नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिको मतगणना अन्तिम चरणमा पुगेको छ।
निर्वाचन समितिले भर्खरै ४२५८ मतको नतिजा सार्वजनिक गरेको छ। जसअनुसार उपसभापतिमा पूर्णबहादुर खड्काले आफ्नो अग्रता कायमै राखेका छन्। उनले १८६५ मत ल्याएका छन्।
दोस्रो स्थानमा फेरि धनराज गुरूङ नै फर्किएका छन्। उनले विजय गच्छदारलाई ४ मतले पछाडि पारेका छन्।
पछिल्लो नतिजाअनुसार गुरूङले १६९३ मत ल्याएका छन् भने गच्छदारले १६८९ मत ल्याएका छन्। त्यस्तै, चन्द्र भण्डारी १४३२ मत ल्याएर चौथो स्थानमा छन्।
निर्वाचन समितिका अनुसार अब अन्तिम ड्रममा रहेका करिब ४०० मत गन्न बाँकी छ। यसबीच मतगणना क्रममा विवाद उत्पन्न भएर केही बेर रोकिएको थियो। यसले अन्तिम ड्रमको मत गन्न धेरै समय लागेको समितिका एक सदस्यले जानकारी दिए।
कांग्रेस विधानअनुसार सबभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्।
गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा धेरै पछाडि छन्।