घरको माली बाख्रो टारीको टाउके गरामा चरिरहेको थियो। सानो मुने पाठी केही पर चुच्चे गराको ढुंगामा बुर्कुसी मार्दै बसेको थियो। उसको सानी बहिनी पाठी पनि ऊसँग टाउको जुधाउँदै खेलिरहेकी थिई। म भने कुटिल कोसा खोज्दै खाँदै थिएँ।
सबै आफ्नै ध्यानमा थियौँ। त्यत्तिकैमा एउटा आवाज आयो घरको तर्फबाट। म उतै फर्किएँ। भाइले बोलाएको रहेछ। भाइ बोलेको सुनेर माली बाख्री पनि घर तर्फको डाँडोमा फर्केर भर्खरै टिपेको घाँस चपाइरहेकी थिई। मैले घरतिर कान लगाएँ।
भाइले भन्यो, 'माथेर त गाइने दाइ आका छन्। घर आइजा छिटो, अब हाम्रो घर आउने बेला भयो।'
मेरो मन फुरुक्क भएर आयो। मैले हत्तपत्त कुटमिराको रुखमा बाँधेको बाख्राको डोरी फुकाएँ। त्यसपछि मैले मुने पाठीका दुई दिदीबहिनीलाई 'मुने मुने आ' भन्दै बोलाएँ। म बाख्रो अघि डोहोराएर घरतिर लागेँ।
म घरको छेउमा पुग्नै लागेको बेला दुई खैरा कपडा लगाएका लोग्ने स्वास्नी हाम्रो घरको डहरबाट भित्र छिरे। मैले झन् आत्तिँदै बाख्रा लखेटेँ। गोठमा पुगेर बाख्रो खोरमा हुलेँ। खोरमा राम्रोसँग साँचो लगाएर घरको आँगनतिर लागेँ। म आँगन झर्दा ती दुई लोग्ने स्वास्नी पिँडीको छिँडीमा चकटी ओच्छाएर बसेका थिए। म पनि पिँडीको रातो माटोमा नै बसे। आमा बिहान बिहान उठेपछि त्यहाँ पोत्नु हुन्थ्यो। त्यसैले होला सधैँ रक्तिम रातो हुन्थ्यो हाम्रो पिँडी।
आमा भान्सा कोठाबाट बल्ल निस्कँदै गर्नु भएको रहेछ। उहाँले माथि खाटमा बस्न अनुरोध गर्नु भयो। तर सधैँ जसो उनीहरूलाई त्यही रातो चिसो छिँडी नै मन पर्थ्यो। छिँडीमा नै बस्न रुचाउँथे उनीहरू।
मैले माथि बस्नु न भनेँ अनि लोग्ने चाहिँले भन्नु भयो, 'माग्ने जात हो बाबु हामी, हाम्रो बस्ने ठाउँ नै यही हो।'
मैले केही नबुझेर भाइको मुखमा हेरेँ। उसले पनि मलाई नै हेर्दै थियो। सायद उसले पनि त्यो मान्छेले भनेको कुराको अर्थ खोज्दै थियो सायद।
उनीहरू बसेपछि मैले उनीहरूलाई निहाल्ने कोसिस गरेँ। उनीहरू ४० वर्ष वरिपरिका हुँदा हुन्। लोग्ने मान्छेभन्दा स्वास्नी मान्छे सायद ५ वर्ष कान्छी थिइन् होला। मैले लोग्ने मान्छे तिर आँखा डुलाएँ। उनले नेपालको झन्डा एक आपसमा काटिएको कालो टोपी लगाएका थिए। पुरानो च्यातिन लागेको मैलो दौरा र सुरुवाल लगाएका थिए। त्यसमाथि थियो कालो आस्कोट जुन त्यो शरीरको लागि बनेजस्तो नै देखिँदैन थियो। त्यो कालो आसकोट खुइलिएर, अब खैरो भइसकेको थियो। अनि थियो खैरो भाङ्ग्रो छड्के पारेर बाँधेको र थोरै लत्रिएको पनि थियो। भाङ्ग्रोको अर्को तर्फ थियो सारङ्गी। खुट्टामा थियो त्यही पुरानो जुत्ता।
उसको स्वास्नीतर्फ नजर घुमाएँ। उनले एउटा पुरानो चोलो अनि सुतीको पुरानो साडी लगाएकी थिइन्। चोलीमा सायद भोटोको टालो लगाएर टालिएको थियो। उनीसँग एउटा पुरानो झोला पनि थियो। त्यो केही भारी नै देखिन्थ्यो।
लोग्ने चाहिँले सारङ्गी आफ्नो छातीतर्फ सारे। सारङ्गी पनि उनीहरूजस्तै पुरानो थियो। लाग्थ्यो वर्षौँको घाम-पानी उनीहरूसँग त्यो सारङ्गीले पनि खाएको जस्तो। त्यो काँडाहरूले उकाली ओराली गर्दा च्यातिएको उनीहरूको कपडा जस्तै सारङ्गीको शरीरभरि पनि कोरिएको थियो। स्वास्नी मान्छेको गालाको चाउरी जस्तै त्यो सारङ्गीको छाला पनि चाउरी परेको थियो, सायद च्यातिएर हो कि बनावट नै त्यस्तै हो।
लोग्नेले त्यो सारङ्गीको छेउमा राखिएको गाजलाई निकाले। त्यो गाजलाई एउटा छेउबाट समाती तराबमा रेट्न थाले। त्यसपछि निस्क्यो मधुर सङ्गीत सारङ्गीको जुन मलाई असाध्यै मन पर्छ। उनी आफ्नो आँखा बन्द गरी मिराब मिलाउन लागे। उनले सारङ्गीको ध्वनिको तरङ्ग चिमबाट महसुस गरे जस्तो लग्यो। केही बेरपछि उनले त्यो सारङ्गी सुरमा आएको आभास दिए।
मलाई सारङ्गी बाजा कस्तो लाग्थ्यो भने जे गायो त्यसैसँग मिल्ने। गाउँका साना-साना घटना लयमा भन्न सक्ने हो भने म पनि गाइने दाइभन्दा राम्रो सारङ्गीसँग गाना गाउन सक्थेँ होला। मलाई बजाउन त आउँदैन थियो तर सुन्न एकदम मन पर्थ्यो। मेरो मनमा अब गाइने दाइले आज कहाँको घटना कुन लयमा गाउँछन् भनेर सधैँ उत्साहित हुन्छु। उहाँ वर्षमा एक दुई पटक मात्र आउनु हुन्थ्यो। अनि त्यो सारङ्गीको धुनले मग्न पारेर जानु हुन्थ्यो। तल तिरबाट आएको भए माथिको घरमा वा माथिबाट आएको भए तलतिर त्यही कालो भाङ्ग्रो बोकेर जानु हुन्थ्यो।
उहाँले सुरु गर्नु भयो त्यो सारङ्गीको धुनसँग।
बरै चाडै आउँछु, भनेर जानु भो
आउने ठेगान कहिले हो कहिले
सोह्र पुगी सत्र लाग्दा मेरो विवाह भाको
पाँचौँ वर्ष पुग्न लग्यो श्रीमान् विदेश गाको
पाँचौँ वर्ष पुग्न लग्यो श्रीमान् विदेश गाको।
माइती घरमा बसूँ भने कुरा काट्छन् धेरै
घरै बसूँ मया गर्ने छैनन् यति खेरै
आफू परदेश जाने भए किन विवाह गर्नु
बन्धनैमा पारी छोड्यौ मलाई भयो मर्नु।
चैत्र वैशाख उराठिलो नियाउली करायो
असम आउला भन्थे श्रीमान् फोन पनि हरायो।
...
यसै गरी उनीहरू केही रामायणका, केही महाभारतका दन्त्यकथामा लय हालेर नि गाए। कुनै बेला देशका राजनीतिक अस्थिरताको व्यङ्ग गर्दै गीत गाए त कति बेला गाउँका माया पिरतीलाई जोडेर नै गीत गाए। जुन प्रसङ्ग जोडिए पनि सारङ्गीको मधुरता कुनै गीतमा पनि फरक थिएन। सारङ्गी माया पिरतीमा सारथि पनि भएको थियो। ऊ परदेशीको कथा सँगसँगै रोयो, नेताको आलोचक पनि भयो। ऊ गाउँघरमा घटेका घटना सुनाउने सञ्चारको मध्यम पनि भयो। आहा! कति राम्रो बाजा, जुन परिस्थितिमा पनि आफ्नो धुनलाई समान रूपले दिइराख्ने।
केही समयपछि मैले आमालाई सोधेँ, 'किन आउँछन् यिनीहरू?'
आमाले भन्नुभयो, 'यो यिनको माग्ने भाँडो हो। गाउँ गाउँ जान्छन् अनि यसरी नै गीत गाउँछन् र माग्दै हिँड्छन्। यी त्यो पल्लो डाँडोबाट आएका हुन्। यिनको घर त्यही हो। पहिले पहिले त अझ धेरै आम्ते। तर आजकाल आम्नै छोडे। खै किन हो कुन्नि।'
मैले आमालाई फेरि सोधेँ, 'यसरी घरमा आएर गीत गाउँदा के हुन्छ र?'
फेरि आमाले भन्नुभयो, 'यो घरलाई आशिष् मिल्च अरे का। बुडा पाकाले भन्थे केरे।'
केही समयपछि आमाले उनीहरूलाई चामल, तरकारी र केही पैसा दिनु भयो। उनीहरूले त्यो झोला खोली त्यो सबै समान मिलाएर राखे। केही समान त्यो भाङ्ग्रोमा पनि राखे। उनीहरूले हरेक सामानको लागि छुटै ठाउँ छुटाएका थिए। अब पहिलेजस्तो नि उनीहरू आफ्नो समान उठाएर तल्लो घर जान लम्किए।
उनीहरू फर्की नआएको पनि ७ वर्ष हुन लग्यो। म आमालाई फोन गर्दा सोध्ने गर्छु, 'आमा, गाइने दाइ आउँछन् त आजकाल?'
आमाको सधैँ एउटै उत्तर हुन्छ, 'आउन्नन् का बाबु आजकल।'
म सहर पसेपछि पनि सारङ्गीको धुन सुन्न पाएको छैन।
मलाई के लग्यो भने, जुन दिन ती लोग्ने स्वास्नी हाम्रो घरको आँगनीबाट ओरालो लागे र केही समयपछि फेदी तरे। त्यसरी नै हाम्रो गाउँ पाखाका केही ठाडा लोक भाका पनि त्यो दिनबाट नै डाँडा काटे जस्तो लागेको छ। खै धेरै सुन्न पाइन्न त किन होला!
मान्छेहरू पश्चिमी संस्कृतिलाई नै आधुनिकता ठानेका छन्। नेपाली संस्कार पनि प्रतिस्थापित गरेका छन्। पुराना बुढाहरू थलिन लागे। नयाँ पुस्ताले पुर्ख्यौली पेसा अपनाउन मान्दैनन्। अरू मान्छेलाई आधुनिक कुराको सिको गर्नबाट फुर्सद नै कहाँ छ र? यसैले नै होला यो लोप हुँदै गएको सायद।
ए गाइने दाजै फर्की आऊ
ती गाउँ सहरका गीत लिएर
तिम्रो मनका प्रीत लिएर
हाम्रो समाजको जितको दित लिएर।