नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना अब अन्तिम चरणतिर पुगेको छ।
निर्वाचन समितिका अनुसार ३५६४ मत गन्दा शेरबहादुर देउवाले २११८ मत ल्याएका छन् भने सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाको १४१९ मत आएको छ। अब जम्मा हजार मत गन्न बाँकी छ।
प्राप्त नतिजाअनुसार देउवा फराकिलो मतान्तरले अगाडि छन्।
सभापतिमा दोस्रो चरणको निर्वाचन भएको थियो। उक्त निर्वाचनको मतगणना मंगलबार राति साढे ११ बजेबाट मतगणना सुरू भएको थियो।
पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि मंगलबार दोस्रो चरणको निर्वाचन गरिएको थियो।
दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। यो पहिलो चरणको निर्वाचनमा खसेको मतभन्दा ११९ ले कम हो। पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो भने ७६ मत बदर भएको थियो।
पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच जना उम्मेदवारमध्ये देउवाले २२५८ मत ल्याएका थिए। कोइरालाले १७०३ मत ल्याएर दोस्रो भएका थिए। अन्य उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत ल्याएका थिए।