नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा नेता देवराज चालिसेले उम्मेदवारी घोषणा गरेका छन्।
कास्की-२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि चालिसेले प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्।
कास्की कांग्रेसका बौद्धिक नेताको छवि बनाएका चालिसेले नेता-कार्यकर्तालाई उपस्थित गराएर उम्मेदवारी घोषणा गरेका थिए।
२०४९ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जितेका चालिसे २०७४ सालमा कास्की-२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए। त्यतिबेला उनी एमाले नेता रवीन्द्र अधिकारीसँग पराजित भएका थिए।
देश संघीय व्यवस्थामा गएपछि कांग्रेसले पहिलो पटक १४ औं महाधिवेशनमार्फत् प्रदेश समिति बनाउँदैछ। कांग्रेसको अहिलेको नेतृत्वबाट परिवर्तन सम्भव नभएकाले आफूले उम्मेदवारी दिनुपरेको चालिसेले बताए।
‘पार्टी निजी संगठन हैन, योग्यता र सम्भावनाको संगठन बन्नुपर्छ’, उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘मौजुदा नेतृत्वबाट पार्टीमा परिवर्तन सम्भव छैन भनेर नै मैले उम्मेदवारी प्रस्तुत गरेको हुँ।’
पार्टीभित्रका परिवर्तनका पक्षधरले आफूलाई सघाउने समेत उनले विश्वास लिएका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता चालिसेले प्रदेश अधिवेशनसम्म आफ्नो प्यानलसहित उम्मेदवारी रहने बताए।
उनको समूहलाई पौडेल पक्षले समर्थन जनाउने वा नजनाउने स्पष्ट भएको छैन। पौडेल पक्षमा धेरै जना प्रदेश सभापतिका आकांक्षी भए पनि सहमतिका नाममा आफू पछाडि नहट्ने चालिसेले बताए।
‘यो कसैलाई उछिन्नको लागि गरिएको घोषणा हैन’,उनले भने, ‘यो आत्मविश्वासको घोषणा हो र जिल्लाका साथीहरूको समर्थनका आधारमा गरिएको हो।’
२०७४ सालको संसदीय निर्वाचन लड्न त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट राजीनामा दिएका चालिसे कास्कीमा लोकप्रिय छन्।
पार्टीको महाधिवेशनका क्रममा चालिसेविरूद्ध जिल्लामा पौडेल पक्षकै नेताहरूले गुटबन्दी गरेको उनले आरोप लगाए।
आफ्नाविरूद्ध कास्कीका अधिकांश नेताहरू लागिपर्दा समेत आफूलाई कार्यकर्ताले विश्वास जनाएको उनको दाबी छ।
‘कास्कीको अधिवेशनमा मेरो विपक्षमा ठूलो गठबन्धन भयो’, चालिसेले भने, ‘तर हामीले बहुमतको संख्या जितेका छौं, मलाई विरोध गर्दा पीडा हुँदैन, इग्नोर (नजरअन्दाज) गरियो भने पीडा हुन्छ।’