नेपाली कांग्रेसका दुई उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकामा सबभन्दा तल्लो तीन स्थानमा सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह छन्।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले ५८९ मत ल्याएका छन् भने प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी कोइरालाले ६४४ मत ल्याएकी छन्।
विमलेन्द्र निधि पक्षबाट उम्मेदवार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा सबभन्दा पछाडि छन्। उनले जम्मा १३२ मत पाएकी छन्।
सुजाताले आफ्नै परिवारबाट शेखर सभापति उठ्दा उनलाई सहयोग नगरी प्रकाशमान सिंहको टिममा गएर उपसभापति उठेकी थिइन्। उनले सभापतिमा प्रकाशमान सिंहले ल्याएकोभन्दा बढी मत ल्याएकी छन्।
कोइराला केन्द्रीय सदस्य हुँदै सांसद छिन्। उनी प्रकाशमान सिंह देउवा समूहमा मिसिँदा भोट माग्न भने गएकी थिइनन्।
आचार्यले कांग्रेसको वैचारिक आन्दोलन धरापमा परेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी २०७४ को निर्वाचनमा पराजित भएका थिए। त्यसयता उनी राजनीतिमा कम सक्रिय थिए। उनी १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।