गुल्मी तम्घासकी १९ वर्षीया सम्झना नेपाली त्यो बेला ७ कक्षामा पढ्थिन्। उनका बुवा चन्द्रबहादुर नेपाली घरमै रहेको पसलमा जुत्ता सिउने/बनाउने काम गर्थे।
चन्द्रबहादुर जुत्ता सिइरहँदा छेउमा टुसुक्क बसेर सम्झना बुवाले गरेको काम हेर्थिन्। उनका साथीहरू स्कुल छुट्टी भएर खेल्न जान्थे, उनी बुवालाई जुत्ता ओसारपसार गर्न सघाउँथिन्।
बुवालाई सानोतिनो काम सघाउँदा-सघाउँदै उनलाई पनि बुवाले गरेको काम सिक्न मन लाग्यो। एकदिन उनले बुवालाई आफूलाई पनि जुत्ता सिउने काम सिकाइदिन आग्रह गरिन्। सुरूमा त बुवाले पढ्नुपर्छ भन्दै काम सिक्न दिएनन्। तर उनले अड्डी कसिन्। छोरीले अड्डी कसेपछि बुवाले जुत्ता सिउने काम सिकाउन थाले।
उनले काम सिक्ने रहर त गरेकी थिइन् तर काम गर्न रहर गरेजस्तो सजिलो भएन। बलिया छालाका जुत्तामा सियो धागो छिराउँदा उनका कलिला हत्केलामा फोकाहरू उठे।
‘जुत्ता सिउन सिक्ने भनेर जिद्दी त गरें तर सुरूमा निकै गाह्रो भयो। हातमा फोका उठे। पछि अलिक जानेपछि मात्र सजिलो भयो,’ सम्झनाले पुराना दिन सम्झिइन्।
छोरीका कलिला हत्केलाभरि फोका देख्दा बुवा चन्द्रबहादुरको मन बिझाउँथ्यो। उनी छोरीलाई बेलाबेला यस्तो काम नगर्न भनेर फकाउन खोज्थे। तर छोरीको ढिपीका अगाडि उनको केही जोर चल्थेन।
सम्झनाकी आमा जमुनालाई पनि जुत्ता सिउन आउँथ्यो तर सम्झना बुवासँग नजिक थिइन्। त्यसैले फुर्सद हुनसाथ उनी काम सिक्न बुवासँग बसिहाल्थिन्। नभन्दै सम्झनाले यो काम छिट्टै जानिन्।
आफूले काम जानेपछि बुवालाई पनि सजिलो भएको उल्लेख गर्दै सम्झनाले भनिन्, ‘मैले काम जानेपछि बुवालाई नयाँ जुत्ता बनाउन समय मिल्यो। मैले पुराना जुत्ता-चप्पल सिउँथेँ। त्यति मात्र होइन, बुवा कामले कतै बाहिर जानुभयो भने पसल बन्द गर्नुपर्दैनथ्यो। सबै काम म गर्न सक्थें।’
सानैबाट जुत्ता सिउने काम सुरू गरेकी सम्झनाले पढाइ पनि बिगारिनन्। सात कक्षाबाट काम सुरू गरेकी उनले तम्घासकै श्री सिद्धबाबा माध्यमिक विद्यालयबाट प्लस टु पास गरिन्। अहिले स्नातक पहिलो वर्षमा पढिरहेकी उनी फुर्सदमा जुत्ता पसलको काम सम्हाल्छिन्।
अहिले उनीहरूको उप्पलो तम्घास र भीमचोक गरी दुई ठाउँमा पसल छ। सम्झना समय मिलाएर दुवै ठाउँकै पसलमा सघाउँछिन्।
‘अहिले स्नातक पहिलो वर्षमा पढिरहेकी छु। बिहान कलेज जान्छु र त्यसपछि आएर पसल हेर्छु। फेरि दिउँसो कम्प्युटर क्लास सिकेर फर्केपछि पनि पसल नै हेर्छु,’ उनले भनिन्।
अहिले सम्झनाले बुवाआमाबाट राम्रो साथ र हौसला पाएकी छन्। त्यतिमात्र होइन, उनले यो काम गर्दा परिवारमा आर्थिक सहयोग पनि पुगेको छ।
‘बाबा-ममीले जुनसुकै काम सिक्नुपर्छ, काम सिकियो भने भोलि जहाँ गए पनि ठक्कर खानु पर्दैन भन्नुहुन्छ,’ उनले भनिन्।
जुत्ता सिउन जानेपछि आफूलाई छुट्टै आँट र साहस आएको उनी बताउँछिन्। आफूले काम गरेको देखेर धेरै जनाले प्रशंसा गरेको उल्लेख गर्दै त्यसले आगामी दिनमा थप राम्रो गर्न हौसला प्रदान गर्ने सम्झनाले बताइन्। केहीले भने यो कामलाई अझै सानो कामको रूपमा हेर्ने हुँदा कहिलेकाहीँ दुःख लाग्ने उनी बताउँछिन्।
‘यो कामलाई कतिपयले सानो कामको रूपमा हेर्नुहुन्छ तर पनि मलाई लाज लाग्दैन,’ उनले भनिन, ‘अहिले पनि दिनदिनै गाउँबाट पुरानो-गन्हाउने जुत्ता-चप्पल सिलाउन ल्याउनुहुन्छ, म लाज नमानी सबै काम गर्छु।’
यही क्षेत्रमा केही गर्ने मन हुँदा यसलाई एउटा कर्मको रूपमा हेरेको सम्झनाले बताइन्। अहिले जुत्ता सिउन र काट्न मात्र जानेकी सम्झनालाई बटम गराउने तरिका पनि जान्न मन छ।
उनका अनुसार जुत्तालाई निश्चित आकार वा ढाँचा दिने कामलाई बटम गराउने भनिन्छ। जुन काम जान्न निकै समय लाग्छ।
‘सिउने, काट्ने काम सबै मज्जाले आउँछ तर बटम गराउने काम आउँदैन। अब यो पनि सिक्न मन छ। र यो सबै जानेपछि पछि यही क्षेत्रमा व्यवसाय गर्न मन छ,’ उनले भविष्यको योजना पनि सुनाइन्।