प्रिय मान्छे! म नदी हुँ र यो मेरो कथा हो, मेरो व्यथा हो।
खै कुन्नि मान्छेले मलाई कहिलेदेखि नदीको नामले बोलाए! कहिले र कसले मेरो न्वारान गर्यो र नदी भन्ने नामसहित जन्मदर्ता गरिदियो, त्यो तिमी मान्छेलाई नै थाहा होला। म फगत बगिरहने निर्जीव पानीको सोलोडोलोले के जानूँ? कस्तो सुनिन्थ्यो होला है, मलाई मान्छे र तिमीलाई नदी भनेर नामकरण गरेको भए?
केही दिनअघि माथि आकाशबाट मेरा पुर्खाहरू दर्केर झरे र मसँगै बगे। सानो म, मेरा पुर्खाको साथ पाएपछि अलि ठुलै भएँ अनि तिमीलाई म कतिसम्म ठुलो हुन सक्छु भन्ने देखाउँदै बगिरहेँ। म बग्दै गर्दा कति तिमी मान्छेहरूलाई पनि लिएर बगेछु, कति तिम्रा घरहरू लिएर बगेछु, राजमार्ग र हिलेमार्गबाट चिप्लेर खसेका गाडीलाई लिएर बगेछु, पहाडका ढिस्कानै खसेर मसँग बग्न थाले।
म कसरी नाइँ भनूँ, आफूसँग प्रीत गाँस्न आएका ती सबैलाई? नाइँ भन्न नै नजानेको म, मैलाई कति गाली गर्यौ तिमीले भन्ने पनि सुनेँ। तर सुन्न बाहेक के नै पो गर्न सक्छु र? मलाई र मेरा पुर्खालाई पनि पुर्ख्यौली डहरमा हिँड्न खुबै रहर थियो र त त्यो रहर पूरा गरेँ। माफ गर, मैले मेरा पुर्खाका रहर पूरा गरिरहँदा कति तिम्रा आफन्तहरूलाई छुटाएँ। त्यो मेरो रहर थिएन प्रिय मान्छे।
कुनै जमाना थियो, म बडो मज्जाले बग्थेँ– आफ्नै तालमा, आफ्नै लयमा, पूरै आनन्दसित। शरद र हिउँदमा म कति राम्री बनेर बग्थेँ। नीलो आकाशमुनि नीलो पानी। आँखा चिम्म गरेर कल्पना गर त त्यो बेलाको मेरो सुन्दरता। सुनकै दरको सुन्दरता थियो मसँग। मेरो डहरको दायाँबायाँ फुल्ने फूलको वासना मिसिन्थ्यो मेरो ज्यानमा, रुखका पातहरू कति मज्जा मानेर तैरिन्थे मेरो ज्यानमा। मेरो पछ्यौरीको सप्कोले बेला बेला ढाक्ने बगरमा बसेर ढुंगाले मलाई जिस्काउँथे, मेरो छालले छोएर बालुवाका दाना पनि मसक्क पर्थे।
माछाको र मेरो क्या पिरती गाँसिन्थ्यो– तिमी मान्छेले लेख्ने उपन्यासमा कोरिएभन्दा प्रेमिल पिरती। माछा देखेर मलाई लाज लाग्थ्यो, मलाई छोएर माछा भुतुक्कै हुन्थे। मेरो ज्यानमाथि नै बसेर राज गरेका ढुंगालाई मैले थप्पड मार्दै बग्दा पनि कति खुसी हुन्थे ती ढुंगाहरू। तिमी मान्छेले बनाएका सिमलका डुंगाहरू, बाँसका चेफाहरू, केराका थामहरूले तिमीहरूलाई मेरो ज्यानको बाटो वारिपारि गराउँदा पनि म आनन्द मान्थेँ। मज्जा लाग्थ्यो मलाई। लाग्थ्यो– ती डुंगा, चेफा र थाममा चढेका तिम्रा हातहरूले मेरो पानी खेलाइरहे हुन्थ्यो र यो खेल वर्षौँसम्म चलिरहे हुन्थ्यो।
मेरो कोमल छातीमाथि हात चलाउँदै हिँड्ने तिमीहरू अचेल किन यति साह्रो निष्ठुरी हुन सकेको? छोइएला कि मलाई भनेर मेरो ज्यानमाथि लामा लामा झोलुङ्गा बनायौ र मलाई नछोई हिँड्न थाल्यौ। म वर्षौँदेखि तिमी मान्छेका हत्केलाको स्पर्श नपाएर कति दुःखी छु। कहिले देख्यौ र मेरो त्यो आशाको लहरो? कहिले सोच्यौ र मेरो त्यो अभिलाषा?
मेरा साथीहरू छन्, पूर्वको लालीखर्कबाट पश्चिमको लिपुलेकसम्मै। कति साथीहरू माथि हिमालतिर जन्मेर बगेका छन् त कति साथीहरू पहाडमा। रिम्पोचेको जस्तो थरीथरी अवतार लिएका मेरा साथीहरू जता बगे पनि हाम्रा कथा उस्तै हुन, हाम्रा व्यथा उस्तै हुन। तिमी मान्छेका पो थरीथरीका छन् सपनाहरू, रहरहरू, दुःखहरू पनि। हामी नदीका त उस्तै हुन्, सक्छौ भने आऊ कुनै साँझ मेरो किनारामा बसेर दुःखका पोकाहरू खोलम्ला।
आजलाई भने म एउटा पत्र लेख्छु। त्यही पत्रमा मेरो कथा लेख्छु। विश्वास मान, मेरो कथा हामी सबै नदीहरूको साझा कथा हो।
***
प्रिय काठमाडौँ, प्रिय काठमाडौँका मेरा मान्छे साथीहरू।
सबैभन्दा पहिले मेरो एउटै अनुरोध छ– मलाई पनि तिम्रो साथी मानिदेऊ। तिम्रा बस्तीमा फूलेका साँझका बत्ती हेरेर लट्ठिँदै बग्न देऊ। मलाई सय वर्ष अघिजस्तै गरी कञ्चन भएर बग्न देऊ, मस्तसित आफ्नो बाटोमा हिँड्न देऊ।
तिमीले नेपाल खाल्डो भन्ने यो काठमाडौँको खास आदिवासी म नै हुँ। मैले भनिसकेँ नि मलाई पनि तिम्रो साथी मानिदेऊ भनेर। तिम्रो साथी भएपछि म पनि आदिवासी हुँ भनेर दाबी गर्न त पाउँछु नि है? म र यो काठमाडौँ खाल्डो वरिपरि जन्मेका नदीहरू उहिल्यैदेखि यहीँ छौँ। तिमीले अनुमान पनि गर्न नसक्ने पुरानो उमेर बाँचेका हामी नदीहरू उहिल्यैदेखि यही माटोको मायामा लट्ठिएर यतै छौँ।
लाख वर्ष यहीँ रमाएका हामीलाई यो ठाउँ छाडेर अन्त जान कुनै मनले मान्दैन। तिमीहरू पो जहाज चढेर हुइँकिन्छौ त पश्चिम जाने आकाशको बाटोमा। मञ्जुश्रीले तलतिरको चोभारको डाँडो काटेर साँघुरो बाटो बनाएपछि बल्ल हामी नदीहरू त्यही बाटोबाट हिँडेका हौँ। त्यो खोँचबाट तराईतिर झरेका हाम्रा पुर्खाहरू सागरसम्म पुगे अनि फेरि फर्किए यतै। कहिले आकाशमा पुगेर बादलको बाटो झरे, कहिले माटोमुनिबाट यतै फर्किए। रिम्पोचेजस्तो पुनर्जन्म लिने हाम्रा पुस्ताहरू पटक पटक हाम्रै कोखमा जन्म लिए– यो माटो छोडेर तिमीहरू जाने पश्चिमतिर जानै मानेनन्। आफ्नै सन्तानको कोखमा जन्म लिइरहे। के थाहा, म पनि मेरै कुन पुर्खाको पुनर्जन्म हुँ?
तिमी जाने पश्चिमको दुनियाँतिर लागेको भए हाम्रा पुर्खाका थोपा थोपा कसरी मस्तसँग बग्न पाउँदा हुन्? आफ्नो नीलो ज्यानको अंग अंग प्रदर्शन गर्दै बजारको बिचबाट कति नाच्दै बग्दा हुन्? कोमल ज्यान बनाएर कति मात्तिँदा हुन्? आफ्नै छातीमाथि चलमलाएका डुंगाको पिठ्यूँ छामेर कम्ता जिस्कँदैन थिए होलान् ती पुर्खाहरू। डुंगा खियाउने नाउलाई काइँयो बनाएर कति कोर्दो हुन आफ्ना लामा केशराशी पनि!
आफ्नै ज्यानमा ऐना हेर्दै उड्ने बकुल्ला र अरू चराहरू देखेर सोच्थे होलान्– कास, बग्न रोकिदिऊँ एक छिन र पिरती गाँसेर बसौँ यतै कतै यी चराहरूसँग। तर हामीलाई यही खाल्डो मन पर्यो, हाम्रा पुर्खालाई यही हिमाली पाखो मन पर्यो। त्यसैले त हाम्रा मनभरि रहर मात्र भरिरहे; मज्जाले बग्न पाउने रहर, माछासँग पिरती गाँस्ने रहर, पश्चिम संसारका नदीले पाएको स्वर्गीय सुखको आभास। रहरका पोकाको गाँठो बेस्सरी कसेर वर्षौँदेखि बगिरह्यौँ।
तिम्रा पुर्खाको बेलामा म र मेरा साथीहरू सुन्दर थियौँ। बैँस थियो हाम्रो ज्यानमा। रुपालु हाम्रा ओठबाट कुलो बनाएर बग्थ्यो जिन्दगीको रस र पुग्थ्यो तिम्रो खेतबारीमा। हाम्रो त्यही रसले फलाएको अन्न खाएर बाँचेको तिम्रो पुर्ख्यौली इतिहास अझै पनि बग्दो हो तिम्रो ज्यानको नशा नशामा। हाम्रै ज्यानमा बगेको रगत आँखा चिम्लेर पिउँथे तिम्रा पुर्खाले।
तिम्रो नशा नशामा बगेको रगतमा पनि हाम्रो त्यो अंश अझै कतै भेटिँदो हो। नपत्याए गएर जाँच तिम्रो सहरको कुनै नामी ल्याबमा। अनि आएर भलाकुसारी गर हामीसँग एक साँझ। तिम्री आमा/हजुरआमा पुस्ताले हाम्रै किनारामा धोएका कपडा लगाएर हिँड्थ्यौ तिमी। हामी कहिले रिसाएनौँ हाम्रै किनारामा आएर तिम्रा बा/हजुरबा पुस्ताले शौच पखाल्दा पनि। जे-जे गरे पनि हामीलाई, जता-जता छोए पनि हाम्रा ज्यानमा हामीलाई कहिले मन दुखेन। आखिर हामीलाई रोक्दैन थिए तिम्रा पुर्खाले हामी बग्ने हाम्रो डहरको बाटोमा।
मेरा केही साथीहरू छन् यो खाल्डोको वरिपरि। साथी मात्र हैन हामी नाताले त दिदी बहिनी नै हौँ। सँगसँगै जन्मेका हामी, आफ्नै बाटो बगेर आउँछौँ र भेटिन्छौँ एक ठाउँ। भलाकुसारी गर्दै हिँड्छौँ ओरालो बाटो र मञ्जुश्रीको तरबारको निसानाबाट तिम्रो सहरलाई बिदाइ गरेर लाग्छौँ मधेसतिर। लगभग पचास वर्ष अघिसम्म हो जस्तो लाग्छ– चोभारबाट ओरालो लाग्ने बेला हामी खुबै रुन्थ्यौँ। यति राम्रो फाँटलाई भेट्न अब फेरि आकाशको बाटो भएर फर्कनुपर्छ भन्ने लाग्थ्यो, माटोमुनिको बाटो भएर फर्कनुपर्छ भन्ने लाग्थ्यो।
कुन साथीको भाग्यमा के लेखेको थियो कसरी देख्नु? कुन साथी आकाशको बाटो फर्कन्छ र कुन माटोमुनिको बाटो भएर के थाहा पाउनु? लाग्थ्यो– मञ्जुश्रीले यो डाँडो नकाटिदिएको भए हामी यहीँ त हुन्थ्यौँ। नाग देवतासँग लुकामारी खेल्दै यतै बिताउन त पाइँदो हो अझै लाखौँ वर्षको हाम्रो आयु? तर त्यसो भएन। अचेल त रहर पनि फेरिन लागेका छन्। हाम्रा डहरमा तिमीले लगाइदिएका पर्खालले कम्ता दुःख दिएको छ हामीलाई? न बग्न पाउँछौँ आफ्नो बाटोमा, न जून बोक्न पाउँछौँ आफ्नो ज्यानमा।
अब त हामीलाई पनि बुढ्यौली लागेछ क्यारे, ज्यान सुक्दै सुक्दै गएको छ। न जोस छ ज्यानमा, न आँट छ आँतमा। अलिअलि बचेखुचेको हाम्रो रूपलाई पनि तिम्रा फोहोरले फुङ्ङ पारेर उडाएको छ, अलिअलि वासनालाई तिम्रा ढलले पूरै फेरिदिएको छ, अलिअलि तागतलाई पनि झापड हानी हानी थला पारेको छ तिम्रो सिमेन्टको जंगलले। अचेल न तिमी आउँछौ हाम्रो छेउछाउमा, न तिम्रा केटाकेटीले सेल्फी खिच्छन् हामीसँग, न आकाशका कुनै चरा आएर चिरबिर चिरबिर गर्दै जिस्काउँछन् हामीलाई।
तिमीसँग लुकी लुकी प्रेमालाप गर्ने माछा पनि अचेल भेटिनै छाडे हाम्रा जीउभरि। आँखाहरूमा रहर छ– हाम्रा ओठबाट कुलो बनाएर लगेको हाम्रै रगतले हराभरा भएका फाँट हेर्ने, तोरी र फापर बारीमा भुनभुन भुनभुन गर्दै गरेका माउरीको स्वर सुन्ने। कस्तो हुँदो हो है– हाम्रा नीला ज्यानमाथि पैताला खेलाउँदै केटाकेटी स्कुल गइदिए? अब ती सबै रहरमै रहने भए।
प्रिय मान्छे! प्रिय काठमाडौँ!
हाम्रा रहरहरूलाई हामीले घाममा सुकाउन थालिसक्यौँ जसरी तिमीहरू बिस्कुन सुकाउँछौ आँगनैभरि।
प्रिय मान्छे! प्रिय काठमाडौँ!
तिमीलाई लाग्दो हो कस्तो निष्ठुरी बनेका यी नदीहरू। किन बगाएर लगेका हाम्रा बासहरू? किन चोरेर लगेका हाम्रा जिन्दगीका आसहरू? यो चिठीमा म एउटा कुरा लेख्छु, विश्वास गर– हामी कहिले हुन सक्छौँ र तिमीप्रति तिमीले सोचेजस्तो निर्दयी? तिमीलाई सिमेन्टको जंगल छाप्न गाह्रो भयो यो खाल्डोमा भनेर हामी त झन् ज्यानकै आकार घटाएर बगेका छौँ। हामीलाई सललल बगेको देख्दा तिमीलाई नमिठो लाग्यो भनेर हामी त झन् ज्यानै लुकाएर बगेका छौँ, तिमीले बनाएका कुलो जत्रो बाटोमा।
हामीले आकाशका घाम, जून र बादलसँग भलाकुसारी गरेको सुनेर तिम्रा कानमा कनसुत्लो पसेजस्तो होला भनेर हामी त अचेल बोल्दा पनि नबोली बगिदिन्छौँ, तिमीलाई यो सहरमा जग्गा नपुगेर निद्रा नलाग्ला भनेर हामी सिमेन्टको बर्को ओढेर सुतिदिन्छौँ। यहाँभन्दा कस्तो बनौँ हामी? यहाँभन्दा के गरौँ हामीले?
एक रात तिमीले ओढाइदिएको सिमेन्टको बर्को ओढेर सुतेकै बेला सपनामा हाम्रा पुर्खाहरू आए र हामीलाई गाली बर्साउन लागे। उनीहरूलाई खुबै पिर परेछ– आफू बगेको बाटोमा अचेल तिमी मान्छेले हामीलाई बग्न नदिएर। आफ्ना सन्तानको माया तिमी मान्छेलाई जस्तै लाग्दो रहेछ हाम्रा पुर्खालाई पनि। रातैभरि सपनामा भलाकुसारी गरे र बिहानीपख आकाश फर्कने बेला भनेर गए– हामीलाई हाम्रो पुरानो डहरको बाटोमा एक पटक बग्न मन छ। हामी झर्छौँ आकाशबाट तिमीहरूको ज्यानैभरि। हामीलाई बोकेर तिमीहरू हिँड तिम्रा पुर्खाको बाटो। आफ्नो पुर्खाको रहर पूरा गर्छौ नि हैन?
यो काठमाडौँका हामी सबै नदीहरूले एउटै रातमा देखेको साझा सपना थियो।
सपना देखेकै साँझ हामी काठमाडौँली नदीहरू चोभार पुग्ने ठाउँनेर एकै छिन भलाकुसारी गर्यौँ। कोही राजी भएनौँ हाम्रा पुर्खाले हामीलाई सपनामा गरेको अनुरोध पूरा गर्न। हामीलाई डर थियो– हामीले हाम्रा पुर्खालाई बोकेर पुर्ख्यौली डहरमा हिँड्दा तिम्रा घरबास बग्छन्, आफन्त बग्छन्। तिमी मान्छेका कारण हाम्रो जिन्दगी सुके पनि हामीले तिमीलाई अप्ठ्यारो पर्ने काम गर्न मानेनौँ। एकै सल्लाह भयो– सपनालाई बिर्सिदिने।
तर त्यसरी बिर्सेर बगिरहन सकिएन। पटक पटक सपनामा झरिरहे पुर्खाहरू। तर्साइरहे हामीलाई। फकाइरहे हामीलाई। तैपनि हाम्रो इन्कार लम्बिइरह्यो। एक रातको सपनामा यसो भनेर फकाए हामीलाई। हामी हो क्यारे भनेर राजी भयौँ उनीहरूका रहर पूरा गर्न।
सपनामा उनीहरूले यसो भने–
पहिले यो नेपाल खाल्डोमा तिम्रा पुर्खाहरूको राज थियो। सबै जमिन हाम्रै थियो। कोही कहिल्यै आएन हाम्रो जग्गामा किन बगेको ए नदीहरू भनेर भन्नलाई। लाखौँ वर्ष हामी र हाम्रा पनि पुर्खाहरू बगिरहे। अविरल बगिरहे। तिम्रा बाको पालामा त हो, मान्छेहरूले हामीलाई सिमाना कोरिदिएको। हाम्रो लाखौँ वर्षको माटोमा हामीलाई नै छेकाबार गरेको रत्ती मन परेन। तैपनि, मान्छेको मायाले हामी खुम्चियौँ र फिँजिएर बग्न छाड्यौँ। हाम्रा ज्यानको माटो मान्छेलाई दियौँ र उनीहरूले जिन्दगी पाले। उनीहरूको खुसी हेरेर हामी गीत गाउँदै बग्थ्यौँ। एक शनिवारको दिन, मान्छे र हाम्रो सम्झौता भयो– उनीहरूले हाम्रो ज्यानको अरू माटो नमाग्ने अनि हामी पनि बहकिएर उनीहरूको खेतबारीमा घुम्न नजाने भन्ने। सम्झौता हामीले पालना गरिरह्यौँ। तर हाम्रो बुढेसकालको बेलामा मान्छेहरूले हाम्रो कमजोरीको फाइदा लिए र ज्यान झनै सुकाउँदै जान लागे। उनीहरू निष्ठुर भए पनि हाम्रो मनमा माया पलाइरह्यो। मान्छेले माया गर्न छाडे पनि हामीलाई उस्तै माया लागिरह्यो। हार्दै गयौँ मायामा। हार्दाहार्दै हाम्रो पुस्ताको मृत्यु भएको हो। मान्छेको मृत्युपछि बागमतीको रस ओठमा राखेर स्वर्ग जाने मान्छेहरू हाम्रो मृत्युमा भने बेखबर जस्तै बने। बरु भित्रभित्रै कतै खुसी पो भए कि? मान्छे मर्दालाई त बागमती थिई, हामी मर्दा हामीलाई के हुनु? हामी आठ बहिनी नदीको सामूहिक मृत्युपछिका तिमी उत्तराधिकारीहरूलाई मिच्दै गरेको हेर्नु बाहेक हामी माथि आकाशको दुनियाँबाट के नै पो गर्न सक्थ्यौँ र? मान्छेहरूले हाम्रा सन्तान तिमीहरूलाई यसरी ज्युँदै मारेको हेर्न नसकेर तिमीहरूको सपनामा झरेका हौँ हामी। मान्छे बिरामी भए त अस्पताल जान्छन्, तिमीहरू यसरी बिरामी पर्दा जाने कहाँ? हो त्यही सन्तानको मायाले झारेको हो हामीलाई तिमीहरूको सपनामा।
चोभारनेर तिमी आठ बहिनीले गरेको सल्लाह हावाले बोकेर हामीसम्म पुर्याएपछि धृतराष्ट्र जस्तै भयौँ– खुसी र दुखी एकसाथ। मान्छेको जीवनप्रति तिमीहरूको चिन्ता देखेर कम्ती खुसी भएनौँ हामी। मनोहरा दिदीको आँखामा कति मिठा फूल फुले, टुकुचा दिदीको ओठको मुस्कानको फोटो खिच्न पाएको भए तिमीहरू बाँचेको दुनियाँमा भाइरल हुन्थ्यो सायद, मनोहरा पनि औधी खुसी नै थिई। तर हाम्रो खिन्नता त्यो बेला भयो– जति बेला विष्णुमतीले हाम्रो त्यो पुरानो डहरको बाटो अचेल मालपोत र नापीका अफिसमा मात्र अटाएको छ, माथि आकाशबाट खै त देख्नै पाइएन भनेर सम्झाउन थाली। उसको कुरा हामी काठमाडौँमा हुँदा पनि नाइँ भन्न सक्थेनौँ र अहिले आकाशमा पनि सक्दैनौँ। त्यसैले तिमीहरूको बुई चढेर हाम्रो पुरानो डहरको बाटो बग्न मन भएको हो हामीलाई।
छोरी, अचेल तिमीहरूले चिन्ता गरेजस्तो समय छैन। हामी पानीका बुँद बनेर कहिले आकाशबाट खस्छौँ भनेर मौसम विभागका कर्मचारीले पहिल्यै भनिदिन्छन्, हामी कुन बाटो भएर कत्रो ज्यान लिएर बग्छौँ भन्ने पनि भनिदिन्छन्। मान्छेहरूका हात–हातमा मोबाइल छ, उनीहरूको घरछेउको बाटो भएर हामी बग्छौँ भन्ने कुरा पहिल्यै थाहा पाउँछन्। सरकार पनि त छ, यी नदीहरू मात्तिए भने मेरा जनता जोगाउँछु भनेर सबै तारतम्य मिलाएर बसेकै छ। त्यसैले कसैलाई केही हुन्न, ढुक्क हुनू। हामी बादलको लडाइँ गराएर आउँछौँ तिमीहरूका ज्यानैभरि र बग्छौँ एक पटक हाम्रो उही पुरानो बाटोभरि। आफ्ना पुर्खालाई नाइँ नभन ल।
हो, सपनामा आएर यसरी फकाएपछि हामीले हल्लाएका हौँ स्वीकारोक्तिको मुन्टो। हामी आठै बहिनीले एक पटक नाप्यौँ हाम्रा पुर्खाले बग्ने गरेको बाटोको कित्ता। बगिरहँदा त्यो पुरानो बाटोमा, के जानौँ मान्छेको अटेरी यति साह्रो बढेको छ अचेल भन्ने? नचाहेरै पनि तैरिएर गए सयौँ जिन्दगीहरू हाम्रा पिठ्यूँमा। हामीलाई पापी नभन्नू, निष्ठुरी नभन्नू। बरु सक्छौ भने हाम्रा पुर्खाको त्यो बाटो डहर नै बनाइदेऊ। के थाहा, फेरि कुन वर्ष हाम्रा पुर्खाहरू हाम्रा सपनामा आउँछन् र बहकाउँछन् हामीलाई यसै गरी?
उही,
नदी।