प्रभातसँगै आँगनमा टुप्लुक्क आइपुग्छ
र गुनगुनाउन थाल्दछ उसका भाका चार्रचुर्र
हामी साङ्गणिक संसारमा व्यस्त भई
अखबारका साना अक्षर छिचोल्दा
एकनासले ऊ चहारा चर्दछ बेफिक्री।
गोली, बारुद र क्षेप्यास्त्रले
हाम्रो मथिङ्गल रन्थनिइरहँदा
ऊ आफ्नी प्रेयसीलाई डाक्दछ
चहाराको जोहो भएका तिर
एकअर्कालाई हेरी-हेरी पेट भर्दछन्
तर
हामी शब्दका व्यापारले ऋणमा परी
खाली पेटमा अघाए झैँ हुन्छौँ।
आहारपछि उनीहरू आराम गर्दछन्
कुनै रूखको हाँगामा
हामी हृदय विदारक समाचारले घायल
मन लिएर शान्ति खोज्दै गर्दा।
सबै भएर भोकै छौँ हामी
उनीहरू तृप्त छन् हाम्रै आँगनमा-
हामी भविष्यको चिन्ताले थिचिँदा
उनीहरू वर्तमानको आहारले मुग्ध छन्
स्वतन्त्र भएर नियन्त्रणमा बाँचेका छौँ हामी
उनीहरू प्रकृतिसँग सहजीविततामा।
एउटै संसार-
उनीहरूको गीत बनेर बज्दछ मनभित्र
हाम्रो पीडा बनेर झर्दछन् आँखाबाट
हामी नजिकको बिर्सेर टाढाको खोज्दछौ
उनीहरू टाढालाई बिर्सेर सामीप्यमा मग्न छन्।