दसैंको रमझम चलेको छ। जताततै महान चाड बडादसैंको शुभकामनाको लहर छ। हरेक घर रङले सजिएका छन्। सबैको मुहारमा छुट्टै चमक छाएको छ।
हरिलालको घरमा पनि दसैं भित्रिएको छ। हरिलालको परिवारमा उनकी आमा, श्रीमती र एक छोरी छन्।
दसैं आएपछि सबैको काम बढेको छ। छोरी नयाँ लुगा लगाउन पाइने भएर खुसी छिन्। हरिलाल आफ्ना परिवारजनको माग पूरा गरिदिएका छन्।
उनकी श्रीमती राधा सधैंजस्तो खुसी देखिएकी छैनन्। उनलाई आफ्नै किसिमको धमाधम छ। भ्याइनभ्याइ छ।
फूलपातीको दिनदेखि नै हरिलाल आफ्ना साथीहरूलाई घरमा भेला पारेर तास खेल्न थालेका छन्। राधा बिहानैदेखि भान्साकोठामा छिन्। बेलाबेला हरिलाल राधालाई बोलाउँछन् र कुनै परिकार बनाउने आदेश दिन्छन्। कुनै बेला खाजा चहियो भन्छन् त कुनै बेला चिया खोज्न्छन्।
राधा आफ्नो भोकतिर्खा भन्न पाउँदिनन्। श्रीमान र उनका साथीहरूलाई फर्माइस पूरा गर्दागर्दै खाने समय पाउन पनि धौधौ हुन्छ। सासूआमा निकै पाको उमेरकी छन्, उनको पनि ख्याल राख्नुपर्छ। ठिक समयमा खानापानी दिनुपर्छ।
राधा पनि पहिलाको जस्तो काम गर्न सक्दिनन्। उमेर बित्दै जाँदा उनको शरीर कमजोर हुँदै गएको छ। चाडवाड भन्नुमात्रै, बिहानदेखि रातिसम्म खट्नुपर्छ। घरभित्रको सुसेधन्धाले शरीर थकित हुन्छ तर टुसुक्क बस्ने फुर्सद पनि मिल्दैन।
दिनभरिको काम र थकानले राधाको टाउको दुख्छ। दिमाग खलबलिएला जस्तो हुन्छ तर भान्साकोठामा यसरी एक्लै खटेर दिनभरि काम गर्न सक्दिनँ भन्ने हिम्मत पनि छैन।
महिला हुन्, घरका जहानले चाहेको परिकार बनाएर खुवाउनु आफ्नो कर्तव्य सम्झन्छिन्। आफ्नो थकान, स्वास्थ्य र रहर बेवास्ता गर्छिन्।
राधालाई पनि कसैले आफ्नो हालखबर सोधिदियोस्, के खाइस् भनिदियोस्, सानोतिनो भए पनि काम सघाओस् जस्तो नलाग्ने होइन। सुखदुःखको कुरा मन भन्न नलाग्ने पनि होइन तर उनलाई यस्तो सुविधा कहाँ हुनु!
उनको मनको पीडा बुझिदिने र उनको आवश्यकता पूरा गर्न चासो राख्ने कोही पनि छैन।
जिन्दगीको दुःखसुखमा साथ दिने भनिएका श्रीमान दसैंभरि तास खेल्नमा मग्न हुन्छन्। दिनभर साथीहरूसँग हँसिमाजक गर्छन्। राति श्रीमतीभन्दा बढी उनी पो थकितजस्ता देखिन्छन्। श्रीमतीको दिन कस्तो भयो, के खाई, थाकेर भुतुक्क पो भई कि! हरिलाल यस्तो खोजी गर्न समेत बेफुर्सद जस्ता देखिन्छन्।
राधाको जीवनमा हरेक वर्ष आउने दसैं यस्तै हुन्छ तर यसपालि अलिक बढी फरक परेको छ – उनले पोहोर जस्तो फटाफट काम गर्न सकिनन्। शरीरमा निकै नातागत अनुभव गरिन्।
उनी आफ्ना श्रीमान हरिलाललाई आफ्नो यस्तो शारीरिक लक्षणबारे भन्न चाहन्छिन् तर भन्न सकेकी छैनन्। घरभित्रको काम गर्ने त मैले नै हो भन्ने लाग्छ। उहिल्यैदेखिको चलन हो, घरभित्रको काम त महिलाले नै गर्नुपर्छ।
उनी ठान्छिन् – समाज नै यस्तै छ, मेरो मात्र के लाग्छ र!
राधालाई उहिल्यैदेखिको त्यही चलनको बोझले थिच्छ। उनी मनको कुरा बोल्न सक्दिनन्।
उनका श्रीमान हरिलालले श्रीमतीको मनमा के पाकेको होला भन्ने कहिल्यै सोचेका छैनन्। आखिर उनी पनि उहिल्यैदेखिको चलनका प्रतिनिधि न हुन्!
घरभित्रको काम कहिल्यै पनि काममा गनिएन। भोग्नेलाई न थाहा हुने हो घरभित्रको काम के हो! हरिलालले राधाको मनको पीडा कहिल्यै देखेनन्। यसपालिको दसैंमा पनि देखेनन्।
हरिलालका लागि राधाको खुसी भन्नु तासको खालमा चाहिएको परिकार पुर्याउनु हो। हरिलालका दृष्टिमा यो उति ठूलो काम होइन। उनले घरमा सबै चिजबिज जुटाइदिएकै छन्, राधाले पकाएर खान दिनु त हो!
हरिलालले ठानेको सानो काम राधाका लागि हरेक दसैंमा अन्त्यहीन प्रक्रिया हो। वर्षौंदेखि यही चल्दैछ र अझै चल्दै जानेछ।
उनलाई हरेक वर्ष सित्तैमा यस्तै जिम्मेवारी आइपर्छ, टार्नै नसक्ने गरी। मनले मानेर होस् कि नमानेर, शरीरले धानेर होस् कि नधानेर, उनी स्वीकार गर्छिन्। स्वीकार नगर्ने विकल्प छैन। उनको भावनाको मूल्य छैन। मूल्यहीन छ उनको भावना।
आजको खाल उठ्यो। हारजितको हिसाब पनि सकियो। हरिलालका एकजना साथीले भने– भाउजू, आज साह्रै मिठोमिठो खुवाउनुभयो, भोलि पनि यहीँ बस्ने हो!
राधा फिस्स हाँसिन् तर अवाक।