नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना अब अन्तिम चरणतिर पुगेको छ।
निर्वाचन समितिका अनुसार ३८१९ मत गन्दा शेरबहादुर देउवाले २२८८ मत ल्याएका छन् भने सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाको १५०१ मत आएको छ। अहिलेसम्म जम्मा ३० मत बदर भएका छन्।
प्राप्त नतिजाअनुसार देउवा ७८७ मतले अग्रता लिँदै विजय नजिक पुगेका छन्। अब करिब ७०० मत गन्न बाँकी छ।
सभापतिमा दोस्रो चरणको निर्वाचन भएको थियो। उक्त निर्वाचनको मतगणना मंगलबार राति साढे ११ बजेबाट मतगणना सुरू भएको थियो।
पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि मंगलबार दोस्रो चरणको निर्वाचन गरिएको थियो।
दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। यो पहिलो चरणको निर्वाचनमा खसेको मतभन्दा ११९ ले कम हो। पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो भने ७६ मत बदर भएको थियो।
पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच जना उम्मेदवारमध्ये देउवाले २२५८ मत ल्याएका थिए। कोइरालाले १७०३ मत ल्याएर दोस्रो भएका थिए। अन्य उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत ल्याएका थिए।