तालु खुइलिनुअघि
अनुहारमा चाउरी पर्नु पहिल्यै
गाला भित्र घसिनु अगावै
बाउको गोजीको खानतलासी लिने बेला तिरै
उमेरमै खिच्नु रै'छ फोटो।
जागिर खाएपछि घर-अफिसको दौडधुप
तरकारीको झोला र चामलको बोराको तौल
उसै बढी दिने घरभाडा र पेट्रोलको भाउ
श्रीमतीको फर्माइस र छोराको फिस
सबै सबै कोरिने रहेछ- मान्छेको अनुहारमा
उमेरमै खिच्नु रै'छ फोटो।
घडेरीको बैना रकम टिपेर थाइल्यान्ड उड्ने बिचौलिया
सुनको जलपमा गहना देखाएर सक्कली सुन उडाउने ठग
सिद्धान्त र घोषणापत्र यतै छाडेर राजधानीतिर दौडेको माननीय
तपाईं ‘फर्केका छैनन्’ भन्नुहुन्छ
म ऐना हेर्दा सधैँ अनुहारका धर्सामा ती सबै पाउँछु
उमेरमै खिच्नु रै'छ फोटो
उमेरमै फोटो खिचेको भए
आफ्नै फोटो हेरेर आफै दंग पर्नु हुन्थ्यो
कुनै दिन जीवन त्यस्तो फुकाफाल पनि थियो भनेर
आफै मक्ख पर्नु हुन्थ्यो
उमेरमै खिच्नु रै'छ फोटो।