' गर्छ। यही बीच पाइलाको सम्पर्क एसबिआई बैंकसँग भयो।
०७४ वैशाखको कुरा हो। एसबिआई बैंकले आफ्नो नयाँ शाखा पूर्ण 'डिजिटलाइज्ड' गर्ने जिम्मा 'पाइला'लाई दियो।
'हामी मौका खोजिरहेका थियौं। चुनौती र अप्ठ्यारा बाबजुद बैंकको प्रस्ताव स्वीकार्यौं,' रविनले भने, 'पहिलोपटक एसबिआईका लागि 'परी' नामक रोबोट तयार पार्यौं। यसपछि हामी पूर्णतया रोबोटिक्स कम्पनीका रूपमा स्थापना भयौं।'
एसबिआई दरबारमार्ग शाखाको रोबोट स्वागतका लागि बनाइएको हो। यसको नाम 'परी १.०' हो। पछि एसबिआइकै लागि 'परी २.०' पनि बनाए। 'परी' मा अंग्रेजी भाषा छ। ग्राहकलाई स्वागत गर्नुका साथै बैंकमा हुने काममा समेत मद्दत पुर्याउने उनीहरू बताउँछन्। 'अटोमेटिक चार्ज' हुने यो रोबोट हिँडडुल गर्छ।
झन्डै तीन वर्ष भिन्न–भिन्न क्षेत्रबाट जापान र चीनको प्रविधिबारे अध्ययन गरेका पाइला समूहले थप अध्ययनमा समय दिने सोचे। नयाँ रोबोट बनाउनुभन्दा उनीहरू व्यावहारिक ढंगबाटै अध्ययनमा लाग्ने निधो गरे। कामका अन्य प्रस्ताव नआउन्जेल प्रशिक्षणसँगै आफैं अवसर सिर्जना गर्ने सोचे।
उनीहरूले 'वेटर' र आतिथ्य सत्कारका लागि रोबोट डिजाइन गरे, बनाए। यसपछि यिनै रोबोटले सेवा दिने गरी दरबारमार्गमा पाइलाले ०७५ साउनमा 'नौलो रेस्टुरेन्ट' सञ्चालन गर्यो। पाइलाका अनुसार यो दक्षिण एसियाकै पहिलो 'डिजिटलाइज्ड' रेस्टुरेन्ट हो।
यतिन्जेल पाइला समूह आफ्नो रोबोटप्रति धेरै विश्वस्त भइसकेको थियो। त्यसपछि पाइलाको प्रोजेक्ट त्रिभुवन विश्वविद्यालयको बिपी कोइराला मेमोरियल विज्ञान संग्रहालयमा रोबोटका लागि भयो। ०७६ सालदेखि संग्रहालयमा एक 'ह्युमोनोइड रोबोट'ले विद्यार्थीलाई 'गाइड' गरिरहेको छ।
रविनले भने, 'संग्रहालय व्यवस्थापन समितिअनुसार अमेरिका र जापानबाट मगाएका सामानभन्दा पाइलाको रोबोटले निकै राम्रो सेवा पुर्याउँदैछ।'
योबाहेक पाइलाले 'च्याट बट' पनि बनाउँछ। विशेषगरी बैंकिङ क्षेत्रमा यसले ठूलो भूमिका खेल्ने उनी बताउँछन्। ग्राहकको सेवामा खट्ने यी च्याट बटले एकै खाले प्रश्नका उत्तर दिन सहज हुने बैंकहरूको अनुभव भएको रविनले सुनाए। हाल एभरेस्ट बैंकमा पनि रहेको यो प्रविधि ग्लोबल आइएमई बैंकले पनि राख्ने तरखर गरिरहेको उनले बताए।
यसरी विभिन्न क्षेत्रमा पाइलाले बनाएका रोबोटबारे जानकारी पाएपछि पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा उड्ययन मन्त्रालयको प्रस्तावमा पाइला टेक्नोलोजीले विमानस्थलका 'पर्यटन परी' बनाएको हो।
रविनका अनुसार 'पर्यटन परी' ले सम्बोधनका साथै विभिन्न धार्मिक, पर्यटकीय स्थल, भिसा प्रक्रिया र एयरपोर्टसम्बन्धी जानकारी दिन्छ। बोलेर वा स्क्रिनमार्फत् जानकारी दिने 'पर्यटन परी' मा अंग्रेजी, नेपाली र चिनियाँ भाषा छ।
उनले भने, 'पर्यटन परीमा सीमित विशेषता छन्। यो हिँडडुल गर्दैन। संवेदनशील स्थानमा भएकाले यिनमा सीमित डाटा र जानकारी राखिएको छ। क्षमता भने निकै छ।'
रोबोटको लगानी यसको सफ्टवेयरमा भर पर्छ। प्रायः व्यावसायिक क्षेत्रका लागि बनाइएका 'परी'को मूल्य पाँच लाखदेखि बीस लाखसम्म हुने पाइलाका उत्पादक प्रमुख सागरले जानकारी दिए।
उनका अनुसार यसको औसत तौल तीसदेखि पचास केजीसम्म हुन्छ। उचाइ भने पाँच फिट एक इन्च छ।
अहिले पाइलामा राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय स्तरबाट बढी प्रस्ताव आउने रविन बताउँछन्। गत कात्तिकमा अमेरिका, टेक्सासको एक होटलका लागि दुई वेटर रोबोट पाइलाले पठाएको छ। विश्वमा कयौं ठूला प्रविधिक कम्पनी हुँदा जम्मा तीनवर्षे कम्पनीलाई भरोसा गरेकामा पाइला टोली खुसी छ।
भारतबाट पनि यस्ता रोबोटको प्रस्ताव भइरहेको रविनले बताए। रोबोट बनाउन केही आधारभूत सामान चीन र भियतनामबाट आयात गरिन्छ भने बाहिरी भागका लागि चाहिने रसायन भारतबाट ल्याइन्छ।
'गिटी, बालुवा, सिमेन्ट लगायत सामान जम्मा भएपछि घर बनाउन सुरू हुन्छ। त्यस्तै सबै सामान जोहो गर्छौं अनि काम सुरू,' रविनले भने, '८० प्रतिशत सामान नेपालबाटै जुटाउँछौ। काम पनि पाइलामै हुन्छ।'
रविनका अनुसार हाल पाइलाको टोली फैलिएको छ। करिब ४२ सदस्य रहेको पाइला भिन्न–भिन्न क्षेत्र पुगिसकेको छ। उनीहरूमध्ये कोही हार्डवेयर हेर्छन् भने कोही रोबोटका प्रोग्रामिङ। कोही आर्थिक पक्षमा ध्यान पुर्याउँछन्। साझेदारी र सहमतिमा काम भइरहेको छ।
वासिम र निरज भने हाल अमेरिकामा पढ्दैछन्। बाहिर भए पनि उनीहरूले सहयोग पुर्याइरहेको रविनले बताए।
सीमित लगानी भएकाले पाइलासँग हाल 'डेमो रोबोट' छैन। नेपालबाटै प्रस्ताव आए नौलो रेस्टुरेन्टका 'जिन्जर' र 'फेरी' को उदाहरण दिन्छन्।
गैर–सरकारी र सरकारी दुवै क्षेत्रबाट प्रस्ताव आइरहेकामा अहिले चौधरी ग्रुप, नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकसँग समेत काम गर्ने तयारीमा रहेको रविनले जानकारी दिए।
काम सिलसिलामा कतिपय ठाउँ चुनौती हुने अनुभव सुनाउँदै उनले भने, 'रोबोट भन्दैमा सबै काम यसैले गर्छ भन्ने हुँदैन। यहाँ यो बुझाउन गाह्रो छ। आइरन म्यान, रजनीकान्त फिल्मका जस्ता रोबोट वास्तविकतामा हुँदैन।'
नेपालको प्रविधिलाई विश्वभर बजार दिलाउने लक्ष्य 'पाइला टेक्नोलोजी' को छ। यसनिम्ति नेपालमै बजार पाउनसक्ने हुनुपर्ने उनीहरूको धारणा छ।पाइलाले अब पाँचतारे होटलमा रूम सर्भिसका निम्ति पनि रोबोट बनाउने सोचेको छ।
'प्रविधि भनेको मान्छेलाई सहज बनाउन विकास गरिने हो। मेसिन हुँदैमा बेरोजगारीतर्फ धकेल्छ भन्ने होइन,' रविनले थपे, 'विकासमा प्रविधिले निकै ठूलो भूमिका खेल्छ। भएका मान्छेलाई दक्ष बनाएर प्रविधि आत्मसात् गर्ने हो। तर हाम्रोमा रोबोटले कामदारलाई बेरोजगार बनाउँछ भन्ने बुझाइ छ, जुन गलत हो।'
प्रविधिसँगै नेपाली संस्कृति पनि दर्शाउने सोचले उनीहरूले 'परी' रोबोटलाई नेपाली भेषमा उभ्याएका छन्। यसले यी रोबोट नेपाली प्रविधि हुन् भन्ने पनि बुझाउने रविन बताउँछन्।