नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको हो।
अहिलेसम्म १३ सय मत गणना भएकोमा महेश आचार्य र सुजाता कोइराला निकै पछाडि छन्। उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले १३ सय मत गन्दा १२३ मत ल्याएका छन् भने प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी कोइरालाले १३८ मत ल्याएकी छन्।
विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह पनि प्रतिस्पर्धामा धेरै पछाडि छन्। उनले जम्मा ३५ मत पाएकी छन्।
अहिलेसम्मको गणनामा सबभन्दा बढी मत धनराज गुरूङले ल्याएका छन्। गुरूङले ५४३ मत ल्याएका छन्।
अर्का उम्मेदवार पूर्णबहादुर खड्काले गुरुङलाई पछ्याइरहेका छन्। उनले ५०१ मत ल्याएका छन्।
यता, चन्द्र भण्डारी र विजयकुमार गच्छदारको पनि प्रतिस्पर्धा चलिरहेको छ। भण्डारीले ४७२ र गच्छदारले ४५४ मत ल्याएका छन्।
गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।