नेपाली कांग्रेस कास्कीको अधिवेशनका लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ।
जिल्ला सभापतिका लागि ५ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता आरसी विमल पौडेलले जानकारी दिए ।
उनकाअनुसार सभापति पदका लागि आइबहादुर गुरुङ, सुदीपमोहन भट्टराई, किशोरदत्त बराल, पोषनाथ शर्मा र गिरीराज गौतमले उम्मेदवारी दिएका हुन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बाहुल्यता रहेको कास्कीमा सभापति पदका लागि सभापति शेरबहादुर देउवा पक्षले एउटै प्यानल बनाएको छ भने पौडेल पक्षका मात्र ४ वटा प्लानल बनेका छन्। पौडेल पक्षका नेताहरुवीच सहमति हुन नसकेपछि चारवटा प्यानल बन्न पुगेको जनाएको छ।
देउवा पक्षीय सभापतिका उम्मेदवार किशोरदत्त बरालको प्यानलबाट उपसभापतिमा हरिप्रसाद शर्मा लामिछाने र लेखबहादुर गुरुङ, सचिवमा भरतप्रसाद तिवारी र अमृतकुमार श्रेष्ठ, सहसचिवमा विकास थापा र कृष्णमान ठुसाजु उम्मेदवार बनेका छन्।
सभापतिमा उम्मेदवारी दिएपछि देउवा पक्षका उम्मेदवार बरालले पत्रकार भेटघाटमार्फत कांग्रेसको रुपान्तरणका लागि आफूले उम्मेदवारी दिएको बताए।
नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष रहेका बरालले ‘नेपाली कांग्रेस रुपान्तरणका सुत्रहरु भाग–१’ पुस्तकका लेखक हुन्। आफूले पुस्तकमा लेखेका एजेण्डा व्यवहारमा उतार्न सभापतिको उम्मेदवार बनेको बताए।
कांग्रेसका पूर्णकालीन कार्यकर्ता उत्पादनमा लाग्नुपर्ने भन्दै उनले अब उद्यमशील कार्यकर्ताको अवधारणा ल्याउनुपर्ने बताए। अहिलेको विकासको मोडालिटी परिवर्तन गर्नुपर्ने भन्दै उनले कांग्रेसलाई जनतासँग जोड्न आवश्यक रहेको बताए। यसका लागि आफूले समूह बनाएर उम्मेदवारी दिएको उनको भनाइ छ।
‘मेरो योजना पूरा गर्न साथीहरुको साथ चाहिन्छ, त्यही भएर हामीले समुह बनाएर उम्मेदवारी दिएका हौं,’ उनले भने, ‘गुटगत राजनीति गर्न समुह बनाएको होइन।’