नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचनको जीत र हार महत्वपूर्ण नभई व्यक्तिको चरित्र पहिचान महत्वपूर्ण भएको बताएका छन्।
बुधबार प्रज्ञा प्रतिष्ठानमा भएको शेखर कोइराला समूहको पत्रकार सम्मेलनमा महामन्त्रीका उम्मेदवार रिजालले भने, ‘निर्वाचनको जीत र हार महत्वपूर्ण होइन, कांग्रेसको अनुहार कस्तो देखिन्छ त्यो महत्वपूर्ण हो। यो महाधिवेशनको क्रममा एउटा कुरा पक्कै भएको छ। अंग्रेजीमा एउटा भनाइ छ दु:ख र समस्याका बेला चरित्र पहिचान हुन्छ। सुन र पित्तल छुट्टिएको छ तातोमा।’
कतिपय साथीहरूले निराशाको कुरा गरेको भन्दै निराश नहुन उनले आग्रह गरे।
उनले भने, ‘कांग्रेसलाई ठिक बाटोका हिँड्ने कांग्रेस बनाइछाड्छौं।’
शेखर कोइराला सभापतिमा निर्वाचित नभए पनि कांग्रेसको अभियानलाई टुंगोमा पुर्याउने जिम्मेवारी दिइएको उनले बताए।
महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई फेरि पुनजार्गरण गर्ने जिम्मेवारी शेखर कोइरालालाई दिइएको बताए।
'हामी संख्यामा भाग खोज्दैनौं। विचारमा प्रतिनिधित्व हुन जरूरी छ’, उनले भने।